Skip to content

Sharan aansu

आवर्तित समय बिम्बहरु

शुष्क मनका धाँजाहरूमा
भरिइरहेछन् –
आवर्तित समय विम्वहरू ।
अतीतका
कुइनेटाहरूमा अलपत्र
स्मृतिपटको सग्लो अक्षर
जिन्दगी उपहास लेखिरहेछ ।

प्रक्षेपण

आकाश ओर्लन्छ
आँगनमा-
अनि शुरु हुन्छ
छिचेमिराको
प्रक्षेपण ।

लघु मस्तिस्कका ज्वारहरूमा
तन्मय सपना मडारिन्छ
अनि
आकाशमार्गमा हराउँछ
छिचेमिराको धुमिल धुकधुकी ।

आकाशियता

खस्तैन तल,
माथि माथि जान्छ- बादल
आकाश मार्गमा ।

मडारिएर बग्छ ऊ
अमेरिकी युद्धपोत विमानहरू झैं।
मिसिँदै जान्छ ऊ
नदीहरू झैं
अनि
महासागर बनेर भरिँदै जान्छ –
आकाश मार्गमा ।

मलाई माफ गर है मेरी कविता

-मलाई माफ गर है
मेरी कविता !

-म सिसिफस’
जिन्दगी उकालो हिंड्दै छु
देउताहरूको श्रापले!
उकालो तल झर्दैछ –
ओझेल पारेर अस्तित्व
शुन्यतामा !

सुनिंदैन यो वनमा, कुहूँ कुहूँ बोली अचेल

सुनिंदैन यो वनमा, कुहूँ कुहूँ बोली अचेल
मेरी मनकी कोइली कतातिर होली अचेल !

पिएर उसको सुमधुर बोली, रुपै मदिरा-
बग्दैन यो छातीमा,आनन्दको खोली अचेल!

नजरभरिको सपना जस्केलामा खसेपछि

नजरभरिको सपना जस्केलामा खसेपछि
धर्धरी रुन्छु म देशको सम्झनाले डसेपछि !

बादलपारि देख्छु सधैं नेपालको छाया
आएर यी विरानाहरुको सहरमा बसेपछि !

आफैंभित्र तिमीलाई लुकाउन मन लाग्यो

आफैंभित्र तिमीलाई लुकाउन मन लाग्यो
तिमीतिर हेर्दै नजर झुकाउन मन लाग्यो!

पोको पारी राखेको थें’ मुटुभित्र तिम्रो मायाँ
तिम्रैअघि त्यो पोको आज फुकाउन मन लाग्यो!

बचाई राख्छौं शान यो

बचाई राख्छौं शान यो,स्वतन्त्र हाम्रो निशानको;
पूजा गर्छौं स्वदेशको अर्पेर पुष्प सम्मानको!

धपक्क पार्दै बस्ती बस्ती सौदामिनी समानको;
चिराग बाल्छौं सबै मिली उच्च स्वाभिमानको!

लालित्यको रंग छर्छ हाम्रो प्यारो धौलागिरी

लालित्यको रंग छर्छ हाम्रो प्यारो धौलागिरी
कोशी टप्पु सुनाउँछ चराहरूको चिरिबिरी !

सजाउँछे-सरुमै रानी, तस्वीर हाम्रो देशको
चुरे पर्वतमाला अनि सीमसार मधेसको !

सुनाखरी फुल्ने पाखो, सुनै फल्ने फाँट हाम्रो
विर्सेर टाढा भयौं भने रहँदैन ठाँट हाम्रो !

असमय

समयको पखेटा काटेर
स्थिर उभिन्छ
असमय,
अनि घुम्न थाल्छ
घडीको सुइको
विपरीत दिशामा !

असमयका मान्छेहरू
अमान्छेहरूमा परिणत भइसके !

यो ट्विन’ प्याराडोक्स’ सापेक्षता
सहन विवस छु !

(अमेरिकामा सम्पन्न अन्तराष्ट्रिय कविता महोत्सव २०११ मा तृतीय’ भएको कविता)

सहिद बनेर चढाएँ, यो माटोमा रगत मेरो

सहिद बनेर चढाएँ, यो माटोमा रगत मेरो
लेखिएन कतै पनि, नाम ‘रामभगत’मेरो !

जिन्दगीको दियो बल्दै थियो मेरो मझेरीमा
मृत्युको तख्ताहरूमा राखिएछ लगत मेरो !

गन्नु पर्छ गणकहरुले

टिकुलिया र
मैराम्रीहरूलाई
कालो अक्षर-
भैंसी बराबर!
तिनका आँखाहरूमा
उर्ध्वगामी फपर्के
छनक छैन!
पापी समयले निलेको
तिनको सपनाका अक्षरहरू
एक एक गन्नु पर्छ
गणकहरूले !

मनमा छ खहरे, पानी छैन

मनमा छ खहरे, पानी छैन
जान्थें म बगेर, बानी छैन !

यहाँ मान्छे सबै ढुंगा भए कि
कसैभित्र मायाँको खानी छैन !

छन् फूल यहाँ सबै फुलेका
तर त्यो रातकी रानी छैन !