बुद्धिसागर
रातभर चन्द्रमा खसिरह्यो…
पुराना दिन पुराना लुगा होइनन्, मन लाग्दा टक्टकाउन मिल्ने। पुराना कैयौं दिन यस्ता हुँदा रैछन्, जो भित्री दिमागमा चेप्पिएर बसेका हुन्छन्, कहिलेकाहीँ ती चेप उक्किन्छन्। शिवरात्रीको तयारीसहित पशुपतिका भर्याङ, चेप र घुम्तीहरूमा धुँवा बेस्मरी उड्न थालेपछि, नङ्गा बाबाहरूले हातमा झाडू समाएर आशिर्वाद दिने तयारी गरिरहँदा अचानक पुराना दिनहरू मेरा आँखाभरी झल्झली आउन थालेका छन्, एकपछि अर्को। एल्बमका पाना पल्टाएजस्तो।
बकैनाको बूढो रुख
समयले आरुका रुखमा ‘हाइटेक सपना’ फुलाएको छ, आरुबारीमा । आरुबारी बसपार्कको उँभोतिर एउटा पीपलको रुख कसैलाई कुरेर बसेको छ, टुक्रुक्क । त्यसकै तल उमेरले धेरै रिंग्याएकाजस्ता वृद्ध पनि टुक्रुक्क बसेका छन् । के यिनले चिन्लान्, उनलाई ?
उनले भनेका थिए, ‘आरुबारीमा आएर जसलाई सोधे पनि भनिदिन्छन्, मेरो ठेगाना ।’
