मेरो मूल्य बताईदेउन भनी भन्दै छ कोही यता।
आर्को भन्छ ल हेर जीवन गयो अस्तीत्व खोजौ कता।।
कोही मानिस जिन्दगी जगतमा तड्पीरहेको छ की ।
गर्दै जान्छु भन्यो हिसाब नमिले जस्तै छ की जिन्दगी।।
बल्थ्यो रे पहिले सधैँ झिलिमिली हुन्थ्यो उज्यालो थियो।
काँहा तार चुट्यो कि त्यो फ्युज गयो फेरी अँध्यारो भयो।।
मैनाझैँ थुनियौ ठुँगेर पिँजरा कैले पर्यौ बन्धकी।
जैले बन्द भएर आफ्नु घरमै बन्दी छ की जीन्दगी।।
व्यर्थै जान्छ कि जिन्दगी हरघडी बाँचेर अत्यासमा।
त्यस्तै पर्छ कि मस्कुराउनु यसै हाँसेर सन्त्रासमा।।
सारा चोट व्यथा भरिन्छ र अनी औधी पिडा दिन्छ की।
आशा साँच्नु र बाँच्नु अर्थ नहुँदा व्यर्थै छ की जिन्दगी।।
धोका मात्र मिल्यो र चोट मनमा लागेर रोयो अरे।
छाती दुख्छ अरे दुखेर मुटुमा चस्केर छोयो अरे।।
गाँठो पर्छ अनी फुकाउँछु भन्यो फेरी कतै पर्छ की।
अर्धानो कपडा जसै धरधरी फाट्दै छ की जिन्दगी।।
माहासागर छेउ हुन्छ र पनी जैले पियासी बन्यो।
प्यारो दूर गयो र साथ नहुँदा कैले उदासी बन्यो।।
के टुङ्गो छ र जिन्दगी जिवनको वा मर्नु भोली छ की।
सोचेको नहुने न हुन्छ वशमा यस्तै छ की जिन्दगी।।
