Skip to content

योद्धाका नयाँ बर्षहरू !


समय त्यही हुरी न हो
आउँछ जान्छ,
बिना योजना
बिना तर्जुमा
बिना तथ्याङ्क
बिना नाप नक्शा
पाइलाहरू
नयाँ बर्षको संघारमा
उन्मुक्त छन
हुनसक्छ
यो नयाँ बर्षका कुनै दिन
अतिवादको मार हान्नु पर्छ
हानौला!
यो नयाँ सालको कुनै दिन
बिस्तारवादको टाउको निमोठ्नु पर्छ
निमोठौला !
नयाँ सालको कुनै दिन
चेतनाको सङ्गिन उठाउनु पर्छ
उठाउला !
मार हानेको भोलिपल्ट
टाउको निमोठेको भोलिपल्ट
सङ्गिन उठेको भोलिपल्ट
त्यो बस्तीमा
त्यो छाप्रामा
त्यो टोलमा
त्यो क्षेत्रमा
त्यो राष्ट्रमा
बिस्तारै बिस्तारै बिहानी किरणहरू
बिस्तारै बिस्तारै उषाका मुनाहरू
बिस्तारै बिस्तारै हर्षका मुस्कानहरू
अन्तुको डाँडालाई छिचोल्दै
कन्चनघगाको शीरबाट चियाउने छ
खुशीका चादनीहरू धर्तीमा पोखिनेछन
त्यो लक्षको गन्तब्य पूर्ण नभएसम्म
ती बस्ती र ती छाप्राहरूमा
मान्छे हुनु र बाच्नुको
परिभाषा बोध नगराएसम्म
योद्धाको नयाँ बर्ष टाढै रहनेछ
के हो नयाँ साल ? केको नयाँ बर्ष
केको शुभकामना !!

पराइको भूमिमा भट्टी बिस्फोट भएको देख्ने
आफ्नो भूमिमा मट्टी बिस्फोट भएको नदेख्ने
पराइको भट्टीको किरण फैलाउने
जनताको हड्डी दबाउने
अनि अबोध गरीबीको
आङमा लठ्ठी बर्साउने
छर्ला र गट्टीले
मान्छे तर्साउने
हो यस्ता यस्तै दिनहरूमा
हो यस्ता यस्तै बिहानहरूमा
नयाँ बर्ष
मनाउदै गर्नेहरू
नयाँ सालको
स्वागत गर्दै गर्नेहरू
शुभकामनाले
अङ्कमाल गर्दै गर्नेहरू
“लेट्स चेस !”
एक बोलत रङिन बियर
योद्धाको दाँया हल्केला चिरेर
एक गिलास रसिलो अङ्गुरको झोल
योद्धाको औंला चिरेर !
केवल त्यो प्रतिवादको लागि
चेतनाको सङ्गिनले
मट्टी बिस्फोटको प्रतिरक्षाको लागि
हड्डी बिस्फोटको सुरक्षाको लागि

स्वीकार ,
योद्धाका चिरिएका
औंला र हल्केलाहरू
रगतको मसीले कोरिएका इतिहासहरू
नयाँ बर्षका शुभकामनाहरू !!
नयाँ सालको शुभकामनाहरू !!

-[अघोषित योद्धा ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *