Skip to content

अभिशप्त समय


म त निरीह,
निष्प्राण अभिशप्त समय
चल्दैन मेरो जोर
यो
माटोका स्वर्गीय
मान्छेसित !


तिनलाई खुशी पार्न
देउरालीमा पाती चढाउँछु
गाम बेसीका अक्षर चपाउँछु
सडक बन्द गर्छु
सहर बन्द गर्छु !

असारे खेतका जूनकिरी
बलिरहन्छन् !
म ब्याडहरूमा
उखेलिएको बीऊ लिएर
अभिशप्त समय
उभिइरहन्छु –
पानी पर्ला
समाहा चल्ला
आली कान्ला ताछिएला
गरो बन्ला र
रोपौंला !

उमेर माग्छ- छोराको
आशक्त, कामुक /
राजा ययति !
रक्तमुच्छेल
प्रवासी हिउँको फूल-
रातै भएर फुल्छ
गुराँस झैं
तर
जति फुले पनि
म त्यसको सुवास
बटुल्न सक्तिन !

अचेल
बैशाख फर्कन्छ
फागुनतिर !
पृथ्वीको ताप/
सन्ताप सहेर-
काफल पाक्छ- गर्भको
अनि बाबुचराहरू
कालापहाडबाट
नेपाल फर्कन्छन् !
खुशी पोखिन्छ माटोमा
तर म
अभिशप्त समय
हेरेको हेर्यै छु
माटोमा मेरो
केमिस्ट्री पोखिन्न !
म खालि सिलिकेट पढ्छु
सिलिकेटकै मुटु लिएर
अमेरिका,
सिलिकेटकै मुटु लिएर
क्यानाडा पुग्छु म !

विचित्र वर्षा यो-
अम्ल वर्षा,
बेन्जामिन ब्लुम

बुर्जुवा शिक्षा !
म अभिशप्त समय
मेरो
बस, किताब,
कारखाना र मुख बन्द छ !
सीमाभित्रको
सीमाना बन्द छ !

यद्यपि
माटोमा मात छ –
आगतका
तथागत बुद्धहरूको खात छ !
बुद्धहरू
हतियार लिएर आउँदैछन्
म ती बुद्धहरूको
अभिशप्त समय-
डाँडाघरे वाइन्
पिएर लट्ठ छु !
यो सिंदुरे बिहानीमा
म पो कसरी मृत्युको
भुइँचालो पढ्न सक्छु र?

उफ !
म अभिशप्त समय
मेरो क्यै जोर चल्दैन
स्वर्गीय मान्छेसित ! !

Leave a Reply

Your email address will not be published. Required fields are marked *