पछ्याएर हैरान पार्छस् जब कतै लाग्छु
अब पप्पी भन्दिनँ म खैरे भनी डाक्छु
कैलेकाहीँ बाउँठिएर घरै थर्काइदिन्छस्
यता आउन खोज्नेलाई नि उतै फर्काइदिन्छस्
आफ्नो मान्छे आउँदा पनि गर्छस् डाँको चर्को
तेरो डाँको सुन्दा–सुन्दा लाग्न थाल्यो झर्को
बिनामेसै नचिच्या है नत्र बक्सिङ ताक्छु
पप्पी भन्न मनै छैन खैरे भनी डाक्छु
कुनै ककुर भुस्याहाझैँ गल्ली–गल्ली डुल्छन्
कुनै चाहिँ सौखिन भई महलमा भुल्छन्
बहुलाएर मर्ने होस् कि डुल्न दिऊँ भने
घोप्टो परी निदाउँछस् कि भुल्न दिऊँ भने
डुल्न भुल्न दिन्न तँलाई मेरै साथ राख्छु
पप्पी भनी डाक्दिनँ भो खैरे भनी डाक्छु
भाग्न दिन्न तँलाई अब बाँध्छु साङ्लो कसी
रखबारी गरेस् घरको यो पिँढीमा बसी
दुष्ट कोही आउन खोजे भुकेस् बल् लाएर
आफ्नो मान्छे आए बोला पुच्छर हल्लाएर
कुइँकुइँ गर्दै रुँदै त्यैँ बस् तँलाई छोडी भाग्छु
पप्पी भनी किन डाक्थेँ खैरे भनी डाक्छु ।
–रमेशचन्द्र घिमिरे, लमजुङ
