सुख भनेको सत्य हो । सकारात्मक सोचाइ सहितको त्यस सोचले सुख ल्याउँछ जसले आध्यात्मिक जगत्लाई स्पर्श गर्न सक्नुपर्छ । मान्छेको कर्मले मान्छेकै अन्तरात्मालाई सम्वोधन गर्न सक्नुपर्छ । राम–रावणको कहानी, कृष्ण–कंशको कहानी, कौरव–पाण्डवको कहानीहरूमा सत्यको जीत भएको छ । आध्यात्मिक चिन्तनलाई आत्मसात गर्ने हो भने ‘म को हुँ, कहाँबाट आएँ, पुनः कहाँ जानुपर्छ’ भन्ने जस्ता आध्यात्मिक चिन्तनको सेरोफेरोमा आफू रहन सके मात्र सुख प्राप्ति हुन्छ ।
विशेष गरी संसारमा दुई पक्ष छन्– शाकाहारी र मांसाहारी । जसको सोच शाकाहारी हुन्छ, त्यसले नै वास्तविक सुखको अनुभूति गर्न सक्छ । प्रकृतिले सुख मात्र दिन्छ, सुख दिनकै लागि, राम्रै हुनको लागि प्रकृति अस्तित्वमा रहेको हो । तर, त्यस विरुद्ध जाने हो भने संहार अवश्य हुन्छ । सुख प्राप्तिका लागि चार चिजको आवश्यकता पर्छ– ब्रह्मण व्रत, शुद्ध अन्न, देवीदेवताको गुण धारण र सत्सङ्ग । यस संसारमा राम्रो कर्म गर्नाले सुख र नराम्रो गर्नाले दुःख प्राप्त हुन्छ । उदाहरण : राम–सीताको कहानी हेरेर सुख अनुभूति हुन्छ तर रावणको कहानी नियाल्दा दुःख अनुभव हुन्छ । सुख प्राप्त गर्नको लागि काम, क्रोध, लोभ, मोह र अहङ्कार त्याग गर्नुपर्छ । त्यागको मार्गबाट नै सुखानुभूति प्राप्त हुन्छ । सुखानुभूतिको अर्को अचुक अश्त्रको रूपमा एउटा सूत्र छ– कम बोल्नुपर्छ, धीरे बोल्नुपर्छ र मीठो बोल्नुपर्छ । बोलेको कुरा गर्नुपर्छ । राम्रो कर्मसँगै व्यवहार गर्नुपर्छ । आफूसँग भएका कुराहरूमै सन्तोष लिने वानी बसाल्नुपर्छ । क्रमशः अगाडि बढ्ने विचारले काम गर्नुपर्छ । एकै पटक माथि चढ्ने गरी अहङ्कारी विचार कसैमाथि थोपर्न हुँदैन । आफूसँग भएको अर्थ, वल, बुद्धि र विद्यालाई सही काममा लगाउनुपर्छ, दुरुपयोग गर्नपट्टि लागेमा मानव र मानवताको नष्ट हुन कुनै समय लाग्दैन ।
हाम्रो अनुकूल प्रकृतिको लीला रहोस् भन्ने हो भने प्रकृतिको नियमअनुसार हिँड्नुपर्छ । यो संसार नै सुखको स्वर्ग र दुःखको नर्क हो । संसारलाई स्वर्ग बनाउने कि नर्क तुल्याउने त्यो सबै हाम्रै हातमा छ । मनमा रहने काम, क्रोध, लोभ, मोह र अहङ्कारलाई जसले जित्न सक्छ, उसैले स्वर्गको धरोहर निर्माण गर्न सक्छ । तर, जो काम, क्रोध, लोभ, मोह र अहङ्कारको दास हुन्छ, त्यसले आफू र आफ्नो संसारलाई नरक बनाइरहेको हुन्छ । जीवनमा आउने हरेक व्यवधानका विरुद्ध खरोसाथ उत्रेर जीवनरथ हाँक्नुछ भने शिव बाबाको याद गर्नु नै पर्याप्त हुन्छ ।
शिवकुमार यादव
इटहरी विषनपुर–९, रञ्जीतपुर–गोरगामा, मो. ९८०७०५२१२०
