वि.सं. २०३० सालमा उदयपुर जिल्लामा जन्मेर २०४७ सालदेखि राजविराज (सप्तरी)लाई कर्मक्षेत्र बनाएर जीवनरथ हाँकिरहेका नन्दलाल आचार्य मूलत शिक्षण र लेखन कार्यमा संलग्न साधक हुन् । – उनको ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (०६७) प्रकाशित नाट्यकृति हो । ‘टुक्के दिदी र उखाने दाइ’ (बालएकाङ्की सङ्ग्रह) समेत प्रेसमा रहेको देखिन्छ । नाटक/एकाङ्कीकार नन्दलाल आचार्यका नाट्यगत विशेषताका वारेमा समीक्षक रामविक्रम थापाको कलम बोलेको छ – ‘२०६३ – २०६६ मा सिर्जित र २०६४ – २०६७ मा शब्दाङ्कुर, दायित्व, मधुपर्क, गरिमा, मिर्मिरे र कलममा प्रकाशित ९ ओटा र अप्रकाशित ६ ओटागरी कूल १५ ओटा नाटक/एकाङ्की सङ्गृहीत सद्य प्रकाशित ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ आचार्यको प्रथम पुस्तकाकार कृति हो र नेपाली साहित्यको नाटक विधामा उनको सार्थक र सशक्त उपस्थिति पनि हो । प्रथम पाइला नै ऊध्र्वगामी भएकाले नाटक विधामा यिनलाई उदीयमान प्रतिभा नभनी सुखै छैन । पहिलो ‘वादविवाद’ एकाङ्कीमा भौतिकवादी पति र अध्यात्मवादी पत्नीबीचको तर्क – वितर्क, दोस्रो ‘करार – विवाह’ मा पाँचवर्षे म्यादको अस्थायी विवाह, तेस्रो ‘दर्द’ मा उपेक्षित र परित्यागित महिलाको मार्मिक पीडा, चौथो ‘आधा मेरो आधा तिम्रो’ मा सन्तानले आमा र बाबु दुवैबाट संयुक्त थर लिने समानताको वकालत छ भने पाँचौँ ‘जस्तो मति उस्तै गति’ मा पति र पत्नीबीचको धन र आर्जनको अहम् छ । पुस्तककै नाम बोकेको उल्लेख्य र प्रतिनिधि छैटौँ नाटक हो – ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ । प्रगतिवादी कवि एवम् निर्भीक पत्रकार कृष्णसेन ‘इच्छुक’लाई पुलिस प्रशासनले बर्बर यातनाकासाथ सहिद बनाएको हृदयविदारक शब्दचित्र यहाँ छ । तीनओटा दृश्यमा विभक्त यो ऐतिहासिक नाटक कलम र बन्दुकबीचको कारुणिक युद्ध हो र सेनहत्याकाण्डलाई पर्दाफास गर्ने जनयुद्धकालीन जीवन्त दस्तावेज पनि हो । सातौँ एकाङ्की ‘पीडा एक भाका अनेक’ मा गणतान्त्रिक आजको नेपालमा पनि जनअपेक्षामा तुसारापात भएको कुरा, आठौँ ‘एकता’ मा हिमाल, पहाड र तराईको एकता र समझदारीमा जोड, नवौँ ‘नम्र – विनम्र’ मा प्रेम र विवाहको समस्याको सन्तुलित समाधान, दशौँ नाटक ‘नाम तिम्रो काम हाम्रो’ मा बोर्डिङ स्कुलको भ्रष्टाचार र विकृति – विसङ्गति छ भने एघारौँ ‘परिवर्तन’ मा परिवर्तनको नाममा गाउँमा मानवीय संवेदना हराएको धरासायी सन्दर्भ छ । यसैगरी बाह्रौँ एकाङ्की ‘छलछाम छात्ते छ पार्टी’ प्रतिगामी तत्वहरूको चलखेल देखाउने हास्यव्यङ्ग्यात्मक नाटक हो भने तेह्रौँ ‘दाइजो’ मा दाइजोपीडित अभिभावकको टीठलाग्दो (भयावह) मनोदशा छ । चौधौँ नाटक ‘देश हराएको सूचना’ मा सीमा मिचिएको, देश टुक्रिने सम्भावित खतरा र संविधान – सभाको चुनाव पटकपटक सरेको पीडा छ । पन्ध्रौँ र अन्तिम नाटक ‘परिचय’ का १७ जना पात्रहरूले सङ्घीयताको औचित्य पुष्टि गरेका छन् । हरेक नाटकका पात्रहरूले आफ्नो अस्तित्व खोजेका छन् ,परिचय खोजेका छन्, हक र अधिकार खोजेका छन् । नाटककारले समतामूलक र अग्रगामी समाज खोजेका छन् । पत्रपत्रिका र पुस्तकहरूबाट समसामयिक र जल्दाबल्दा कुराहरूको जानकारी लिएर नाटक/एकाङ्कीको निर्माण भएकाले नाटककार नन्दलाल आचार्यको अध्ययन, चिन्तन र मन्थनको क्षेत्र व्यापक र उज्यालो छ । उखान, तुक्का र गहकिला उक्ति र सूक्तिसहितको कवितात्मक भाषाले सम्वाद जीवन्त भएर नाटक गाढा र प्रभावकारी भएका छन् । अनुसन्धान र अनुभवको व्यापकताले नाटकहरू दार्शनिक, वौद्धिक र सार्थक भएका छन् । कुप्रथा, कुसंस्कार, विकृति, पीडा, विसङ्गति र असमानताका विरूद्धमा धावा बोल्ने यी नाट्यवाणीहरू विषयवस्तुको गहिराइमा पुग्दै र कुराको जरो (चुरो) पक्रेर अभिव्यक्ति दिन सफल छन् । नन्दलालका नाटकमा बालमनोविज्ञान, द्वन्द्व, अन्तरद्वन्द्व, आक्रोश, ग्रामीण परिवेश, घृणा, पारिवारिक वातावरण आदिको बाहुल्यता पाइन्छ । निम्नवर्गीय र सीमान्तकृत पात्रहरूको उन्मुक्तिको निचोड छ । परिवर्तनको पक्षमा वकालत गर्ने आचार्यको धारणा नकारात्मक र पाखण्ड होइन, सकारात्मक र विवेकसम्मत परिवर्तनको पक्षमा सन्देश दिनु रहेको छ । प्रत्येक नाटकको अन्त्य सहज, सुखद र रमाइलो भएकाले यिनी संयोगान्त नाटककारका रूपमा उभिएका छन् । नाटक पढिसकेपछि पाठकको मनमा सानान्दको फूल फुलाउन सक्नु यिनको नाट्यशिल्पको चातुर्य हो ।’ (नयाँ कोशी, पू. ३७, मङ्सिर ०६८, पृष्ठ ४४)
त्यसै गरी साहित्यकार दिल साहनीले उनका नाटककार बारे भनेका छन् – आचार्यले मुलुकका जल्दाबल्दा विषयमा एकांकी/नाटक लेखेका छन् । उनका प्रत्येक नाटकमा नयाँ विचार, नयाँ भाषाशैली तथा नयाँ प्रयोग छ । उनको चिन्तनमा गहिराइ र अभिव्यक्तिमा ऊर्जा छ । उनका नाटक रोचक, विचारोत्तेजक, यथार्थपरक, प्रगतिशील, क्रान्तिकारी, शिक्षामूलक, समस्यामूलक, समाधानमूलक र समाजलाई नयाँ चेतना दिने खालका छन् । उनका केही नाटक हास्यव्यङ्ग्यात्मक छन् भने केही नाटक गम्भीर र दार्शनिक पनि छन् । उनका केही नाटक सामाजिक छन् भने केही राजनीतिक पनि । उनका केही नाटक मनोवैज्ञानिक छन् भने केही ऐतिहासिक पनि । सामान्य विषयलाई गम्भीरता र रोचकताका साथमा प्रस्तुत गर्नु उनको विशेष खुबी हो । लेखकले यतिबेलाका नेपालका सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, धार्मिक, राजनीतिक, जातीय वर्गीय, क्षेत्रीय, राष्ट्रिय आदि सबै प्रकारका समस्यालाई आफ्ना नाटकका विषयवस्तु बनाएका छन् । उनले नाटकमा समस्याका साथै समाधान पनि दिएका छन् । उनका नाटक सार्थक र बौद्धिक छन् । अध्ययन र अनुभवको व्यापकता झल्किन्छ ।
त्यस्तै ‘नाटकमा विविधताको खोजी’ शीर्षकमा कृष्ण शाह यात्रीले आचार्यको नाट्य कृतिका वारेमा भनेका छन् – नेपाली नाटकमा पछिल्लो दशकमा देखिएको सक्रिय नाम हो – नन्दलाल आचार्य । उनले नाटकसँगै कविता, कथा र निबन्धमा पनि कलम चलाउँदै आइरहेका छन् । मोफसलमा रही निरन्तर साहित्यसाधना गरिरहेका आचार्यको पहिलो नाटकसङ्ग्रह हो – ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ । यसमा १५ वटा समसामयिक एकाङ्कीनाटकहरू सङ्ग्रहित छन् । नाटकहरूबाट थाहा लाग्छ, उनी वैचारिक नाटक लेख्न रुचाउँछन् । उनी आफूले देखेभोगेका यथार्थलाई नाटकमा ढाल्न सक्ने खुबी राख्दछन् ।
शीर्ष नाटक ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’मा कवि कृष्ण सेन इच्छुकलाई द्वन्द्वकालमा राज्यले दिएको कठोर यातना र हत्याको कहालीलाग्दो दृश्यलाई दर्शाइएको छ । यस नाटकमा कवि इच्छुकका कविताहरू पनि नाटककारले सापटी लिएका छन् । तीन दृश्यमा विभाजित यस नाटकले धेरै वटा ऐतिहासिक तथ्यहरू बोकेको छ । नाटक ‘देश हराएको सूचना’मा संक्रमणकालको नेपालको दुर्दशालाई चित्रण गरिएको छ । देश क्रमशः खिइँदै र टुक्रिँदै जान थालेको चिन्ताले ग्रस्त सूत्रधारको वरिपरि नाटक घुम्छ । यी बाहेक सङ्ग्रहभित्र ‘पीडा एक ः भाका अनेक’ र ‘परिचय’ नाटकहरू पनि राजनीतिलाई मूल विषय बनाइएको छ । दुबै नाटकले सामाजिक र राजनीतिक बेथितिको मुद्दा उठाएको छ । ‘परिचय’मा भने नाटककारले पाठकलाई परम्पराहरूको जानकारी दिन खोज्दा विषय राम्रो हुँदाहुँदै पनि नाटकको प्रस्तुति फितलो बन्न पुगेको छ । यसमा नाटकीय तत्व कम छ ।
आचार्यले सामाजिक कुरीति र संस्कार विरुद्ध लेखिएका केही नाटकहरू पनि सङ्ग्रहमा समावेश छन् । ‘करार विवाह’, ‘आधा मेरो ः आधा तिम्रो’, ‘जस्तो मति उस्तै गति’, ‘नम्र निवेदन’, ‘दाइजो’ यस्तै खालका केही नाटक हुन् । यी नाटकहरूमा प्रेम, विवाह, अस्तित्व, ईर्ष्या, अभिमान लगायतका समस्याहरूमा केन्द्रित छन् । उनका केही सामाजिक नाटकहरूमा हाँस्य र व्यङ्ग्यको प्रयोग भएको देखिन्छ भने चेतना अभिवृद्धि र सुधारका अपेक्षाहरू पनि भेटिन्छ ।
लेखकीयमा नेपाली विषयको शिक्षकको नाताले विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीहरूलाई नाटक गराउनका लागि कतिपय नाटकहरू लेखिएको कुरा उल्लेख छ । केही नाटकहरू नाटककार आफैंले प्रस्तुत गरेको पनि बुझिन्छ । यस सङ्ग्रहमा परेका अधिकांश नाटकहरू विभिन्न पत्रपत्रिकाहरूमा पहिले नै प्रकाशित भइसकेका छन् । यसबाट नाटक विधामा आचार्यको राम्रै मोह देखिन्छ । नेपाली साहित्यमा नाटक विधामा प्रतिबद्धतापूर्वक लाग्ने लेखकहरूको कमी छ । अझै पनि अरू विधाको तुलनामा नाटकका पुस्तकहरू कमै छापिन्छन् । यस अर्थका उनको उपस्थिति आशालाग्दो मान्न सकिन्छ ।
नाटक श्रव्य र दृश्य विधा हो । नाटक प्रविधिसँग जोडिएको विषय पनि हो । नाटकमा सबै कुरा संवादले मात्र व्यक्त नगरी पात्रको हाउभाउ, घटनाक्रम र परिस्थितिबाट पनि उतारचढाव आउनुपर्छ । यसमा अलिक विचार पु¥याएको भए वेश हुन्थ्यो । समग्रमा यस सङ्ग्रहका नाटकहरूमा संवाद, भाषाशैली र विचार सुन्दर छ । विषय छनोटमा विविधता देखिन्छ । (मधुपर्क, पूर्णाङ्क ५२१, कात्तिक २०६९)
कालजयी सर्जक घनश्याम ढकालको संयोजकत्वमा निर्माण गरिएको ‘माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य’ नामक सौन्दर्यशास्त्र/समालोचना विधाको ग्रन्थमा खेम थपलिया उनका वारेमा लेख्छन् – नन्दलाल आचार्य समाजवादी – यथार्थवादी साहित्यिक धारामा कलम चलाउने सशक्त प्रतिभा हुन् । त्याग र बलिदानको उच्चत्तम कीर्तिमानीहरू मध्ये कवि कृष्ण सेन ‘इच्छुक’ को सहादत एक परिघटना हो । त्यही प्रतिनिधिमूलक परिघटनालाई आचार्यले नाटकीकरण गरेका छन् । शासक – प्रशाकहरूका हजारौं जोर – जुलुमहरूको निरन्तर बेवास्ता गर्दै यहाँ क्रान्तिकारीहरूको सही परिचय दिइएको छ । यहाँ क्रन्तिकारीहरू सतिसाल हुन्छन्, उनीहरू त स्पातले बनेका मान्छे हुन् भन्ने भाव व्यक्त गरिएको छ । यहाँ प्रस्तुत गरिएको विचारले राष्ट्रिय स्वाभिमानको शिखर चुमेको छ भने क्रान्तिकारी आशावादको भावलाई परिपाकमा पु¥याइएको छ । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादलाई दुत्कार्नसम्म दुत्कारिएको छ । बारम्बार असफल प्रयास दोहो¥याइरहने प्रतिक्रियावादीरूको मुखुण्डो उघारिएको यस नाटकमा सच्चा क्रान्तिकारीहरू मृत्युलाई सहर्ष स्वीकार्न तयार हुन्छन् तर जनताको गद्दार बन्न कदापि तयार हुँदैनन् भन्ने कुरालाई यहाँ मर्मस्पर्शी ढङ्गले व्यक्त भएको छ । त्यस्तै, प्रतिक्रियावादी वर्गभित्र पनि जनतालाई माया गर्नेहरू रहेका हुन्छन् अनि क्रान्तिकारी वर्गभित्र पनि प्रतिक्रियावादी चरित्र बोकेका मानिसहरू हुन सक्छन् भन्ने कुरा पनि प्रस्तुत गरिएको छ । साथै, जनताको हत्या गरेर प्रमोसन हुने प्रतिक्रियावादी परम्परालाई पनि यहाँ नङ्ग्याइएको छ । आचार्यको यस नाटकले एक दशकको महान् जनयुद्ध र त्यसले उघारेको संसारको नवीन क्षितिजको उद्घाटन तथा मालेमावाद र प्रचण्डपथीय आलोकमा सहिदी संस्कृतिको निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको तथ्यलाई विर्सन सकिँदैन । (पृ.८७५ र ८७६)
आचार्यको ‘टुक्के दिदी र उखाने दाइ’ (बालएकाङ्की सङ्ग्रह, प्रेसमा) मा भने बालअधिकार संरक्षणमा बालबालिका नै सचेत भए समाजका कुतत्वले घुँडा टेक्न वाध्य हुने कुरा जाहेर गर्ने ‘अभियान’, चाहिँदाभन्दा अचाहिँदा कुरामा लहसिएकाले संसार दुःखपूर्ण भएको देखाउने ‘विलासी विश्व’, संसारका हरेक कुराले हामीलाई चेतना दिने भएकाले गुरु नै गुरुका बीचमा हामी रहेको दार्शनिक चेत दिने ‘साना गुरुहरू’, वैज्ञानिक प्रविधि गलत छैनन् दुरूपयोग गर्ने हाम्रो मानसिकता नै गलत भएको देखाउने ‘मोवाइल – गाथा’, मुलुकको सर्वाङ्गीण हितका लागि एकजुट हुनुपर्ने विचार सम्प्रेषण गर्ने ‘राष्ट्रि«य एकता’, कर्मले संसार साघुँरो पारे पनि महान् कर्मबाट आफू अग्लिनुपर्नेमा निच भावनाका कारणले होचाको होचै भएको देखाउने ‘सानो संसार र होचा मान्छेहरू’, कर्मले मान्छे पुज्य हुने कुरा देखाउने ‘सीप’, मान्छेले अरूलाई समेत हँसाएर आनन्दपूर्वक बाँच्न सक्नुपर्छ भन्ने चेतना दिने ‘टुक्के दिदी’, रूढिग्रस्त विचारले दुःखपूर्ण एवं अराजक क्षण निम्त्याउने कुरा जाहेर गर्ने ‘ट्वाइलेट भूत’, परिश्रम गर्नेले पारिश्रमिक पाउनुपर्छ भन्ने कुरा जाहेर गर्ने ‘उखाने दाइ’ गरी जम्मा दस बालएकाङ्कीहरू समाविष्ट छन् ।
निजको अन्य परिचयात्मक विवरण – १. नाम ः नन्दलाल आचार्य/ २. जन्म/स्थान ः २०३०/०३/२८ ठोक्सिला – जहडा, उदयपुर/ ३. स्थायी ठेगाना ः तपेश्वरी – १, गल्फडिया, उदयपुर, मो.नं. ९८४२८२९२०६/४. माता/पिता ः भगवती/विष्णुप्रसाद आचार्य/जीवनसंगिनी – लक्ष्मी रिजाल, छोरी – गरिमा आचार्य/ ५. शैक्षिक योग्यता ः बी.ए., बी. एड., एम.एड. (नेपाली)/ ६. सम्प्रति ः लिटिल फ्लावर उच्च मा.वि., राजविराज – ९, सप्तरी, फोन न.ं ०३१५२००३८ तथा वल्र्डभिजन उच्च मा.वि, राजविराज मोडेल क्याम्पसमा समेत शिक्षण कार्यमा संलग्न । ७. संलग्नता/उपलब्धी ः – सल्लाहकार – सत्यसंयन्त्र साप्ताहिक, बालसंसार र अतिथि सम्पादक – शिक्षा – दीक्षा राष्ट्रिय मासिक/ – आजीवन सदस्य, जनमत र शब्दाङ्कुर साहित्यिक मासिक/ – सदस्य, सगरमाथा साहित्य परिषद्/ – काठमाडौंबाट चियाचौतारी रेडियो कथा लेखन प्रतियोगितामा पुरस्कृत (रु. ५,०००। – नगद), ‘द्वन्द्व निवारण तथा शान्ति निर्माणमा प्रत्यक्ष सहयोग पुग्ने’ लेख लेखे वापत स्थानीय शान्ति समिति, सप्तरीद्वारा पुरस्कृत (रु. २,०००। – नगद सहित प्रमाणपत्र), साक्षर नेपाल स्तम्भमा सर्वोत्कृत लेख लेखे वापत रु. १२,५००। – नगदले पुरस्कृत/ – २०५० देखि संस्थागत विद्यालयमा शिक्षणरत् / – २०५२ सालदेखि साहित्य (कविता, कथा, निबन्ध र नाटक/एकाङ्की लेखन) क्षेत्रमा सक्रिय । / – स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा दर्जनौं कविता, कथा, समालोचना, लेख/निबन्धहरू र थुप्रै नाटक/एकाङ्कीहरू प्रकाशित/ – राजविराज, सप्तरीबाट प्रकाशित हुने सत्यापन, राजविराज टुडे (न्यूज टुडे), आजको वातावरण दैनिक, श्रीसत्यापन, जनक्रान्ति, कृष्णा दैनिक, सत्य – तथ्य, सूचना, सूचना दिग्दर्शन, सत्यसंयन्त्र साप्ताहिक, शिक्षा – दीक्षा मासिक जस्ता पत्रिकाहरूमा निरन्तररुपमा स्तम्भ लेखन तथा साहित्यिक एवं समसामयिक लेखहरू प्रकाशित ।/८ सम्पर्क ः मो नं. ९८४२८२९२०६/ ९. सर्वप्रथम प्रकाशित रचना ः (१) कविता ः ‘कवि देवकोटा’ (सर्वश्री दैनिकमा)/(२) निबन्ध ः ‘हडबडिएको मनका अक्षरहरू’ (सन्ध्या द्वैमासिक साहित्यिक पत्रिका)/(३) हाँस्यव्यङ्गय एकाङ्की ः ‘छलछाम छात्ते छ पार्टी’ (शब्दाङ्कुर मासिक साहित्यिक पत्रिका)/(४) नाटक ः ‘प्रजातन्त्रका नवरसको सेरोफेरो’ (सत्यापन साप्ताहिक, २०५४)/(५) समालोचना ः ‘मधेश आन्दोलनले जन्माएको उपन्यास ‘घुर’ वर्ष ः ३९ / पूर्णाङक- १३७ / असार – श्रावण ः २०६५ अभिव्यक्ति मासिक पत्रिकामा)/(६) हाँस्यव्यङ्गय गीत/ कविता ः मधुपर्क साहित्यिक मासिकको हाँस्यव्यङ्गय विशेषाङ्कमा गीत र फित्कौली साउन, ०६५ मा हेलो, हेलो शीर्षकको कविता ।/(७) लेख ः ‘राजनीतिमा साहित्यले पारेको प्रभाव’ (कोशी मासिकमा पत्रिकामा)/१०. रचना प्रकाशित राष्ट्रिय साहित्यिक, समाचारमूलक एवं वैचारिक पत्रिकाहरू ःगरिमा, मधुपर्क, र्मिमिरे, कलम, समष्टि, शब्दाङ्कुर, अभिव्यक्ति, जनमत, मुना, गोरखापत्र, कान्तिपुर, अन्नपूर्ण पोष्ट, नेपाल समाचार पत्र, राजधानी, कोशी, विमोचन, सन्ध्या, आँखा, रचना, दायित्व, शब्दसंयोजन, जनधोष, जनमत, फित्कौली, शब्दसंयोजन, जनादेश, प्रहरी, हिमाल, नागरिक, जनजिब्रोजस्ता राष्ट्रिय साहित्यिक एवं वैचारिक पत्रिकामा समेत वेलावेलामा कविता, कथा, निबन्ध, नाटक, समीक्षा/समालोचना र एकाङ्कीहरू प्रकाशित । मझेरी डट कम, पल्लव डट कम, समकालिन साहित्य डट कम, साहित्य घर, सिर्जना डट कम लगायत थुप्रै साहित्यिक वेभसाइटमा रचनाहरू प्रकाशित ।
११. विधा ः एकांकी, नाटक, कविता, कथा, समीक्षा र निबन्ध/१२. प्रकाशित अन्य रचना र विधा ः (१) र्मिमिरे साहित्यिक मासिकमा आगो निलेका अनुहारहरू (कविता, वर्ष ३५, अंक १२, पू. २५९, ०६३ चैत्र), महाभूल, उपद्रव शिरोमणिदेखि सचेत नागरिकसम्मको कथा, चिल र चिलोरको कथा (कथा), दर्द एकांकीनाटक, एकता कथा, रूपबहादुर विष्ट वारेको लेख (२) जनमत साहित्यिक मासिकमा— पलाष्टिकको पोको (लघुकथा, पू.१२७), प्रगतिशील कथाहरूको संग्रह मध्यरातमा ः एक विश्लेषण, मणि कोइमीको कविता संग्रह बारे समीक्षा, आस्थाको अग्निपथ एक विश्लेषण (३) लेखबहादुर कार्की र टंक आले मगरको पुस्तक ‘कालो चायाँ’को समीक्षा (३) शब्दाङ्कुर साहित्यिक मासिकमा – छलछाम छात्ते छ पार्टी (एकाङ्की, वर्ष ६, अंक १०, पू. ७२ असोज ०६४ ), देश हराएको सूचना (एकाङ्की, वर्ष ७, अंक ३, पू. ७५, पुस ०६४), आत्मकथ्य (लेख, ०६५), सडकमा पीडा एक ः भाका अनेक (एकांकी), मोवाइल गाथा (निबन्ध),, लेखकको जन्म पाठक….(समीक्षा), परलोकी दाजुको पत्र इहलोगी भाइलाई, ०६९ असोज अङ्कमा ‘नारायणगढमा पल्लव साहित्यिक कार्यक्रम’ (४) रचनामा – राष्ट्रिय झण्डा (कविता, वर्ष ४८, पू. ९६, ०६५ बैशाख, जेठ), उदयपुरे कवि र कविता भदौ – असोज ०६९, (५) विमोचनमा – गजल, कविताहरू (६) कोशी मासिकमा – राजनीतिमा साहित्यले पारेको प्रभाव (लेख), निओलको कथा संग्रह बारे समीक्षा र थुप्र्रै कविताहरूm जनयुद्धको गतिलो दर्पण, रामविक्रम थापाले मेरो नाटक/एकाङ्की सङ्ग्रह ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ बारे लेख्नुभएको पुस्तक परिचय, (७) आँखामा – नयाँ वर्ष (कविता, सोह्रौँ अंक) र अभिभारा (कथा, वर्ष ४०, अंक १७, २०६५) (८) जनादेशमा कविताहरू (९) कलम पत्रिकामा “युग उचाल्ने अक्षरकर्मीका अवसान” (नाटक, ०६६ भदौमा) (१०) मधुपर्र्क पत्रिकामा गीत, कविताहरू र आधा मेरो आधा तिम्रो शीर्षकको एकाङ्की (२०६५ फागुन अंकमा), गीत ( वर्ष ४०, अंक १, पू. ४५६, जेठ, ०६४ हाँस्यव्यङ्ग अंक ) वादविवाद (एकाङ्की), ०६९ पुस अंकमा ‘मधेसमा वसन्त वहार’ शीर्षकको निबन्ध (११) गरिमा ः पत्रिकामा “दाइजोे शीर्षकको एकाङ्की (२०६५ फागुन अंकमा), २०६९ साउन असार नारी विशेषाङ्कमा ‘समय छैन’ शीर्षकको अनुवाद कविता प्रकाशित (१२) फित्कौली पत्रिकामा कविता, लघुनिबन्ध (साउन, ०६५ मा), ०६८ अंकमा लघुनिबन्ध, (१३) समष्टि पू. ८५ मा खेल शीर्षकको कविता (१४) ज्योति पत्रिकामा “बाघले घाँस खायो ः एक विश्लेषण” (समीक्षा, वर्ष ५, पू. ६, ०६५ असोज) (१५) सन्ध्या (पत्र, लेख, वर्ष २, अंक २, पू. १२, कात्तिक, मंसिर, पौष) (१६) शब्दसंयोजन ः एकता शीर्षकको एकाङ्की, कथाकार धीरकुमार बारेको समीक्षा प्रकाशित, ०६५ मा (१७) प्रहरी ः कविता प्रकाशित १८ अभिव्यक्ति नाम तिम्रो काम हाम्रो (एकाङ्की, कवि मातृका पोखरेल वारे, घुर बारे समीक्षा), १९. मुना लोककथा, ०६९ मङ्सिरमा ‘सीप’ शीर्षकको बालएकाङ्की २०. शारदा ‘बाटो नै पाएन’कविता २१. हिमाल खबरपत्रिकामा “कुरा मैथिलीको” (पू.२९८, १ – १५ मङ्सिर २०६८, लेख) २२. जनजिब्रोेमा २४ अङ्कदेखि विविध विषयका लेखहरू, २३. शिक्षकमा ०६८ पुस अंकमा ‘पिताको पत्र शिक्षकलाई’, चैत्रमा ‘दिमाख खाली छ, दिमाख खाली छैन’, असार ०६९ मा राजनीतियुक्तबाट मुक्ततिरको महायात्रा !, वर्ष ५, पूर्णाङ्क ५५, कात्तिक २०६९ मा ‘जिउन सजिलो पार्छ’ लेख पुरस्कृत २३.नागरिकमा (पूर्वेली संस्करण वर्ष १, अङ्क ३२, सोमबार १ जेठ, ०६९) ‘शिक्षामा राजनीतिको असर र भविष्य’, (१३ जेठमा) ‘भगजोगनीको उज्यालोपन’, जेठ १८, ०६९ मा ‘प्राविधिक शिक्षाको केन्द्र बन्दै राजविराज’, चार लघुकथा (२०६८ भदौ २ शनिबार),(पूर्वेली संस्करण वर्ष १, अङ्क १६१, विहीबार ४ असोज, ०६९) ‘सलाम ! रामराजा’, (वर्ष १ अङ्क १६९, १२ असोज)मा ‘तीन लघुकथा – निःशुल्क नोकर्नी, वैष्णव र धन्दुकारी’, (वर्ष १ अङ्क २०९, २७ कात्तिक)मा ‘नेपाली राजनीतिका समस्या र निकास’, २४ बालबगैंचामा मेलमिलाप (बालनाटक), २५.उत्प्रेरणामा मोवाइल (बाल एकाङ्की),२६.कामनामा कविता २८.प्रहरीमा कविता २९. उदयपुर जिल्लाको साहित्यिक अभिरेखाङ्कन, ३०. पूर्वाञ्चल दर्पण मा ३१. कलेज टाइम्स मा – इतिहासमा उदयपुरे साहित्य, गगनवासीको पत्र धरावासीलाई, प्रयास पत्रिकामा अनाम मण्डल थुप्रै रचनाहरू लगायत अन्य पत्रपत्रिकामा थुप्रै रचनाहरू प्रकाशित ।/१३. प्रकाशित कृतिः युग उचाल्ने अक्षरकर्मीको अवसान ः (०६७) नाटक/ एकाङ्की सङ्ग्रह (०६९ असोजको मधुपर्कमा ‘नाटकमा विविधताको खोजी’ शीर्षकमा कृष्ण शाह यात्रीले मेरो नाटक/एकाङ्की सङ्ग्रह ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ बारे लेख्नुभएको पुस्तक परिचय, उहाँले गरिमामा प्रगतिशील साहित्यको कोटीमा यस कृतिलाई राख्नुभएको !)/प्रकाशोन्मुख कृतिहरूः टुक्के दिदी र उखाने दाइ (बालएकाङ्की) प्रकाशनको तयारीमा गरिमा (कथासङ्ग्रह, तयारीमा) १ पत्रैपत्रका पानाहरू – पत्रात्मक निबन्ध सङ्ग्रह/२. ॐ विपरीताय नमः – लघु निबन्ध सङ्ग्रह /३ छरपष्ट जिन्दगी ः कविता सङ्ग्रह
उनको प्रकाशोन्मुख ‘गरिमा’ कथा सङ्ग्रहमा विशेषतः पत्रात्मक कथा समेटिएका छन् । ‘बाठा मच्छडहरू’ कथाबाट एक अंश – प्रिय मित्र भुनेश्वर, हप्ता दिन अघि गाविसमा गाउँसभा थियो । सबै डाकिए, मलाई कसैले वास्ता गरेन । दलितका कुरा आउँदा पनि निर्णय गर्ने आफैँ र पेट भर्ने पनि आफैँ गर्ने गरेको कुरा थाहा पाएँ । हाम्रो जातिको नाम बेचेर किन पैसा कु्म्ल्याउँछौ भनेको त मैले मुखभरिको जवाफ भेट्टाएँ । सबैले एक मतका साथ मलाई वाक्युद्धमा पराजित गरे तर म मानसिक युद्धबाट भने पराजित भएको छैन । कुरा सुन्न चाहान्छौ, भुनेश्वर ? तिमीले पनि सुन्नैपर्छ । सुन्न सक्यौ भने मात्र तिमी मेरो विचारसँग निकट हुनसक्छौ ।
त्यस बेला सबै मिलेर मलाई उल्लीबिल्ली पारे । सभ्य मेरो छिमेकी आनन्देले ठूलै स्वरमा भन्यो – “के बुझैछी रै लक्ष्मणमा, तोरा राजनीति के सिखेलकौ ? तोरा भाँतीभाँतिके गन्थन कक आखिरमे कि भेटतौ ? चुपचाप जी, जी कक रही न ।” (के ठान्छस् ए लक्ष्मणे, तँलाई राजनीति कसले सिकायो ? तँ नानाभाँतिका गन्थन गरेर आखिरमा के पाउँछस् । चुपचाप हजुर, हजुर भनेर बस् न ।)
अर्कातिर घनश्याम कुर्लियो – “अपन औकातसँ उपर उठैलासभ हरदम खसले अछि । तोँ किया आफतमे परैल चाहैछ ? दलित वस्तीमे खानेपानी’क व्यवस्था केलगेल अछि । बच्चासभके पढैल स्कूलोँके दरबज्जा खुल्ले छोडल अछि । आब कि ताकै छी, लक्ष्मणमा ?” (आफ्नो औकातभन्दा माथि उठ्नेहरू सधैँ लडेका छन् । तँ पनि किन भड्खारामा पर्न चाहन्छस् ? दलित वस्तीमा खानेपानीको व्यवस्था गरिदिएकै छ । बच्चाहरूलाई पढ्न स्कूलको ढोका खुल्ला छाडेकै छ । अब के खोज्छस्, लक्ष्मणे ?)
पुराना विचारका धुथर बूढाले समेत नयाँ कुरा गरे – “रौ लक्ष्मणमा ! दलित विकासक लेल आएल बजेट जगहजगहमे लगाए देने अछि । तोहर परिवारक बरतनमेँ चाउर राखिदैल सरकारी बजेट अलग केनै नहि अछि ।” (अरे लक्ष्मणे ! दलित विकासका लागि आएको बजेट ठाउँठाउँमा लगाइदिएकै छ । तेरो परिवारको भाँडोमा चामल हालिदिन भनेर सरकारी बजेट छुट्याएको पनि त होइन ।
उनी (क) निम्न वर्गप्रति अनुराग र शोषक वर्गप्रति आक्रोस व्यक्त, (ख) प्रगतिशील चेतनाको तीव्रता, (ग) आशावादी दृष्टिकोण व्यक्त, (घ) सही ढङ्गले सांस्कृतिक रूपान्तरणमा जोड, (ङ) पात्रहरूको मनोदशा र विवसताको चित्रण, (च) घटनाप्रधानभन्दा बढी चरित्रप्रधान कथा लेखनमा अग्रसर, (छ) पात्रानुकूल संवाद प्रयोगमा सजगता, (ज) आञ्चलिकता र स्थानीयताको प्रभाव ग्रहण, (झ) समाजको यथार्थ चित्रणमा अग्रसर, (ञ) पत्रात्मक शैली अङ्गिकारजस्ता कथागत विशेषताका साथ कथा लेखनमा सक्रिय छन् ।
-शिवकुमार यादव
इटहरी विष्णुपुर गाविस – ९, रंजीतपुर गोरगामा, सप्तरी

Thanks; ks sir & majheri
Mr. Shiv kr. Jee ko batulbatul yaha aae6.
Ani majheri ma ma pani ekasi wata rachanako dhani bhae6u.
.
Aba ekai thauma padna paine rahe6.
.
Ma abujhle pani bujne mauka pae.
Thanks ks sir & shiv kumar g,
sathai,
.
HAPPY NEW YEAR 2013 TO MAJHERI FAMILY & ITS WRITERS.