फूल फुलाउनेहरू बोट निमोठ्छन्
फल फलाउनेहरू हाँगा भाँच्छन्
बाली रोप्नेहरू जोत्दैनन्
खन्नेहरू खन्दैनन्
औजार हुनेहरू किन आफैं अघि सर्दैनन् ?
अब आफैं जोत्ने पो हो कि!
थाम्नेहरू हात छोडिदिन्छन्
हाँक्नेहरूले गन्तब्यमा पुर्याउदैनन्
लान्छु भन्नेहरूले लाँदैनन्
गएकाहरूले बोलाँउदैनन्
खुट्टा हुनेहरू किन आफैं हिड्दैनन्?
अब आफैं हिंड्ने पो हो कि!
चौकिदारले चोर्न थालेपछि
भण्डार कहाँ सुरक्षित रहन्छ र!
विस्वासमा संकट आएको बेला हो यो
तालाचाबी खोस्ने पो हो कि!
भण्डारभित्र आफैं पस्ने पो हो कि!
सानो मान्छेको ठुलो स्वर भनि’सेला
रिसानी माफ हजुर,
हजुरहरू सबैलाई
कालो मोसो धस्ने पो हो कि!
किन- विस्वास तुहिन्छ बारम्बार?
किन- भरोसा भत्किन्छ दिनदिनै?
किन- कहीं, कतै, केही हुदैन ?
किन- नहुनु पर्ने मात्र हुन्छ आजकाल ?
अब आफैं अघी बढ्ने पो हो कि!
