Skip to content

किसान क्षेत्री 'किस्मत'

पत्याएनन साहुले

पत्याएनन साहुले फाटेको धुरी देखेपछि
हेप्छन हाकिमले मेरो मजबुरी देखेपछि

रमाउनु त टाढै भो मुस्काउन पनि डर छ
लखेटिदै छु पागलसँग खुकुरी देखेपछि

घरीघरी तिम्रो तस्वीर

घरीघरी तिम्रो तस्वीर आउँछ आँखाभित्र
मौन एउटा चित्र स्थिर आउँछ आँखाभित्र

निश्चल निर्मल पानीमा प्रतिविम्ब नदेखिदा
बेचैनी र त्रास गम्भीर आउँछ आँखाभित्र

तिम्रो मेरो झाङ्गिएर बोट

तिम्रो मेरो झाङ्गिएर बोट बराबर भयो
रिसायौ र मसँगै बिस्फोट बराबर भयो

गुमाउनलाई प्रेममा पाएका के थियो र
टाढिएछौ बिनासित्ती चोट बराबर भयो

ल्याएको थिए पराईलाई

ल्याएको थिए पराईलाई बेहुली बनाएर
छोडेको थिए घरमा एक्लै नौली बनाएर

खानु लाउनु जिन्दगी हो भने बाच्नु किन
सताउँछ मन यै कुराले खुल्दुली बनाएर

दशै आयो तिहार आयो

दशै आयो तिहार आयो खुशी यतिका लिएर
म हाँसिरहेछु गहभरि आँशुका ढिका लिएर

के जवाफ दिऊँ म हाकिम को निर्णय बदलिएपछि
पर्खी होलिन मेरी आमा हातमा टीका लिएर

मृत्युको आकाश

बाले आफ्ना सपना र रहर बोकाएर
नाम चलाउने रे छोरो बिदेश पठाएर

मुर्दा बोक्ने मान्छे छैन शून्य भाछ गाउ
खै के भोग्दै छ शहरले मान्छे देखाएर

चर्काएर गयौ मुटु

चर्काएर गयौ मुटु गइनौ किन फुटाएर
हास्ने इच्छा छैन यी आँसुहरू लुकाएर

रोएको छु अतितका पानाहरू पल्टाएर
बाँच्न के सकिन्थ्यो र नङमासु छुटाएर

साथीको ब्यथा के सुनाऊँ

साथीको ब्यथा के सुनाऊँ यो खाडीबाट
कुरा काटे जस्तो हुन्छ यार पछाडिबाट

न पढियो नेपालाँ न सीप नै सिकियो कुनै
मन बुझ्दैन मालिक साब्को अनाडीबाट

बृद्ध बाबु आमालाई आश्रम पठाएर

बृद्ध बाबु आमालाई आश्रम पठाएर
धर्म कमाउदै छ छोरो मन्दिर बनाएर

मान्छेहरू सितलताको अभिप्रायले आज
शिरमा हिउँ छ, पाउमा आगो सल्काएर