Skip to content


वर्षामास गयो खुल्यो गगन त्यो कालो हट्यो बादल।
आयो रे दिन यो तिनै कमरमा नाच्ने कसी आँचल।।
खाने दर् तिजमा दिदी र बहिनी जम्मा भएका तिनै।
नाच्दैछन् कति छम्म छम्म गरदै हाँसी रहेका यिनै।।

मेह्न्दी हात भरी चटक्क छ अरे राम्रा अनौठा चुरा।
सप्पै दङ्ग उमङ्गले खुश भए कस्को गरौँ के कुरा।।
साडीमा सजिएर चट्ट भइछे चोर्ने गरी यो मनै।
चोली सानु हुँदा टिमिक्क कसियो त्यस्तै सुहायो झनै।।

केटो एक मिलाइदेउ शिवजी माया मलाई गरोस्।
भन्दैछे युवती सधैँ हृदयमा त्यो लाख प्यारो हवस्।।
हे भोला शिवजी पुकार मनको बिन्ती छ यो सुन्दिनु।
बोल्दैछे उसले ल आज शिवजी मेरो कुरा मान्दिनु।।

भोको पेट बसेर आफ्नु पतिको दिर्घायु देऊ भनी।
यो रक्षा गरिदेउ देव शिवजी सौभाग्य मेरो भनी।।
त्यस्तो भोक सहेर त्यो व्रत बसे पानी नखाईकन।
नारी तै पनि नाच्दछन् कति भने गर्दै उज्यालो मन।।

सारै दङ्ग भएर जन्म घरमा नाचेर कोही यता।
बाबाको घर जान पाइन भनी रोएर कोही उता।।
को सुन्ला र कठै व्यथा विरहका उन्को विलौना जती।
सारै चित्त दुखेर आज तिजमा आँशू खसाई कती।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *