घामपानी
घामपानी
स्यालको बिहेमा-
खेल्छन्-हाम्रा नानीहरू
यति यति पानी
गंगै रानी!
यति यति पानी
गंगै रानी!
बालापन यो सलल्ल
बगिरहन्छ ।
पानी भएर लाजले
आकास पोखिइरहन्छ।
स्वप्नील यो छायाँ- घामको
पानी देखेर तर्सन्छ ।
इन्द्रेणी मनका क्यानभासहरूमा
रंग पोतिन्न-
इन्द्रेणीको ।
तरंग पोतिन्न-
जिन्दगीको ।
खेलै खेलमा कोरिएको
सीमाना भित्रका नानीहरू
घामपानी
सहेर हुर्कन्छन्।
जिन्दगी बन्छ
घामपानी,
घामपानी, घामपानी
स्यालको बिहेमा।।
कमलपित्तले ग्रसित घाम
तिरिर्र
डाँडामा झर्दासम्म
पिर्पिरे झरी यो दु:खको
झरिरहन्छ ।
बैशमा घोर्ले
स्यालको हुइंया
सिंहनाद बनेर कानमा ठोकिंदा
थरर्र काँप्छन्-
नानीहरू ।
औंलाले टिपेर-
सावा अक्षर
सक्तैनन् -समाउन
नानीहरू ।
अनि आरम्भ हुन्छ-एउटा
पेट्टी वुर्जुवा शिक्षा प्रणाली।
प्रेम र युद्धका मेटाफोरहरूमा
मिसिन्छ
जब यो
जीवन मीमांसा,
घामपानी,घामपानी
स्यालको बिहेमा-
नरसिंगा बज्छ
राजनीति,
सहनाई बज्छ
कविता।
घन्कन्छ-
कविता राजनीति ।
अभिलाषाको पहाड त्यसै
डुब्छ पानीमा।
सपनाको जहाज त्यसै
डुब्छ पानीमा ।
बलिरहन्छ जितियामा
दियो शान्तिको ।
रुप अमृत
ओंठहरूको कलिलो बिहानी
गोधुलीको च्यादर ओढेर निदाउँछ।
कारखानाहरूमा उत्पादित
चुरोटे ब्रान्ड’का
अक्षरहरू या
क्लोनहरू’-यो समय सन्दर्भको
नानीहरूले चिन्दैनन्।
घामपानी,घामपानी
स्यालको बिहेमा
बस्, यी भोकाएका नानीहरू
टपरी लिएर उभिन्छन्
भातको पंक्तिमा।
म पनि यो देश बोकेर
उभिइरहन्छु घन्टौंसम्म-
पेट्रोलको पंक्तिमा ।
नानीहरू खेल्छन्-
गंगै रानी!
मुखिया तिनको बाटो छेक्छ।
आखिर
यी स्वतन्त्रताका देवीहरूको
बाटो छेकिन्छ –
कहिलेसम्म ?
