Skip to content

रमेशचन्द्र घिमिरे

अम्बाको डाली (बालकविता)

‘स्यानी’ भन्ने नामले
डाकिन् स्यानी आमाले
‘अम्बा खोज डालीमा
राख अनि थालीमा’

अन्तर–कुन्तर केलाइछन्
मनमा कुरा खेलाइछन्
‘अम्बा भए डालीमा
ल्याउँथेँ मैले थालीमा’

मक्ख परिछन् (बालकविता)

उफ्रिएर सुष्माले स्पाइक् गरिछन्
लिफ्टर भा´की बबिना मक्ख परिछन्

विपक्षीलाई जैले नि पेल्न सिपालु
राधा बहिनी भलिबल खेल्न सिपालु
करिनाले सजिलै जाली कटाउँछिन्
जताबाट आयो बल त्यतै पठाउँछिन्

गोपी दाइको टोपी

हाम्रा प्यारा स्यान्दाजै
नाम यिनको गोपी
साह्रै राम्रा देखिए
पैह्रिएर टोपी

अरू टोपी भन्दा त
ढाका सक्कली
टोपी लाउँदा मामा र
काका सक्कली

स्कुल जान्छु झट्ट

काइँयो लिई फोरेर कपालका लट्टा
सफा हुन्छु नुहाउँछु स्कुल जान्छु झट्ट

नयाँ लुगा लगाई भई चिरिचट्ट
जुत्ता मोजा लाएर स्कुल जान्छु झट्ट

रमाइलो गाउँ

डाँडामाथि हिमाल छ डाँडामुनि गाउँ
मलाई पनि त्यै गाउँमा लाग्यो जाऊँ–जाऊँ

गल्लीवारि मुखियाको खरले छा’को घर छ
गल्लीपारि चौतारी छ पीपल र वर छ
यता जिम्माल बाको टौवा त्यता घैया बारी
हरियाली जङ्गल छन् खोलाभन्दा पारि

यो सालको जाडो (बालकविता)

पोहोरको जाडो कस्तो´थ्यो कुन्नि सम्झना रहेन
यो सालक‍ो जस्तो चिसो र जाडो कहिल्यै भएन

टाउकामा ट‍ोपी स्युरिँदा ज्यानमा स्विटर उन्दा´नि
कोठामा बसी कम्मल ओढी झ्याल ढोका थुन्दा´नि
कामी नै रह्यो ठग्ठगी मुटु तै जाडो गएन
यो सालक‍ो जस्तो चिसो र जाडो कहिल्यै भएन

बाको मोबाइल

एकछिन गेम खेल्ने हो जे-जे हुन्छ होस्
आज बाको मोबाइल हुन्छ खोसाखोस्

हिसाब गर्छु भनेर दाइले तान्नुभो
फेसबुक खोल्न काकीले कैले जान्नुभो
`वर्ल्ड कपमा कल्ले गोल् कति खाएछ ?´
फुट्बल हेर्न काकालाई मन लाएछ

डल्ला फोर्दै जाऔँ

कान्ला कान्ला सिर्जनाको रेखा कोर्दै जाऔँ
गह्राभरि जाँगर पोखी डल्ला फोर्दै जाऔँ

स्वाभिमान थिचिन्छ कि थिच्न दिनुहुन्न
साँध किल्ला मिचिन्छ कि मिच्न दिनुहुन्न
सगरमाथा जस्तै उच्च शिर हुनुपर्छ
यो देशलाई जोगाउने वीर हुनुपर्छ

लेख बालबालिकामा हुने सिर्जनात्मक लेखन क्षमता

केही नभएको ठाउँमा केही हुनु सिर्जना हो । अभावमा पूर्ति वा शून्यमा भण्डारण गर्नुले पनि यसैलाई सङ्केत गर्दछ । खाली जग्गामा बिउ छरेर, खेत जोतेर अनि रोपेर असारमा कर्म गरेपछि मङ्सिरमा किसानले अन्नबाली भित्र्याउँछन् । यो उसको सिर्जना हो । सामान्य व्यक्तिले लेखपढ गर्छ अनि अरूले लेखेको देखेर कविता लेख्छ । निरक्षर भए पनि गुन्गुनाउँदा गुन्गुनाउँदै मिठो गीत बन्छ, लिपिबद्ध गर्न सक्यो भने मनभित्र उब्जिएका भावनालाई शब्दमा उतार्दा कहिले निबन्ध बन्छ, त्यसैमा घटनाको शृङ्खला, पात्र र परिवेशको संयोजन गर्न सकियो भने कथा बन्छ । धेरै पात्र थुपारेर संवादका माध्यमबाट प्रस्तुत हुने बाटो खोज्यो भने एकाङ्की वा नाटक बन्छ ।

हाम्रो घरक‍ो सुरी

खुट्टा उचालेर चढ्छ धुरी धुरी
हेर, हेर, हेर हाम्रो घरक‍ो सुरी !

ठ्याक्कै बाघका जस्ता लगाएर लुगा
सातो लिन खोज्छ ठड्याएर जुँगा
जिउ मर्काएर गर्छ चुरीफुरी
हेर, हेर, हेर हाम्रो घरक‍ो सुरी !

अल्छी विद्यार्थी

किताब कापी देख्यो कि त दिक्क ला´र आउँछ
पढ्न खोज्यो झुपुझुपु निद्रा मात्रै लाउँछ
घडी हेर्छु खुसुखुसु मिनेट कट्न गाह्रो
के गर्ने हो भन्देऊ साथी मलाई पर्‍यो साह्रो

सरका कुरा `तैँले पढ्न मन दिए नि हुन्थ्यो´
मेरा कुरा `सरले कथा भन्दिए नि हुन्थ्यो´
भन्नुहुन्छ सरले `कथा जाँचमा आउँदैन´
म भन्छु `सर, नत्र पढ्न मन लाउँदैन´

असारे गीत

नआऊ यता बिउको पाँजो मुठीमा च्यापेर
सुकिलो जीउ मैल्याइदिम्ला धमिलो छ्यापेर

चिटिक्क पहिरन लगाई खेतमा नआऊ जिस्किन
आइसकेपछि यत्तिकै सद्दे पाउँदिनौ निस्किन
बाउसेलाई भेट्न रोपारे बन्ने बहाना बनाउँछ्यौ
पर्ख न अब हिलोमा गड्छ्यौ असार मनाउँछ्यौ

खुत्रुके

घाँटीजस्तो टाउको अनि मुखजस्तो दुलो
हेर्दाखेरि पुड्के पुड्के भुँडी मात्रै ठूलो

भोको छ कि अघाको छ केही थाहा छैन
भित्र धेरै अँधेरो छ, हेर्दा देखिँदैन
सानो भाइले पिरोलेर किन्दिनु भो बाले
यो खुत्रुके कस्तो लाग्यो भन्देऊ बाबु लाले

भाले करायो

कुखुरी काँ गरेर रातो भाले करायो
त्यो भालेको स्वर सुनी भाइ डरायो

सस्तो पाई महङ्गोमा बेच्न लान हो या
अल्लि ठूलो भएपछि काटी खान हो या
केको आँट गरेर ल्याउनुभयो बाले
जे भए’नि हाम्रो घरमा आयो रातो भाले

पर्ख बैनी बाटुली

म नि खेल्न आउँछु
मीठो गीत गाउँछु
बस त्यतै भुली
पर्ख बहिनी बाटुली

खाजा मीठो मीठो
खोजी ल्याउँछु छिटो
यता उता डुली
पर्ख बहिनी बाटुली

चर्को घामले (बालकविता)

टेरिएन छाता लैजा भन्दाखेरि आमाले
अहिले साह्रै पोल्यो मलाई चर्को घामले

कोही ढुङ्गा उचाल्छन्, कोही गिटी फुटाउँछन्
पसिनाको खेती गर्छन् श्रम जुटाउँछन्
कर्मी, कुल्ली, ज्यामी दाइको केही छैन शिरमा
छाता ओढ्न नपाए’नि छैनन् पीरमा