मैले भीरपाखा र भन्ज्याँङहरूलाई सोधें
कतै “भविष्य”लाई देख्यौ कि?
भक्कानो छोडेर रुदै उनीहरूले भने
बम र बारुद बनेर आकाशमा उँड्दै होला|
मैले मखमली फूललाई सोधें
उसले रिसाएर भन्यो
म आफ्नै समस्याले लाचार छु
कैयौं तिहारहरूमा कुहेर झरेको छु।
मैले खोलाहरूलाई सोधें
उनीहरूले अबरुद्ध आबाजमा भने
मेरो छातीमाथि रगत भएर बग्यो होला|
मैले चौतारीलाई सोधें
उसले थकित मुद्रामा भन्यो
छाँया ताप्न आएनन् कोही पनि
फगत एक्लै, टुहुरो झैं लोलाएर बसेको छु।
मैले माटोलाई सोधें
माटो आजित थियो र उस्ले भन्यो
“भविष्य” लास बनेर गलि सक्यो होला|
मैले कानहरूलाई सोधें
उनिहरूले सुन्न छोडेछन्|
मैले आँखाहरूलाई सोधें
उनीहरू देख्न छोडेछन|
मैले मुखहरूलाई सोधें
उनीहरू बोल्न छोडेछन|
अन्तिममा मैले मान्छेहरूलाई सोधें
उनीहरू निशब्द थिए किनकि
उनीहरू सिकिस्त बिरामी परेछन
दिमागी सन्तुलन बिग्रिएछ, होस गुमाएर
“भविष्य” र बर्तमान छुट्ट्याउन नसक्ने भएछन|
त्यसपछि मैले”भविष्य”लाई खोज्न छोडिदिएँ
किनकि “भविष्य” नभेटिने गरी हराएको रहेछ।
