म तिम्रो दिलमा पसेर एकछिन निस्कन खोज्दैछु
हातमा अवीर लिएर थोरै जिस्कन खोज्दैछु
अवीर घस्ने निहुँले बाहुमा बेर्नुछ तिमीलाई
लोलाले ढाडमा हानेर स्वाद फेर्नुछ तिमीलाई
होलीको साइत पारेर निम्ठो म माया भर्दिन्छु
अवीर लिई झुक्याई तिम्रो शिरमा छर्दिन्छु
हिजोको दिन सँगसँगै फागु दलेको सम्झिएँ
मायाको बेर्ना उभिन नपाई ढलेको सम्झिएँ
आफ्नी थ्यौ तिमी पराई भयौ तै चित्त बुझाउँछु
पिच्कारी हानी तिमीलाई पूरै निथ्रुक्क रुझाउँछु
यै बेला फेरि देखियौ तिमी आँखा त्यैँ अल्झियो
पुरानो माया बिर्सेको थिएँ एक्कासि बल्झियो
रोए नि भोलि रोऔँला के भो आजलाई हाँस्ने हो
होलीको निहुँ पारेर एक छिन पिरती गाँस्ने हो ।
रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ ।
