Skip to content

सीताराम कार्की

तिम्रो मुस्कान सरी अर्को स्वर्ग

तिम्रो मुस्कान सरी अर्को स्वर्ग कहाँ भेटौँला
कैलेसम्म यसै गरी म आँखा भरी देखौँला
निर्दोषी छ्न आँखाहरू केही भन्न खोजे जस्तो
हजार कुरा सोध्नलाई म तिम्रै बाटो छेकौँला ।

भन मात्रै

भन मात्रै कान्छी अब पहाड बोकी दिँऊला,
मैले हार्दा तिम्ले जित्ने बाजी ठोकी दिँऊला,
रिसाएर ठूस्स पर्दा “यता आऊन” भनी,
माया गरी दारी दल्दै गाला टोकी दिँऊला।

आमा

आमाको ममता छ अम्रितसरी पाइन्छ के स्वर्गमा।
स्वर्गैमा पनि मिल्छ के सुखहरू जो मिल्छ मातृत्वमा।।
यस्तो लाग्छ अपार प्रेम दिलको गङ्गा बहाईकन।
गर्छिन् प्यार निमग्न तन्मय हुँदै सन्तानको पालन।।

लाग्दा भोक पियास भोजन मिठो ख्वाइन् बनाईकन।
भोकै अफु बसेर रातदिनमा राख्छिन् मनाईकन।।
गङ्गाको जल झैँ पवित्र मनको माया मिठो पावन।
पैसा फाल बिटो गनेर ममता को किन्न सक्ला भन?

सम्झनामा

सम्झनामा आऊने सँधै कस्ती रैछे मोरी,
दिलमा बस्न आँखैबाट पस्ती रैछे मोरी,
कसम होला यती राम्री छिन् की ऊनी,
बँगैचामा फुलेसरी फुलै जस्ती रैछे मोरी।

SitaRamKarki

पँधेराकी पातली

घामै सङ्ग उनी विहानि पखमा चाँडै सखारै उठी।
पानी भर्न भनेर झट्ट सितले गाग्री समाल्नै जुटी।।
त्यो माथ्लो घरबाट खुर्र दगुरी आई सखी गाजली।
तिन्को भेट भयो र बेस्कन कुरा गर्दै गई पातली।।

आर्की झट्ट कुदेर हात भरिका छन् छन् बजाई चुरा।
खुप् हुन्छन् हँसिला अनेक रसिला तिनै जनाको कुरा।।
पानी भर्न भनी लिएर बटुको गाग्री त हल्लाउँदै।
गाग्री सानु लिएर तल्तिर उता कान्छी पँधेरा गई।।

नदी

नाची नाच अनेक जङ्गल भरी आई नदी वेगले।
जान्छे आज कहाँ भनेर यकलै हेर्दै छ की लेकले।।
जो छन् ती वनका लता र लहरा पन्छाउँदै बग्दछे।
मीठो गुञ्जनले पहाड पहरा घन्काउँदै बग्दछे।।

सारा खेत भरी किसान जनको प्यारी भएकी नदी।
ठूला फाँट हराभरा छ धरती तिम्रै गरौँ आरती।।
घुम्ती पार गरी पहाड गिरिको मैदानमा झर्दछे।
हाम्फालेर तराइ फाँटहरुमा पानी कती भर्दछे।।

जीन्दगी

मेरो मूल्य बताईदेउन भनी भन्दै छ कोही यता।
आर्को भन्छ ल हेर जीवन गयो अस्तीत्व खोजौ कता।।
कोही मानिस जिन्दगी जगतमा तड्पीरहेको छ की ।
गर्दै जान्छु भन्यो हिसाब नमिले जस्तै छ की जिन्दगी।।

बल्थ्यो रे पहिले सधैँ झिलिमिली हुन्थ्यो उज्यालो थियो।
काँहा तार चुट्यो कि त्यो फ्युज गयो फेरी अँध्यारो भयो।।
मैनाझैँ थुनियौ ठुँगेर पिँजरा कैले पर्यौ बन्धकी।
जैले बन्द भएर आफ्नु घरमै बन्दी छ की जीन्दगी।।

तिज

वर्षामास गयो खुल्यो गगन त्यो कालो हट्यो बादल।
आयो रे दिन यो तिनै कमरमा नाच्ने कसी आँचल।।
खाने दर् तिजमा दिदी र बहिनी जम्मा भएका तिनै।
नाच्दैछन् कति छम्म छम्म गरदै हाँसी रहेका यिनै।।

मेह्न्दी हात भरी चटक्क छ अरे राम्रा अनौठा चुरा।
सप्पै दङ्ग उमङ्गले खुश भए कस्को गरौँ के कुरा।।
साडीमा सजिएर चट्ट भइछे चोर्ने गरी यो मनै।
चोली सानु हुँदा टिमिक्क कसियो त्यस्तै सुहायो झनै।।

प्रेमालाप

त्यस्तोरी रुपसी भयौ किन तिमी ?आँखा उतै जान्छ यो
राम्री छैन विछट्ट लौ म त्यसरी हेराई राम्रो भयो
ढाँटेको पनि हैन लाग्छ तिमिता आकाशबाटै झर्यौ
त्यस्तो विघ्न नठान पागल भई धेरै बयान् पो गर्यौ

वसन्त

नौलो रङ्ग छरी वसन्त वनमा खेल्दैछ हाँसी त्यतै।
क्वैलीको स्वरमा रमेर झरना झर्दैछ नाची उतै।।
फुल्दै फूलहरू बसेछ डिलमा हाँस्दै छरी वासना।
गोठालो मुरली बजाइ वनमा रम्दै छ वैशाखमा।।

उनी

फूल्दो फूलसरी मुहार उसको हाँसो छ पासो सरी।
बाँधिन् आज अझै मलाइ उसले त्यै एक हाँसो छरी।।
बोली अमृत झैँ सुनेर म यसै लठ्ठै भई टोलिए।
आँखाको मदमा भुलेर म यसै हेर्दै झनै घोरिए।।

लालूपात टिपेर केशबिचमा हाँस्दै म लाईदिऊँ।
पोख्नै यो मनका कुरा उसतिरै जैले म धाईदिऊँ।।
आऊँछिन् सपना भरी नयनमा जान्छिन् बिहानी उनी।
जाऊँ घुम्न भनेर बादलमहाँ लान्छिन् मलाई उनी।।

यादैमा भुलदैँ कपी कलम ली यो आजको साँझमा।
सुनाईदिउँकी रचेर कविता ऊन्कै मिठो यादमा।।
उन्कै तस्विर देख्छु कागज भरी हाँस्दै रहेकी उनी।
मेरै अन्तरमा बसेर मनमा ज्ञानी भएकी उनी।।

उन्को याद अती भएर अहिले तड्पेछु मै रातमा।