देशको लागि पसिना मैले बगाउनै बाँकी छ
गरीबी पीडा रोदन त्यहा भगाउनै बाँकी छ ।।
फाटेको चोली फरिया दौरा घाम पानी छेक्दैन
च्यातेको फ्याँकी पौरखी नयाँ लगाउनै बाँकी छ ।।
ताकेर बस्दा अरुको मुख भोक-भोकै परिन्छ
गरेर खान हातले आफै अघाउनै बाँकी छ ।।
कसरी भनुँ समाज अँझै औसीको रातमा
सुतेको बस्ती ठोसेर मैले जगाउनै बाँकी छ ।।
ताछेर हलो बाबाको हात थकाइले झर्यो नि
बसिला लिई करुवा ठोकी सघाउनै बाँकी छ ।।
