हरिहर दाहाल
क्षतिपूर्ति
उजेली भक्कानो छोडेर रोई। मुटु पिटीपिटी रोई। सपनाहरू गर्ल्याम्गुर्लुम ढलेर आँफैलाई किचेझैं लाग्यो उसलाई। विवाह भएको तीन महिना बित्न नपाउदै कमाउन गएका श्रीमानको मृत्युको खबर कति हृदय बिदारक भयो होला, त्यो उजेलीलाई मात्र थाहा छ। श्रीमानलाई गर्भवती भएको खबर पनि सुनाउन नपाउदै मृत्युको समाचार पठाउने निर्दयी दैबलाई धारे हात लाएर सरापी। आँसु नसकुन्जेल रोई ऊ| आफन्त, छरछिमेक र गाँउले पनि रोए।
समाजसेवा
ऊ नम्रतामा विश्वाश गर्छ। सबैलाई झुकेर नमस्कार गर्नु उसको बानी हो। समयले भ्याएसम्म र क्षमताले पुगेसम्म मानबिय आपद-बिपदका अबसरमा चन्दा दिन्छ। सकेजति सबैलाई सहयोगको हात बढाउछ। कसैलाई हुन्न र गर्दिन नभन्नु उसको कमजोरी हो। भ्याए र सकेजति गर्छ पनि। मेलमिलाप र सद्भाबमा विश्वाश गर्छ। आफुले सहेर अरुलाई हँसाउनुमा ऊ रमाउँछ।
सहयोग
टेलिफोनमा उसले रुन्चे स्वरमा मलाई आश्रयको लागि अनुरोध गर्यो।मैले सम्झाउने कोशिस गर्दै भनें- “साना-तिना झगडा र मनमुटाबका कारण घर छोड्नु हुदैन। बिबाद, भनाभन, छेडछाड भनेका मायालाई अँझ दर्हो बनाउने संयन्त्र हुन्। गहिरो सम्बन्ध, माया र आत्मीयता भएका मान्छेसँग मात्र बढी दु:खमनाउ हुन्छ, मन कुँडिन्छ र झगडा गरिन्छ। त्यस्ता प्रकृतिका उतार- चढाबले संबन्धलाई अझ परिमार्जित गर्ने काम गर्छ। सतही रुपमा सम्बन्ध भएका मान्छेसँग कहिल्यै पनि बिबाद हुदैन। औपचारिकता मात्र पुरा गरिन्छ, मन दुखे पनि भित्र भित्रै दबाईन्छ।”
