निहुरी पर्दा साह्रै देखिँदैछ्यौ सानी
भिज्यो पैतालामा कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

साथी साथी भई हात समाएको
हेरून् दुनियाले हामी रमाएको
मिलिजुली खेल्ने साह्रै राम्रो बानी
भिज्यो घुँडासम्म कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

बीचमा तिमी हुन्छ्यौ छेउमा हामी हुन्छौँ
सुस्तै बोले हुन्छ हामी यसै सुन्छौँ
लाज मानी किन गर्छ्यौ आनाकानी ?
भिज्यो कम्मर लौ न कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

भाग्न नखोज भो गोलो घेरा तोडी
जान पाउन्नौ तिमी हामीलाई छोडी
दाउ रै’छ तिम्रो फुत्किएर जानी
भिज्यो छाती पूरै कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

मुखमै आउला पानी बोल्न नसकौली
आत्तिएर साङ्लो खोल्न नसकौली
हात पार्छौँ खुकुलो निस्क बाटो छानी
भिज्यो काँधैसमेत कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

खेल्यौँ हाँसी खुसी साथीभाइ माझ
जुट्नु पर्छ भोलि बिदा होऔँ आज
अँझै किन हेर्छ्यौ आँखा तानी तानी
भिज्यो घाँटी चिउँडो कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *