रातभर चन्द्रमा खसिरह्यो…

  • by


पुराना दिन पुराना लुगा होइनन्, मन लाग्दा टक्टकाउन मिल्ने। पुराना कैयौं दिन यस्ता हुँदा रैछन्, जो भित्री दिमागमा चेप्पिएर बसेका हुन्छन्, कहिलेकाहीँ ती चेप उक्किन्छन्। शिवरात्रीको तयारीसहित पशुपतिका भर्‍याङ, चेप र घुम्तीहरूमा धुँवा बेस्मरी उड्न थालेपछि, नङ्गा बाबाहरूले हातमा झाडू समाएर आशिर्वाद दिने तयारी गरिरहँदा अचानक पुराना दिनहरू मेरा आँखाभरी झल्झली आउन थालेका छन्, एकपछि अर्को। एल्बमका पाना पल्टाएजस्तो।

ती कैलाली कटाक्षेका पुराना दिन हुन्थे। नेपालको नक्सामा त्यो कटाक्षे बजार एउटा सानो थोप्लो थियो, अहिले त्यो मेटियो। त्यो वास्तवमा हटेरू बजार थियो। हटेरू आउन छाडे, बजार सक्कियो। भन्छन्, निभ्ने बत्ति चहकिलो बल्छ। झर्ने फूल पूर्ण फक्रिन्छ। उठ्ने बजार सायद, कटाक्षेझैं, रहस्य भरिएका र चकचके हुन्छ।

कटाक्षेको छेऊबाट बग्ने अमौरी खोला अहिले पनि बग्दो होला, पूर्वतिरको छत्तिवनको जंगलमा वयर त्यसैगरी पाक्दो होला, तर ती चकचके ठिटाहरू अब कतै छैनन् होला, जसको पंक्तिमा म पनि हुन्थें। सायद, ती ठिटाहरूको नाक र ओठबीच यौवनका जर्जर रौं पलाए होलान्। भेट हुँदा सोध्लान्, ´बच्चालाई कस्तो छ?´

म त्यति बूढो होइन, मानौं आत्मकथा नै थालूँ। कति यस्ता कुरा हुँदा रैछन्, जो अरूलाई सुनाउन, ठूलै लेखक हुनुपर्देन, न त ´अखबारी नाम´। त, थालूँ अब?

जाडो भर्खरै आफ्नो कोट फुकालेर हिंडिसकेको थियो। शरिरका कापकापमा विस्तारै छिपछिप पसिना निस्किन थालिसकेका थिए। र, कटाक्षेमा शिवरात्रीको ठूलै प्रतिक्षा थियो। शिव त कहाँ आउछन् र? ती त श्रीस्वस्थानीका पन्नामा चुपचाप फर्किएर निदाइसकेका हुँदा हुन्।

शिवरात्रीमा बजारका वैंशको पहिलो खुट्किलो टेकिसकेका युवकलाई, छाडा साढेझैं, बजारमा लठारिएर हिंड्न छुट थियो। भनुन् पनि के? भन्थे, ´छौडाहरूलाई शिवरात्री ला´छ।´

एउटा ग्याङ् तयार हुन्थ्यो, जो छत्तिवनका जंगलमा पुगेर रूख गिड्थे। ती गिड लतारिंदै बजारछेऊ आइपुग्थे। र, चाङ लाग्थे। शिवरात्रीको दिन ती रूखका गिड झर्झरी बल्थे। नाचगान हुन्थ्यो। ठूलो स्पिकरमा फिल्मी गीत बज्थे। रतन खुब उफ्री–उफ्री नाच्थ्यो। बच्चामा ´भुरूरूरूरू´ कराउँदै साइकलको टायर गुडाउँदा–गुडाउँदा उसका ओंठ बाहिरतिर लेप्रिएका थिए। कहिलेकाहीँ गाउँतिरका ठिटा पनि ´डान्स कम्पिटिसन´ मा भिंड्न आइपुग्थे। दुवैतिरका टिमबाट एक/एकजना नर्तक छानिन्थे र नाच्न थाल्थे। नाच्दा–नाच्दै मुक्कामुक्की सुरू हुन्थ्यो। त्यसपछि अगुल्टा हानाहान। दुवै ग्याङ्का कोही पनि एक्लै हिंड्दैनथे। कम्तिमा वैशाखसम्म। नयाँ वर्षपछि, पुरानो रिसराग मेटिन्थ्यो।

ती दिन कतै छापिएका हुँदा हुन्, त त्यसको मुन्तिर लेखिएको हुँदो हो, २०५१ साल। २०५१ को शिवरात्री त्यस्तो रहेन। सुनीलले बिहानैदेखि योजना बनाएको थियो, पथरैयामा फिल्म हेर्न जाने। सुनीलको बजारमै चुरा पसल थियो, थोरै चुराको धेरै चल्ने पसल।

पथरैयाका रमेश थापाको भिडियो थियो। भिडियो चलाउनू, कानूनविपरित मानिन्थ्यो। कटाक्षेमा रहेको एउटामात्र चौकीबाट प्रहरीलाई पथरैया पुग्न सजिलो थिएन। बीस–पच्चिस किलोमिटर त हुँदो हो। त्यो बाटो भने हाम्रा लागि लामो थिएन। हामी त्यो जोशमा थियौं, मानौं दुई पाइलामै उफ्रिएर त्यहाँ पुग्छौं। असारका कैयौं झरीमा हामी हिलो टेक्दै पथरैया पुग्थ्यौं। झन्, खडेरीका दिन झरेका सालका पात ´सरप–सरप´ बजाउँदै हिंड्दा हिंडेकै थाहा हुँदैनथ्यो।

पथरैया जाने टोली एघार सदस्यीय बन्यो। एकजनाको पाँचका दरले पचपन्न रूपैयाँ उठ्ने भयो। फिल्म चल्थ्यो, साठी रूपैयाँमा। सुनीलले नै भन्यो, ´केटा हो, अर्को पाँच मैं थप्छु।´

पाकेको बेलजस्तो घाम विस्तारै पथरैयातिर हिंडिरहेको थियो। टोली चौराहामा जम्मा भयो। सुनीलले पोलिथिनको ब्यागमा गिलो गिलो केही बोकेको थियो। पछि थाहा भो, त्यो खुवा रहेछ। सुनीलले कुटिलतापूर्वक भन्यो, ´बाटामा खानुपर्छ।´

आज कम्तिमा घरमा खोजी हुँदैन, सबैलाई थाहा थियो। विस्तारै चिप्लेकीराको गतिमा टोली बजारबाट बाहिरियो। पथरैया पुग्ने दुई बाटा थिए, एउटा गाउँभित्रभित्रै। एउटा जंगलैजंगल। गाउँमा कोही केटा भेटिए फेरि ´फाइट´ पर्ला भन्ने डर। हामी सालमा पात बजाउँदै जंगलकै बाटो हिंड्यौ। चराहरू गुँड फर्किरहेका थिए। बाँदर तर्सिंदै एउटा हाँगाबाट अर्कोमा झवाम्म हाम फाल्थे।

बीच बाटोमा सुनीलले पोलिथिनको पोको खोल्यो। खुवाको बासनाले भित्री च्यापु रसाएर आयो। सुनीलले प्रसादझैं खुवा सबैका हत्केलामा राखिदियो। जाबो खुवा त एकै गाँस भयो।

थारू गाउँका कराइरहेका सुङ्गुर र भुकिरहेका कुकुर छिचोल्दै हामी पथरैया पुग्यौं। सुनीलको चिमचिमे घडीमा त्यसबेला सात बजेको थियो। मलाई थाहा थिएन, के भइरहेछ। हिंड्दा बाटो तलमाथी तलमाथी ढल्किरहेको थियो। बाटाभित्रको पानी छल्किएजस्तो।

रमेश थापा, जो भिडियोको साहु थियो, ऊ भींड देखेर दंग भए पनि ७० रूपैयाँ नभई फिल्म चलाउँदिन भन्दै बाँउठिन थाल्यो। उसले भन्यो, ´नयाँ फिल्म छ।´

त, ७० रूपैयाँ पनि उठ्यो। फेरि अर्को शो पनि त हेर्नुछ। पहिलो फिल्म थियो– ´फष्ट लभ लेटर´। आफ्नै देशकी हिरोइन मनिषा कोइराला, त्यसै राष्ट्रियता जागेर आयो। धेरैको राष्ट्रियता जाग्यो, तर आफ्नो मचमची। निधार गहु्रँगो भएर तलतिर तन्कियो। भिडियोको स्त्रि्कन कहिले तनक्क तन्किन्थ्यो, त कहिले खुम्चिन्थ्यो।

फिल्ममा खलनायकले हिरोमाथि प्रहार गर्दा हात तन्किएर आफूतिर आएझैं लाग्थ्यो। कता भागूँ?

भिडियो गोठको माथिल्लो तलामा थियो भने तल गाई–गोरू र भैंसी, जो उग्राइरहेका हुँदा हुन्। फिल्ममा खलनायकको संवाद थियो, ´यो मेरो शिकार हो।´

पछाडीबाट फेरि त्यही संवाद दोहोरियो, ´यी पनि मेरा शिकार हुन्।´

पछाडी एक हुल प्रहरी थिए। डरलाग्दा। सबैका ओंठमुख सुके। आफ्नो त च्यापुको भित्री भाग पहिल्यै सुकिसकेको थियो। मौरीको गोलामा ढुंगा बजारियो, हामी मौरी यताउता ठोक्किंदै उड्यौं। कति तल गोबरको थुप्रोमा पछारिए। भैंसीको सिंग कतिका डडाल्नामा बजारिए। म भने गोरूको जुरोमा ठोक्किएर भुइँमा पछारिएँ।

कोही कता कोही कता। कान्लै कान्ला। हुत्तिंदा हुत्तिंदै कुन बाटोले आफूतिर तान्यो थाहा भएन। फेरि जहाँ टेक्यो, त्यहीँ धर्ति भास्सिन थाल्यो।

कोही कता, कोही कता छरिए। सडकै–सडक दगुर्दा आकाशमा चन्द्रमा पनि सँगसँगै दगुरिरहेको थियो। मैले धेरैपछि थाहा पाएँ, मेरा पछिपछि त रतन पनि दगुरिरहेको रै´छ, आतंकित।

´कता जानी?,´ ऊ चिच्यायो।

मलाई पनि थाहा थिएन, कता पो हो जानी। बाटो जताजता घुम्थ्यो, हामी त्यतै घुमिरहेका थियौं। पछाडी प्रहरी त थिएनन्, तै पनि तिनको भूतपछि नै थियो।

छाती बीचबाट चर्किनेगरी फुलिरहेको थियो भने मुटु अगुल्ठोझैं तातिरहेको थियो। पसिना त गालाभरी चिप्लेटी खेलिरहेका थिए, एकपछि अर्को।

गाउँमा बेस्मारी कुकुर भुकिरहेका थिए। सालघारीमा स्याल कराइरहेका थिए। बाटामा गुजुुप्प परेका बाँसघारी आइपुग्थे। बाँसघारी आइपुग्दा मेरो हंश चिसो हुन्थ्यो, बासका लिंगा निहुरेर सर्पझैं गोंडामा बटारिन आइपुग्थे।

आकाशतिर फर्किनै हुँदैन्थ्यो, फर्कियो कि चन्द्रमा तलतल आइपुग्थ्यो। खस्छ कि क्या हो?

बाटोछेउको घरबाट टोकुलाझैं एउटा कुकुर पिंडौलानेर आइपुग्यो। हे प्रभू। कुकुरको मुख पनि कति ठूलो हो?

बाहिर गन्द्रयाङ्–गुन्द्रङ् सुनेर घरबाट एकजना अधवैंशे मानिस बाहिर निस्किए। देखे– असिनपसिन काँतर दुई फुच्चे।

´काँ बाट आएका हौ?´

हामी बोले पो।

´काँ जाने हौ?´

मेरो रून्चे आवाज, ´कटाक्षे।´

´कस्का छोरा हौ?´

´चपाइ डाक्टरका।´

उनले बालाई चिन्दा रैछन्। र, बास दिए। आटीमा। भात पनि खान दिएजस्तो लाग्छ, र पनि भोकले पेट बटारिरह्यो। थकित रतन एकछिनमै निदायो, म भने रातभर चन्द्रमा हातमा थामिरहें। उत्तानो पल्टिंदा चन्द्रमा ठीक आँखामाथि झलुन्डिएको देखिन्थ्यो, तर त्यो तलतल झर्थ्यो, रफ्तारमा। लौ ठोक्कियो–ठोक्कियो, मुटु त पूरै हिउँझैं चिसिन्थ्यो। हातगोंडा चिसा भइसकेका थिए। आज चन्द्रमा खस्यो– म गएँ, छाती बालुवाको किनाराझैं भत्किरह्यो।
बिहानै रतन र मैले टाप दियौं। बास दिनेलाई धन्यवाद भन्न पनि आउँदैन्थ्यो, फेरि मुख कसरी देखाउने? कटाक्षे पुग्नुअघि नै बतासझैं हल्ला फैलिसकेको थियो– रातभर फुच्चेहरूले भाङ खाएर थारू गाउँ छिचोले। बल्ल मैले थाहा पाएँ, रातभर चन्द्रमा किन खस्यो?

बाले पनि थाहा पाउनू भयो र एक चड्कन दिनुभयो– दिउँसो तारा पनि खसे।

… अब त ती दिन लोककथा भइसकेका छन्। जसलाई कसैले सुनाउँदैन।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *