Skip to content

परदेशमा तीज

  • by


रातो सारीले सपक्क ढाकिएर,
परदेशका बन्द कोठाहरूमा,
आत्महत्याको अनुकुल मौका कुर्दै,
डोरीका गाठाँहरू कस्तै होलान हाम्रा चेलीहरू!

लाला-बाला र आफन्तको बियोगमा,
साहुको ऋणले किचिएर थलिएको जीर्ण शरीर,
बलात्कारीको बाहुपासमा कसिएर,
बचाऊ!बचाऊ! का चर्का स्वरहरू निकाल्दै,
रगतका फाल्साहरू पखाल्दै होलान् हाम्रा चेलीहरू!

थिल्थिला स्तन र टोकिएका गालाका निलडामहरू सुम्सुम्याउदै,
तीजका सुरिला गीतका धुनहरू सम्झिएर,
मलमपट्टी र ओखतीको खोजीमा,
सहानुभूति र न्याय पाउने आशामा,
उन्मुक्तिका ढोका-ढक्ढक्याउदै होलान् हाम्रा चेलीहरू !

परिवार, सखा र देश सम्झँदै,
लाचारी लोग्ने र क्रितघ्न नेताहरूका नाममा,
च्यातिएको भाग्य र ठगिएको जिन्दगीलाई धिकार्दै,
दीर्घ जीवन र शान्तिको कामना गर्दै होलान हाम्रा चेलीहरू!
तीजको ब्रत बस्दै होलान हाम्रा चेलीहरू!

हरिहर दाहाल
क्यालिफोर्निया, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *