घामै सङ्ग उनी विहानि पखमा चाँडै सखारै उठी।
पानी भर्न भनेर झट्ट सितले गाग्री समाल्नै जुटी।।
त्यो माथ्लो घरबाट खुर्र दगुरी आई सखी गाजली।
तिन्को भेट भयो र बेस्कन कुरा गर्दै गई पातली।।
आर्की झट्ट कुदेर हात भरिका छन् छन् बजाई चुरा।
खुप् हुन्छन् हँसिला अनेक रसिला तिनै जनाको कुरा।।
पानी भर्न भनी लिएर बटुको गाग्री त हल्लाउँदै।
गाग्री सानु लिएर तल्तिर उता कान्छी पँधेरा गई।।
बाटेकी चुलठी कपाल त्यसरी दाँया र बाँया तिर।
राम्री चट्ट भएर कुन् नजरकी जान्छे पँधेरा तिर ।।
गाग्री राख्न तयार ती कमरमा कस्दै पछ्यौरा जती।
राख्दा कम्मरमा विछट्ट सितले चट्टै सुहायो कती।।
छुट्टै चाल गरी गरी ढलकिदै मर्काउदै कम्मर।
ऊ जान्छे घरमा भरेर जल त्यो बोकेर गाग्री तर।।
जाँदै थी घरमा लिएर जल त्यो हेर्दै उता पर्तिर।
ऊ झन्डै लडि पातली डिलनिरै भाग्यो कि अन्तै मन।।
बाटोमा अडिएर ऊ घरिघरी फर्केर हेर्छे किन?
देख्ला झैँ गरि छे लुकेर अनि पो तर्केर हेर्छे किन?
गाग्रीको जलझैँ विशेष छ अरे वैँशालुको यौवन।
तिम्रो चैँ तनको पियास मनको मेटाउला को भन?
