Skip to content

रमेशचन्द्र घिमिरे

इन्द्रेनी

आजै घाम लागेको
आजै पानी परेको
स्वर्गबाट इन्द्रेनी
धर्ती हेर्न झरेको !

“निधारमा रङ्ग्याउन
सप्तरङ्गी टिकी
तिहारमा लगाइदेऊ न
त्यसैबाट झिकी”

मेरा प्यारा जून मामा !

आउँछौ अरे तिमी
राति अँधेरामा
म सुतेको बेलामा
मेरा प्यारा जून मामा !

कसले छेक्यो आउन
दिउँसो उज्यालामा
घाम लागेको बेलामा
मेरा प्यारा जून मामा !

पुरानो माया

म तिम्रो दिलमा पसेर एकछिन निस्कन खोज्दैछु
हातमा अवीर लिएर थोरै जिस्कन खोज्दैछु

अवीर घस्ने निहुँले बाहुमा बेर्नुछ तिमीलाई
लोलाले ढाडमा हानेर स्वाद फेर्नुछ तिमीलाई
होलीको साइत पारेर निम्ठो म माया भर्दिन्छु
अवीर लिई झुक्याई तिम्रो शिरमा छर्दिन्छु

लुली लुली हात (बालकविता)

लुली लुली हात
खाइदेऊ दूध र भात !

नफकाई नखाने
कस्तो होला जात ?
चुप्प ला´र सुरुप सुरुप
खाइदेऊ दूध र भात !
लुली लुली हात
लुली लुली हात !!

यति यति पानी

निहुरी पर्दा साह्रै देखिँदैछ्यौ सानी
भिज्यो पैतालामा कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

साथी साथी भई हात समाएको
हेरून् दुनियाले हामी रमाएको
मिलिजुली खेल्ने साह्रै राम्रो बानी
भिज्यो घुँडासम्म कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

भोटे दाइ

अचेल हाम्रो आँगनमा भोटे दाइ आउँदैन
चामलसँग साट्नलाई जिम्बु बोकी ल्याउँदैन

हिउँ पर्ने डाँडामा गर्मी चढिसक्यो कि ?
आगो ताप्न भनेर हिटर उतै लग्यो कि ?
डम्फु-मादल बजाई भोटेसेलो गाउँदैन
जाडो लाग्यो भनेर कम्मल बोकी ल्याउँदैन
अचेल हाम्रो आँगनमा भोटे दाइ आउँदैन

क्याल्कुलेटर

हिसाब गर्थे बाजेले औँला भाँचेर
हामी हिसाब गर्दैछौँ मिसिन जाँचेर

`यति मुरी धान भयो कोदो यति पाथी
यतिको दर बेच्नुपर्दा कति हुन्छ नाति ?´
औँला भाँच्दै सोध्नुभयो हाम्रा बाका बाले
कापी कलम झिकेँ अनि हिसाब गर्न थालेँ

जाडो बढ्दै गा’छ

अस्तिभन्दा हिजो अनि हिजोभन्दा आज
मौसम पनि चिसिँदै छ जाडो बढ्दै गा’छ

बाकसभित्र मुसा पसी पाइन्ट काटेको छ
स्वीटर लाऊँ स्वीटरको कुइना फाटेको छ
कम्मल ओढी कोठामा नै बस्नुपर्ने भा’छ
मौसम पनि चिसिँदै छ जाडो बढ्दै गा’छ

जाडो पनि कति हो

बाक्लो हुस्सु कुहिरो उड्दै आयो फुस् फुस्
जाडो पनि कति हो, उस्, उस्, उस् !

“सहरबाट गलबन्दी ल्याइदिएनन् मामाले
यौटा स्वीटर किन्नलाई’नि कन्जुस गरिन् आमाले”
केटाकेटी आपसमा, कुरा गर्छन् खासखुस्
जाडो पनि कति हो, उस्, उस्, उस् !

कमिला

माथिदेखि तल, तलदेखि माथि
हिँडेका छन् हेर भई साथी साथी
सोधेँ प्रश्न तिमीलाई –
के हुन् भन रमिला ?

केको कानेखुसी हो केको सट्यासुटु हो ?
टाउको टाउको जोडेर केको लुटुपुटु हो ?
एउटा लाइन भाँचेर अर्को लाइन फर्किने
साथीसँग के भन्न मुन्टो जोत्दै अड्किने

बाको हात समाउँदै

बाको हात समाउँदै स्कुलमा गा’को
फर्किँदा त बाभन्दा नि म पो पैला भा’को
हाम्रा बाचाहिँ ठुला सरलाई भेट्न जानुभयो
बालाई अफिस चिनाउन मिसले लानुभयो

त्यै मौकामा सुर भयो कक्षा छोडी भाग्ने
मेरो बानी नराम्रो छ पढ्न झ्याउ लाग्ने
पानी खान जान्छु भनी मनिटरलाई ढाँटेँ
बरु घरै जानुपर्ला मनैमनले आँटेँ

पहिचान

मैले तिमीसँग शीतलता मागेँ,
स्वच्छता र पवित्रता मागेँ
तिमीले मलाई चन्द्रमा दियौ
त्यो शुक्ल पक्षको चन्द्रमा थियो
त्यो जुनेली रात थियो
मैले त्यस बङ्किम चन्द्रज्योतिमा
वसन्तको बहार पाएँ,
गृष्मको मध्यरातको उखुमलाई हटाउने
चिसो पाएँ,
शारदीय सौन्दर्य पाएँ

कमिलाको लर्को

यौटापछि अर्को फेरि अर्कोपछि अर्को
हेर साथी कमिलाको कति लामो लर्को

आँट्यो भने आँधीसमेत रोक्छ कमिलाले
उस्तै परे पहाड पनि बोक्छ कमिलाले
जाँगर पोख्न कत्ति पनि मान्दैन यो झर्को
हिँड्छ, हिँड्छ,हिँडिरहन्छ बनाई लामो लर्को

हाम्रा सर !

झिकौं कापी, झिकौं कलम, झिकौं इरेजर
हातमा छडी घुमाउँदै आउनु भयो सर

“दायाँ-बायाँ नफर्कनू, मुन्टो तल झार्नू
हिजो सार्न नभ्याएको पाठ आजै सार्नू”
यति भन्दै कुर्ची तानी बस्ने खराखर
पढाउन अल्लि अल्छी मान्नुहुन्छ सर

पर्खूँ कि के गरूँ ?

दिन ढल्दै गयो, साँझ पर्न लाग्यो फर्कूँ कि के गरूँ ?
आउँछ्यौ कि भन्ने आशामा अँझै पर्खूँ कि के गरूँ ?

दायाँ र बायाँ जाँ बस्छ्यौ त्यहीँ बस्ने ठाउँ खाली छ
जतन गरी राख्या छु दिल पस्ने ठाउँ खाली छ
मुखले बोल्न नमिल्ने मनको भाषा छ मसित
थाके नि नजर भेट्नलाई झिनो आशा छ मसित