Skip to content

बाल कविता

जाडो बढ्दै गा’छ

अस्तिभन्दा हिजो अनि हिजोभन्दा आज
मौसम पनि चिसिँदै छ जाडो बढ्दै गा’छ

बाकसभित्र मुसा पसी पाइन्ट काटेको छ
स्वीटर लाऊँ स्वीटरको कुइना फाटेको छ
कम्मल ओढी कोठामा नै बस्नुपर्ने भा’छ
मौसम पनि चिसिँदै छ जाडो बढ्दै गा’छ

जाडो पनि कति हो

बाक्लो हुस्सु कुहिरो उड्दै आयो फुस् फुस्
जाडो पनि कति हो, उस्, उस्, उस् !

“सहरबाट गलबन्दी ल्याइदिएनन् मामाले
यौटा स्वीटर किन्नलाई’नि कन्जुस गरिन् आमाले”
केटाकेटी आपसमा, कुरा गर्छन् खासखुस्
जाडो पनि कति हो, उस्, उस्, उस् !

कमिला

माथिदेखि तल, तलदेखि माथि
हिँडेका छन् हेर भई साथी साथी
सोधेँ प्रश्न तिमीलाई –
के हुन् भन रमिला ?

केको कानेखुसी हो केको सट्यासुटु हो ?
टाउको टाउको जोडेर केको लुटुपुटु हो ?
एउटा लाइन भाँचेर अर्को लाइन फर्किने
साथीसँग के भन्न मुन्टो जोत्दै अड्किने

बाको हात समाउँदै

बाको हात समाउँदै स्कुलमा गा’को
फर्किँदा त बाभन्दा नि म पो पैला भा’को
हाम्रा बाचाहिँ ठुला सरलाई भेट्न जानुभयो
बालाई अफिस चिनाउन मिसले लानुभयो

त्यै मौकामा सुर भयो कक्षा छोडी भाग्ने
मेरो बानी नराम्रो छ पढ्न झ्याउ लाग्ने
पानी खान जान्छु भनी मनिटरलाई ढाँटेँ
बरु घरै जानुपर्ला मनैमनले आँटेँ

कमिलाको लर्को

यौटापछि अर्को फेरि अर्कोपछि अर्को
हेर साथी कमिलाको कति लामो लर्को

आँट्यो भने आँधीसमेत रोक्छ कमिलाले
उस्तै परे पहाड पनि बोक्छ कमिलाले
जाँगर पोख्न कत्ति पनि मान्दैन यो झर्को
हिँड्छ, हिँड्छ,हिँडिरहन्छ बनाई लामो लर्को

हाम्रा सर !

झिकौं कापी, झिकौं कलम, झिकौं इरेजर
हातमा छडी घुमाउँदै आउनु भयो सर

“दायाँ-बायाँ नफर्कनू, मुन्टो तल झार्नू
हिजो सार्न नभ्याएको पाठ आजै सार्नू”
यति भन्दै कुर्ची तानी बस्ने खराखर
पढाउन अल्लि अल्छी मान्नुहुन्छ सर

खैरे कुकुर (बालकविता)

पछ्याएर हैरान पार्छस् जब कतै लाग्छु
अब पप्पी भन्दिनँ म खैरे भनी डाक्छु

कैलेकाहीँ बाउँठिएर घरै थर्काइदिन्छस्
यता आउन खोज्नेलाई नि उतै फर्काइदिन्छस्
आफ्नो मान्छे आउँदा पनि गर्छस् डाँको चर्को
तेरो डाँको सुन्दा–सुन्दा लाग्न थाल्यो झर्को

छुच्चो मुसो

थोत्रो गाना गाउँदै कुद्छस् घरको छाना-छाना
ठीक् लागेन मुसा मलाई तेरो तानाबाना

बस्ने घर छैन तेरो मेरो घरमा बस्छस्
राति-राति हल्ला गर्छस् दिउँसो कुना पस्छस्
किताब काट्न, लुगा काट्न अघि सर्नुपर्ने
मेरो घरमा बसी मेरै अहिरो गर्नुपर्ने

GokulKhadka

ज्ञानी नानी

बाल सूर्य जस्ता साना ज्ञानी नानी
फुल बन्ने तरखरका कोपिला हामी !

बाबा आमा सबैका हुन्छौं हामी ज्ञानी
सानै देखि लिएका छौं राम्रो बन्ने बानी !

खेलौँ डण्डीबियो

यता आऊ साथीभाइ केही भन्नु थियो
खेलौँ हामी कपर्दी र खेलौँ डण्डीबियो

खेल खेल्दा झेल गर्न अघि सर्नुहुन्न
‘शान्ति’सँग खेल्नुपर्छ हल्ला गर्नुहुन्न

कोपिला भोलि फूल हुन्छ

कोपिला भोलि फूल हुञ्छ
प्रकृति झैँ सुन्दर हुन्छ
चिने त्यो रुप रंग उस्को
स्वर्ग तुल्य संसार हुन्छ
सबै समान उस्ले मान्दछ
कर्मनै सच्चा उस्ले ठान्दछ

झाँगघर

घर एक बनाउँ मिली सबले
जग होस् पृथिवी तर स्वर्ग फुले-
सरि होस् दिल-फूल खुशी रहने
लहराहरु तुल्य विचार हुने ।

लहराहरुको घर एक नयाँ
यसमा छ अहो अरु नै दुनियाँ
जिउको पिंजरा छ त्यहाँ मुनियाँ
कति बोल्छ मिठोसँग बात नयाँ ।

जुनि

चोर्ने र दिक्कत दिने जुनि हुन्छ झींगा
ज्यादै सिंगार्न मनको जुनि बाह्रसींगा
अल्छी सुतालु छ अजिंगर नाम चोला
राखेर होश हिंड जन्म खराब होला ।

ठूलो म बन्छु जुन भन्दछ बन्छ हात्ती
घोडा उ बन्छ जुन थिच्दछ दिन्छ लात्ती
खाने छ जो रगत बन्दछ त्यो हुँडार
यै होश राख पछिको जुनि लौ सपार

पृथ्वी‍ – भकुण्डो

भकुण्डो पृथ्वीको लडिबुडि गराई फननन
दिंदो लात्तीपात्ती दिन दिन घुमाई छिनछिन
सधैं पूर्वै फेंक्दो दिन दगुरिने पश्चिम गरी
भकुण्डो खेल्ने को कुन दिन छ अड्ने कुन हरि ?

छ ठूलोमा ठूलो चउर अति नीलो झिलिमिली
सधैं बत्ती बाली बहुत थरी हाँस्ने हिलिलिली
त्यसै एक्लै हान्दो लडिबडि हुने रातदिन नै
कतै फुट्बल् खेल्ने उसतरफ देख्यौ कि त कुनै ?

हैंसा बूढीको मुख

हेर धोति हिसिशून्य मुहार
चाउरीहरू बनी भरमार
छन् अनेक खहरेकन खोंच
क्या मुजासित चुनाउँछ शोच ।

रङ्ग छैन मुखमा न छ पट्टी
हातमा छ निहुरी लिन लट्ठी
आधि हेर जिउ भै उसपट्टि
रूप क्या छ यसको सब छुट्टी ।

तस्वीर

(१)
भनन भनन नानी ! के गरी भो तयार ?
कति रससित राम्रो क्या मजा ! चट्ट क्या र ?
सकल मुख दुरुस्तै पार्न सक्ने अपार
कति चतुर कुरा यो जो छ तस्वीर सार ।।

(२)
मुख पनि छ दुरुस्तै नाक ता ठिक्क झन् छ
रंग पनि त लुगाको ठिक्क क्या हेर ! बन्छ ।
रिस, खुश गजबैका भाउ छन् क्या दुरुस्त
म त दिन दिन हेर्दै बन्छु आनन्द मस्त ।।

नेपाली हामी

प्यारो छ मेरो नेपाल
हिमाल छ शान गजुर
नाच्दछ डाँफे हिमाल
तराईमा नाच्छन् मयुर

पश्चिम देउडा बज्दछ
घन्किन्छ पूर्व सेलोले
गुन्जिने मैथली तराई
पहाडी भाका रैलाले