Skip to content

पहेंलो घाम


नियात्रा
समापन समारोहमा
उभिइरहन्छ –
पहेंलो घाम :
अभिनव प्रेमको उदाहरण ।

प्रेमको तरंग-
मुटुमा
ढुकढुकी बज्छ –
मुर्चुंगा
राष्ट्रिय स्वार्थको
अनि
श्वासहरूमा
कविता
अविरल उडिरहन्छ
इच्छा मृत्यु –
प्रेमिल जिन्दगीको ।

न हाँस्नु ,
न रुनु
यो गीत सुनेर:
समय सन्दर्भहरूको
अनि
न उक्लनु ,
न खस्नु
यो साँघुबाट
देश बोकेर
धुमिल स्वर्गको उद्यानमा ।

शैशवकालको
पुरानो तस्वीर
आँखामा टाँसेर
हिंडिरहन्छ :
पहेंलो घाम
मिर्मिरे बाटोमा
अनि
घामको पाइलैपिच्छे
सधैं पिउँछे
छायाले
प्रेम रस मदिरा
इन्द्रेणी यात्रामा ।

त्यै
बूढो र पहेंलो घामसित
नडुबोस्
प्रभाती किरण-
घामको :
लालिमा नछरी
मेरो धर्तीमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *