Skip to content

बुद्धि मोक्तान

लडायो कि भुइचालोले

पीर पर्‍यो घर मेरो लडायो कि भुइचालोले
आगो बली हेर्दा हेर्दै डडायो कि भुइचालोले

स्याहार् त्यसै नपुग् थियो प्रदेश आफू लागेपछि
भासिएको खम्बा झनै, गढायो कि भुइचालोले

हाँस्ने पनि तिमी सँगै रुने पनि तिमीसँगै

हाँस्ने पनि तिमी सँगै रुने पनि तिमीसँगै
बग्दा आँशु थापी हात धुने पनि तिमीसँगै

हात दिई साथ लिई पुग्दा मैले प्रगतिमा
धर्ती टेकी चन्द्रमा त्यो छुने पनि तिमीसँगै

जाली रै छ थाली पनि आफ्नै सर्त डस्यौ

हिजो मात्रै मेरो लागि भन्दै ब्रत बस्यौ
आजै सबै नाता तोडी किन नर्क पस्यौ ?

रातो साडी चौबन्दीमा चुरी छ्म्मा छम्मा
नाँचे पनि स्वार्थी टीको बिना हर्क घस्यौ

ढुङ्गा पनि फूल सम्झी उनेको छु मैले

हजार भए बजार हुन्छ सुनेको छु मैले
नउम्कियोस गोजीबाटै थुनेको छु मैले

थोरै दु:ख धेरै सुख भोलि पाऊँ भन्दै
रेगिस्थानका गल्ली-बाटा खुनेको छु मैले

मन्दिरमा धुप बत्ती डढाई के हुन्छ र ?

मन्दिरमा धुप बत्ती डढाई के हुन्छ र ?
जन्तु मारी रगत बलि चढाई के हुन्छ र ?

शुद्ध छैन भित्री मन मन्दिर सिंगार्नेको
ध्वजा पत्ता देव लिङ्गो ठड्याई के हुन्छ र ?

शान्ति भड्कियो कि !

आज फेरि आकाश गर्ज्यो बन्दुक पड्कियो कि
कोलाहल छ गाँउ घर शान्ति भड्कियो कि

चौध गते भित्र हामी शान्ति छर्छौँ भन्थे
छर्न भूली हलो फाली कतै अड्कियो कि

सम्झनाले सतायो कि

एक्लै बाँच्छु भन्यौ अघि सम्झनाले सतायो कि
मेरो खड्को आँशु झर्दा ढुकढुकीले बतायो कि

याद भुल्न हिजो आज शीत बनी सम्हालिंदा
शिशीरको प्रभा फेरि हुरी आई ततायो कि

सुवासिलो ताजा बाग कहाँनेर थियो होला

सुवासिलो ताजा बाग कहाँनेर थियो होला
मैले लिने थुँगा थुँगा फेरि कस्ले लियो होला

आशा मारी बस्ने गर्छु आज एक्लै एकान्तमा
आफ्नो मुटु आफैँभित्र आँशु झर्दा खियो होला

बुलाकी त्यो कण्ठा हरायो

शुन्य भयो मन्दिरको घण्टा हरायो
ढुङ्ग्री आमा बुलाकी त्यो कण्ठा हरायो

अङ्ग छोप्ने एकै बित्ता हुँदा पटुकी
गर्मी भो रे पुस माघ ठण्डा हरायो

गैरी खेत आली मन पराएँ

बर्षा याम गैरी खेत आली मन पराएँ
मङ्सिरमा टन्न दाना बाली मन पराएँ

छुपु छुपु बिउ रोप्ने मेरी मनकी रोपा’र
छ्यापे हिलो बदलामा गाली मन पराएँ

आँशु झारी तिमी जाँदा

आँशु झारी तिमी जाँदा बाटो हेरें मैले
सोसिँदैथें मेरै सामु, माटो हेरें मैले ।

अन्तिम पल हात चुमी टाढा भएपछि
बसेका ती डामहरू, टाटो हेरें मैले ।

दख्खल चाहिं छैन मेरो

साहित्यमा थोरै मोह दख्खल चाहिं छैन मेरो
उम्रिएको भाव आफ्नै नक्कल चाहिं छैन मेरो

कोरी-बाटी चिटिक्क ती नवरसले सिर्जनामा
धरै पाले परीहरू सक्कल चाहिं छैन मेरो

बाबा भन्थे ‘नलेख कान्छा! दु:खी हुन्छ कविहरू’
सोची हेर्दा साँचै देख्छु चप्पल चाहिं छैन मेरो

सर्टमाथि चट्ट कोट कलम् कापी भिरी दिंदा
भन्नेलाई भन्न देऊ झक्कल चाहिं छैन मेरो

अरुभन्दा राम्रो लेखी जीत लिन्छु मैले बरु
शास्त्र शिद्ध पछि पार्ने अक्कल चाहिं छैन मेरो

[झक्कल -देखावटीपन ,नक्कल झक्कल]
[अक्कल -धुर्त ,चलाखी ]

अनुजा बर्गकी!

प्रेमको मामिला खोलेनौ सत्य अनुजा बर्गकी!
राखेर मन मै बोलेनौ सत्य अनुजा बर्गकी !

नारीको मनमा सत्यता हुन्छ ठानेको थिए नि
बिषादी नछर्की घोलेनौ सत्य अनुजा बर्गकी !

तिम्रो सन्देश पाएँ छोरा

तिम्रो सन्देश पाएँ छोरा चौतारीमा बस्दा
सम्झे तिमी हावा हुरी पिपल पात खस्दा

सन्देशको मिठो पाटो नरुनु है भन्छौ
निको छैन मनको गाँठो पटुकीले कस्दा

जङ्गे खम्बा ढल्यो आज तलतिर धेरै
छेक्नै पर्छ बैरी पथभित्र घर पस्दा

तिम्रो कान्छा काका

तोते बोल्दै फकाउँछु म तिम्रो कान्छा काका
लिटो पिठो पकाउँछु म तिम्रो कान्छा काका

रुनु हुन्न चुप बस पाकिसक्यो अब
दुध घोली चखाउँछु म तिम्रो कान्छा काका !

योद्धाका नयाँ बर्षहरू !

समय त्यही हुरी न हो
आउँछ जान्छ,
बिना योजना
बिना तर्जुमा
बिना तथ्याङ्क
बिना नाप नक्शा
पाइलाहरू
नयाँ बर्षको संघारमा
उन्मुक्त छन

जन्मको तिथि-मिति स्वीकार छोरा !

आकाशमा चिल
उँडेको दिन
ओथारोमा चल्ला
गन्ती गर्छु,!
मान्छे चिच्याएको दिन
‘मेरो कान्छा’ भन्छु !
बन्दुक भुकेको दिन
तिम्रो मुटु छाम्छु !
परदेशमा क्षेप्यास्त्र
झरेको दिन
हुलाकीको बाटो कुर्छु
बस्तीमा सुनामी
कुदेको दिन
सुरक्षित ओथारोमा राख्छु ।

देशको लागि पसिना मैले

देशको लागि पसिना मैले बगाउनै बाँकी छ
गरीबी पीडा रोदन त्यहा भगाउनै बाँकी छ ।।

फाटेको चोली फरिया दौरा घाम पानी छेक्दैन
च्यातेको फ्याँकी पौरखी नयाँ लगाउनै बाँकी छ ।।