वि.सं. २०३० सालमा उदयपुर जिल्लामा जन्मेर २०४७ सालदेखि राजविराज (सप्तरी)लाई कर्मक्षेत्र बनाएर जीवनरथ हाँकिरहेका नन्दलाल आचार्य मूलत शिक्षण र लेखन कार्यमा संलग्न साधक हुन् । – उनको ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (०६७) प्रकाशित नाट्यकृति हो । ‘टुक्के दिदी र उखाने दाइ’ (बालएकाङ्की सङ्ग्रह) समेत प्रेसमा रहेको देखिन्छ । नाटक/एकाङ्कीकार नन्दलाल आचार्यका नाट्यगत विशेषताका वारेमा समीक्षक रामविक्रम थापाको कलम बोलेको छ – ‘२०६३ – २०६६ मा सिर्जित र २०६४ – २०६७ मा शब्दाङ्कुर, दायित्व, मधुपर्क, गरिमा, मिर्मिरे र कलममा प्रकाशित ९ ओटा र अप्रकाशित ६ ओटागरी कूल १५ ओटा नाटक/एकाङ्की सङ्गृहीत सद्य प्रकाशित ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ आचार्यको प्रथम पुस्तकाकार कृति हो र नेपाली साहित्यको नाटक विधामा उनको सार्थक र सशक्त उपस्थिति पनि हो । प्रथम पाइला नै ऊध्र्वगामी भएकाले नाटक विधामा यिनलाई उदीयमान प्रतिभा नभनी सुखै छैन ।