Skip to content


नौलो रङ्ग छरी वसन्त वनमा खेल्दैछ हाँसी त्यतै।
क्वैलीको स्वरमा रमेर झरना झर्दैछ नाची उतै।।
फुल्दै फूलहरू बसेछ डिलमा हाँस्दै छरी वासना।
गोठालो मुरली बजाइ वनमा रम्दै छ वैशाखमा।।

ती पाखा हरिया भए चहुरमा गाई चरेको छ की।
तन्नेरी जनमा त्यतै रहरमा माया बसेको छ की।।
यौटा फूल गुँरास केशबिचमा लाएर गै केटिले।।
खोलानेर बसेर भाव छरदैँ गाएर गै केटिले।।

टल्क्यो टल्टल भै हिमाल शिरमा पग्लेछ पानी बनी।
यो वैशाख वसन्त यै नयनमा बस्दै छ नानी बनी।।
हावा मस्त भई चलेछ लहरा हल्लेछ एता उता।
डाक्छे कोकिलले उता मयुरले जाँऊ म कुन्नी कता।।

नाच्दैछन् भमरा डुलेर फुलमा फुर्की छ फूलै पनी।
मौरीले पनि चुम्न हेर अझ नी आए छ हूलै बनी।।
यो छाई रहँदा वसन्त यसरी भुल्दै छु सारा सबै।
यै हेरीकन आज यो गगनका भुल्दै छु तारा सबै।।

लेख्दैछन् कविता बसेर कविले यौटा छहारी मुनी।
हेर्दैछन् रमिता भुलेर कतिले गाना चरीको सुनी।।
लौ घन्केछ रमेर आज जगमा आनन्दको मादल।
हट्दै जान्छ ल यो वसन्त विचमा दुर्भाग्यको बादल।।
ऽऽऽ ॥ऽ ।ऽ। ॥ऽ ऽऽ। ऽऽ। ऽ

Leave a Reply

Your email address will not be published. Required fields are marked *