Skip to content


मलाई राम्रा सब चीज हेर्न
अत्यन्त लाग्ने मन चित्त भर्न
आँखा दुवैले रस प्यूनलाई
अत्यन्त आनन्द हुने मलाई ।

राम्रा उज्याला सब फूलबाट
सुगन्धको सौख मिहीनसाथ
दिलै भरी आउँछ गद्गदाई
क्यै चीज, जो हुन्न बयान हाई ।

म प्यूँछु नीलो छतको मिठास
तारा-जुहारी झलमल्ल खास
म चाँदनीको रस प्यूँछु मीठो
आँखा कचौरा दुईबाट छीटो ।

नीलो कचौरासरिको आकाश
घोप्ट्याइएको रस भर्न खास
के त्यो उज्यालो जुन झर्छ याहाँ ?
हो स्वर्गको अमृत खास याहाँ ।

अत्यन्त राम्रो दुनियाँ छ सारा
जुहार जस्त झलमल्ल तारा
बयान केही नहुनेछ फूल
छ टाँगिएको झलमल्ल झूल ।

बनाउने यो दुनियाँ अपार
राम्रो असंख्यै हुनुपर्छ क्या र ?
कस्तो छ राम्रो सब कारखाना
कस्तो हुँदो हो दिलमा खजाना ।

मलाइ आँखाभर हुन्छ आँसु
सरर्र भै आउँछ अंग मासु
जसै म संझीकन ध्यानद्वारा
खडा गरी लिन्छु स्वरूप सारा ।

सबै नराम्रा जति ती कुरा छन्
मलाई काहीं मनभित्र डस्छन्
जो छन् उज्याला तर चीज राम्रा
ती छन् सधैंका सुखतुल्य हाम्रा ।

देखेर यस्तो दुनियाँ विचित्र
मलाइ लाग्यो मन भित्रभित्र
यस्तै उज्यालो सपना बनाऊँ
छोडेर आफ्नो यश-नाम गाऊँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *