त्यस्तोरी रुपसी भयौ किन तिमी ?आँखा उतै जान्छ यो
राम्री छैन विछट्ट लौ म त्यसरी हेराई राम्रो भयो
ढाँटेको पनि हैन लाग्छ तिमिता आकाशबाटै झर्यौ
त्यस्तो विघ्न नठान पागल भई धेरै बयान् पो गर्यौ
कालो गाजल लाउने गर तिमी आँखा नलागोस् कतै
तिम्रो लाग्छ भने लगाउदिन त्यो आँखा लगाऊ यतै
तिम्रो योवन आज कल्कल हुदै बग्दै छ बेहोशमा
अग्लो बाँध खडा गरेर तिमिले बाँधे हुने जोशमा
नानी आज कता हिड्यौ भनिदिए मैले भने गाजले
बोलीको तिरले नहान्नु त्यसरी मर्थे यसै लाजले
आयौ स्वप्न भरी सँधै निदरिमा आएर जैले पनी
त्यो मेरो गलती भए सपनिमा आऊन्न कैले पनी
त्यस्तो लाग्छ भने त बोल्दिन हई जाऊ कसैको तिर
मेरो स्वप्न भरी तिमी पनि भयौ तिम्रै सँधैको पिर
कूरा गर्न सिपालु बोल्न कति हो जान्यौ कसोरी तिमी
तिम्रै सङ्गतले त हो नि यसरी जाने कि मैले पनी
तिम्रो वैँश वसन्तको फुलसरी राम्रो फुलेको छ त्यो
केही अर्थ भएन आज फुलको वैलेर जाने भयो
तिम्ले आज भन्यौ कुरा ति मनका वैलेर जाँदैन है
आफैले मनका सबै बुझ कुरा भन्नै म सक्दीन है
