Skip to content

सीमाना कटाउने बेला हो यो


गाउँ, शहर र बस्तीहरू
अनाधिकृत रुपमा मिचिएको बेला हो यो।
बुद्धि नभएका स्वाँठ भुसतिघ्रेहरूबाट
निर्बलहरू किचिएको बेला हो यो।

घरभित्र चोर छिरेको खुशीयालीमा
सर्बस्व लुटिंदा पनि
सर्बाङ्ग नाँचिएको बेला हो यो।
शोषणको पनि हद हुन्छ
सहनशीलताको सीमा जाँचिएको बेला हो यो।

यता टुक्र्याएर, उता भत्काएर
बिकासका नाममा
बिनास रोपिएको बेला हो यो।
यता मारेर, उता चिथोरेर
उपचारका नाममा
बिषमय सुई घोपिएको बेला हो यो।

उन्मुक्तिको सपना बाँडेर
बाँच्न पाउने अधिकार खोसिएर
स्वतन्त्रताका नाममा
निरंकुशता लादिएको बेला हो यो।
बोल्न-गर्न क्यै नदिएर
देश र जनतालाई दलदलमा
खाँदिएको बेला हो यो।

जाति, भाषी र क्षेत्रीयताका नाममा
एक-अर्कामा शत्रुता बढाईएको बेला हो यो।
सम्बन्ध  र नाताहरू टुक्र्याईएर
मानवताको धज्जी उडाईएको बेला हो यो।

घर, परिवार, इष्टमित्र र छिमेकीका बिच
गौरबमय आत्मियतामा
फाटो हालिएको  बेला हो यो।
भाइ-भाइ फुटाएर देश टुक्र्याउने
षड्यन्त्रको जालो फालिएको बेला हो यो।

भाँडहरूबाट होसियार है हजुर!

स्वबलम्बी ,पौरखी र इमान्दार
नेपाली -नेपालीका बिच
बैमनष्यता, शत्रुता र तिक्तता हटाउने बेला हो यो।
देश टुक्र्याउने पाखण्डीहरूलाई
जुत्ताको माला पहिराई
सीमाना कटाउने बेला हो यो।

1 thought on “सीमाना कटाउने बेला हो यो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *