Skip to content


पैसा छ क्या चमकदार र मोलवाला
आँखा हुने जगतका यसमै उज्याला ।
          क्या गोलगोल अनमोल छ चट्ट बान्की
          यो हातमा हुन गए मन उड्छ सन्की ।।
संसार गोल छ धनै पनि बाटुलो छ
पैसा यही सब कुराहरूमा ठूलो छ ।
          पैसा भए हृदयमा सुखले खुलो छ
          पैसा यही सकल रोगविशे मुलो छ ।।
पैसा छ जे छ अनि के यहाँ र फेरि
पैसा भए कम जगत् छ हुने अँधेरी ।
          पैसा छ शेर, धन औ बल तेज जान
          पैसा भए छ रहने सब थोक मान ।।
मै हूँ भनेर दुनियाँ पनि गर्छ सेखी
रित्तो भएर जब उड्दछ हातदेखि।
          कुत्ता बनेर जन फिर्दछ मानशून्य
          पैसा रहेर जगबीच अहो निधान ।।
पैसा सिकाउँछ सबै जनमा चलाखी
पैसा बनाउँछ, गराउँछ दोष माफी ।
          पैसा भए छुटिगए दुखदाग साफी
          देखिन्न हेर दुनियाँभरमा खराबी ।।
यो पापको तर छ बीउ अनेक काला
चल्छन् छुरी र तरवार अनेक भाला ।
          चिन्नता बढाउँछ यही मनभित्र ज्वाला
          यो दु:खको घर छ घोर खराब छाला ।।
हुन्छन यसैक भजी सब काटमार
हुन्छन् नजीक यसका सब धर्मसार ।
          राम्रा कुरातिर लगाउनु हुन्छ स्वर्ग
          गर्दा खराब तर लाग्छ अनेकतर्फ ।।
पैसा सँगाल तर खूब स्वभाव जान
लागू नहोस् तर बनोस् सुखको मुहान ।
          पैसा हुँदा पुछिदिनु दुख आँसुदाना
          गर्नू सकेभर भलाइ नठान्नु साना ।।
यो हातको हक भनीकन धर्म निंति
गर्नु सधैँ असल बाबु छ यत्ति विन्ति ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *