कुरूप राजनीतिको उपज ‘गरुराहा’ उपन्यास

20190915_ShivKumarYadav-Lekh


नन्दलाल आचार्य (२०३०) ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नामक नाट्यकृतिका साथ फुटकर रचना लेख्दै निरन्तर सक्रियता जनाउने उदयपुरे स्रष्टा हुन् । सप्तरी, सिरहा र उदयपुरको मुख्य परिवेशमा सिर्जना गरिएको आचार्यद्वारा लिखित ‘गरुराहा’ (२०७६) नामक उपन्यास कृति सार्वजनिक भएको छ । उनको लेखनको अभिष्टलाई मनन गर्दा उनी समाजका सबैभन्दा पछाडि परेका वर्गलाई अघि सार्ने महाअभियानमा लागेको देखिन्छ । समाजको अन्यायी जाँतोले थिल्थिलो पारेको पक्षलाई च्याप्प पक्रेर त्यसलाई उकास्ने काममा शब्दहरू खर्चन कुनै कसर बाँकी राखेका छैनन् ।

उपन्यासको पूर्वाद्र्ध पत्रात्मक शैलीमा रचना गरिएको छ । यसमा समरमैदानमा खट्ने राजेश विद्रोही नाम गरेको एक पात्रले आफ्नो मनोकांक्षा व्यक्त गर्ने माध्यम पत्रलाई बनाएको छ । ज्योति नाम गरेकी महिला साथीलाई लेखेको पत्र नै उपन्यासको मेरुदण्ड हो । यस वृहत् आयामको पत्रभित्र थुप्रै स–साना पत्र छन् । ती सबै पत्रले पात्रको तत्कालीन परिस्थिति र वास्तविकताको प्रतिनिधित्व गरेका छन् ।

ज्योतिलाई सम्बोधित पत्रबाटै खुलसा हुन्छ– सर्वसाधारणको रूपमा रहँदा राजेश विद्रोहीको नाम राजदेव राम हुन्छ । ऊ समाजको सोझो तर कर्मठ ठिटो बनेर देखिन्छ । उसका पुर्खाले पाएको ठुलाठालुको दमन र दलित भनी हेपाहा प्रवृति सबैले उसलाई भत्भती पोल्छ । गरिबीको कारणले आफ्नै आँखा अगाडि बाबु दाह्रासिंह र आमा कमलीले अरूको घरमा गएर काम गर्नु परेकोमा कलिलो मनको राजदेवको मनमा औडाहा हुन्छ ।

पत्रले खुलासा गर्छ– राजदेवका पितापुर्खाहरू सम्पन्न र सम्मानजनक अवस्थामा हुन्छन् । खान्दानी प्रतिष्ठा जोगाउन लाग्दा धन सकिन्छ । अर्कातिर प्रकृतिले ठग्दा उनीहरू कंगाल हुन्छन् । हैजाको महामारी र खडेरीको पिरलोलाई बहन गर्नुपर्दा राजदेवको परिवार मात्रै हैन साराका सारा श्रमजीवि जनता रोग, भोक र शोकले एकै पटक थला पर्छन् । अँझ जग्गाको मालपोत तिर्न नसक्दा र ऋण स्वरूप लिएको अन्न फर्काउन नपाउँदा उनीहरूको जायजेथा नै गुम्न पुग्छ । र, कडोरपतिहरू रोडपति बन्न विवश हुन्छन् ।

उपन्यासमा कारुणिक प्रेमकथा पनि छ । प्रेम सामाजिक रुपान्तरणको एउटा कडीको रूपमा छ । खासमा मधेशी मूलको दलित ठिटोले पहाडीमूलकी ठिटीसँग वैवाहिक बन्धनमा बाँधिने जमर्को गरेका छन् । उनीहरूलाई जोडी मिलाउने काममा प्रकाशको निस्वार्थ योगदानले परिवर्तनकारी काम गरेर पाठकीय मन जितेको छ ।

दुर्भाग्य ! समाजको बेमेल पक्षलाई मिलाएर सम्मानजनक समाजको निर्माण गर्ने महाअभियानको नायक प्रकाश आफ्नै जीवनमा असफल हुन्छ र इहलोक छाड्न वाध्य हुन्छ । आफ्नी पत्नी दिलमायाको दिललाई जित्न नसकेर ऊ विष खाएर मर्छ । उनीहरूका बीच अविश्वासको खाडल फराकिलो हुने काममा राजदेव–मालती प्रेम प्रसँग नै जिम्मेवार हुन्छ ।

पूरातन संस्कारमा हुर्केका मालतीका गाउँलेहरूले षडयन्त्रपूर्वक उनीहरूलाई छुटाउँछन् । र, राजदेवलाई प्रहरी हिरासतमा राखेर यातना दिन लगाउँछन् । यातनाबाट आजित भएर राजदेव पनि थानाबाटै भागेर काठमाडौँ पुग्छ । मालतीको खोजी गर्छ । भेट्छ पनि । फुपू र बाबुको छलले गर्दा राजदेव र मालतीको पुनर्मिलन असम्भव हुन्छ । गौशाला प्रहरीले राजदेवलाई चित्त बुझाएर फर्कन सल्लाह दिन्छ ।

राजदेव न यताको न उताको हुन्छ । आफ्नो घर फर्कियोस् भने प्रहरीले पक्रेर पाता कस्छ । काठमाडौँमै भौतारियोस् र सामान्य तवरले जीवनयापन गरोस् भने मनमा उम्रेको परिवर्तनकारी काम गर्ने चाहना त्यसै मरेर जान्छ । ऊ विलखबन्दमा पर्छ । र, काठमाडौँ बाहिरिँदा अग्निसँग भेट हुन्छ । उनले नै राजदेवलाई क्रान्तिमा लाग्न सुर्याउँछन् । अन्त्यमा राजदेव सिरहाको महेशपुर आधार इलाकाबाट समरयुद्धको यात्री हुनपुग्छन् ।

समरमैदानमा अनेकन हण्डर खेप्छ । निमुखा नेपालीको मुहारमा हाँसो ल्याउने उत्कट चाहनाले उसलाई दु:खलाई पचाउने सहास दिन्छ । मधेशका कतिपय साथीहरूले कार्यस्थल छाडेर पलायन भएको देखेर उसको मनमा पनि नैराश्यता छाउँछ । तत्कालै अग्निको वाणी सम्झना आउँछ र कर्ममा दत्तचित्त भएर लाग्छ ।

राजदेवलाई अग्निको सल्लाह हुन्छ– समाजका घैलामैला मिल्काउन नयाँ पिँढीले नयाँ तवरले सोच्नुपर्छ । वर्तमानको पिरलोको पछि लागेर सुनौलो भविष्यको दैलो थुन्नुहुन्न । दु:खलाई पचाउन सकियो भने त्यसैबाट तागत मिल्छ, आत्तियो भने सधैँ कमजोर पार्छ ।

राजदेव अग्नि पथलाई आफ्नो आदर्श ठान्छ र ‘राजेश विद्रोही’ नाम धारण गरी परिवर्तनको सच्चा हिमायिती बन्छ । उसले समाजको जातीय विभेदको नाश गरेर समाजलाई क्रान्तिकारी रुपान्तरणको मार्गमा लैजाने एउटा काइदा अन्तरजातीय विवाहलाई हो भन्ने ठम्याएको हुन्छ । रूपान्तरणको मार्गमा एक्लै हिँड्नु किमार्थ उचित छैन, अरूलाई बदल्छु भन्नेले पहिले आफू स्वय म बदलेर देखाउन सक्नुपर्छ भन्ने बुझेको हुन्छ । त्यसैले ज्योतिको साथ पाउने उत्कट चाहनाले प्रेम प्रस्तावस्वरुप लामो पत्र लेखेर आफ्नो बारेमा जानकारी दिएको हुन्छ ।

मूलत: ‘गरुराहा’ उपन्यास सप्तरीको परिवेशमा लेखिएको छ । सिर्जनाको ध्येयलाई नियाल्दा निर्धाको यशगान र अन्यायीको भाँको झार्ने लक्ष्य देखिन्छ । तराई मधेशका समस्यालाई सङ्केत गरी सांकेतिक रूपमै निराकरणका उपायहरू ठम्याउने काम पनि गरेको छ ।

उपन्यासको उत्तराद्र्धमा भने पत्रात्मक शैली परित्याग गरिएको छ । तृतीय पुरुष कथन शैली अपनाइएको छ । लेखकीय दृष्टिलाई स्वतन्त्ररूपले अघि सारिएको छ । राजेशको वर्तमान जीवनशैलीलाई यथार्थपरक ढङ्गले उल्लेख गरिएको छ । अहिले पनि उसको वरपर उस्तै गरिबी, उस्तै भोकमरी र उस्तै अबुझताले गाँजिएका मानिसहरू भएको देखाएकोले कतै राजेश नै समाजको चुनौती त हैन भन्ने पनि लाग्छ ।

उपन्यासले जातीय विभेद, गरिबी, अशिक्षा, बेरोजगारी, अन्धविश्वास र दण्डहिनतालाई मुख्य समस्याका रूपमा आैँल्याएको छ । समाधानका लागि परिवर्तनकारी सोच उमार्नुपर्ने आवश्यकता देखाएको छ । त्यसमा पनि सांस्कृतिक रूपान्तरण नगरी तराई मधेश उँभो नलाग्ने विचार प्रकट भएको छ । यसका लागि अन्तरजातीय विवाहलाई समस्या समाधानको अचुक अस्त्र ठम्याइएको छ ।

फलत: राजेशको प्रेमप्रस्ताव ज्योतिबाट अनुमोदन हुन्छ । २०६४ जेठ १५ गते विहान ११ बजे सुरवीर राईको उपस्थितिमा क्यान्टोन्मेन्टमै राजेश र ज्योति बीच जनवादी वैवाहिक समारोह सम्पन्न हुन्छ ।

उपन्यासको राजेशले समाजलाई पाठ पढायो । आफू परिवर्तनको लहरमा उभिने हिम्मत गर्यो । र, अरूलाई पनि परिवर्तनको बाटोमा लाग्न प्रेरित गर्दै छ । उसले परिवर्तनकारी राजनैतिक दल पक्रेर राष्ट्रिय राजनीतिमा दखल राख्तै छ । उसले मूलत: सीमान्तकृत वर्गको अधिकारको वकालत गर्ने कसम खाएको छ । त्यसका लागि राजनीतिमा लागेर पनि त्यही काम गर्दै छ, वाणी ओकल्दा पनि त्यही कुरा फलाक्दै छ, पत्रकारिता गर्दा पनि अधिकारविहीनहरूको आवाज धन्काउँदै छ । यहाँसम्म कि साहित्यमा पनि निर्धाकै पक्षमा उभिएर खबरदारी गर्दै छ ।

र, अन्त्यमा,

‘गरुराहा’ उपन्यासका अधिकारविहीनहरूको आवाज हो । तराई मधेशका नेपाली जनताको सङ्घर्षको महाकथा हो । विगतमा विशेषत: सरकारी आडमा सप्तरी जिल्लाका सामन्तहरूले निमुखा जनतालाई हदैसम्मको अपहेलना गरेको र नारकीय जीवन भोग्न वाध्य पारिएका कुकृत्यहरूको भण्डाफोर हो । उपन्यासका पात्रहरू जिउँदा जाग्दा छन् । पुर्खाले भोगेको जस्तो अपमान वर्तमानमा नसहने र पुनरावृति गर्ने दुष्साहस कसैले गरे छाड्दै नछाड्ने चेतनाले युक्त छन् । नेपाली समाज नौलो सोच ल्याउन नसकेर पछि परेको हो । ल्याए पनि विलासीपनमा भुलेर लत्याएकोले सफलता हात नलागेको हो ।

‘गरुराहा’ उपन्यासले हरेक नेपालीलाई जडता त्याग्न भनेको छ । ऊध्र्वगामी सोच राख्न सिकाएको छ । आफ्नो अधिकारका संरक्षण गर्दा अरूको अधिकार कुण्ठित नहोस् भनेर खबरदारी गरेको छ । सबैलाई एकताको सूत्रमा उनीएर नवनेपालको निर्माणमा हातेमालो गर्न उक्साएको छ ।

‘गरुराहा’ उपन्यास सामाजिक यथार्थवादको उपज हो । समाजका तीताटर्रा पक्षलाई हुबहु उतारेर भावी पिँढीलाई मार्गनिर्देश गर्ने काम गरेको छ । दमन सहेर हैन कुल्चेर हिँड्ने हिम्मत गर्नसक्नुपर्छ भन्ने प्रगतिवादी विचारलाई समेत उपन्यासले मलजल दिलाएको छ । अर्कातिर ‘गरुराहा’ नेपाली साहित्यमा दलित चेतनाको बिजारोपण गर्ने गहकिलो कृति सावित भएको छ । गरिबगुरुवाको पक्षमा वकालत गरिएको दस्तावेज ठहरिएको छ । मूलत: कुरुप राजनीतिले ‘गरुराहा’ कृति जन्मायो । यसै उपन्यासले वर्तमान राजनीतिलाई चुनौती थपिदिएको छ । राजनीतिज्ञलाई राजनीति गर्न दिशानिर्देश गरेको छ ।

फरक विषयवस्तु समेट्नु, फरक स्वाद पाठकलाई दिनु र फरक शैली पक्रेर उपन्यास लेख्नु आचार्यको पहिचान बनेको छ । यसरी नै अधिकारविहीनको आवाज भएर आचार्यको कलम निरन्तर चलिरहोस् । यही शुभेच्छासहित शुभकामना !!!

कृति : गरुराहा/विधा : उपन्यास/ उपन्यासकार : नन्दलाल आचार्य/प्रकाशक : जामुनलाल स्मृति प्रतिष्ठान, नेपाल/प्रकाशित प्रति : १०००/प्रकाशन वर्ष : २०७६/मूल्य : रु. ३००।– व्यक्तिगत, रु. ७०० संस्थागत/पृष्ठ सङ्ख्या : १८४/वितरक : खोजी प्रकाशन गृह, काठमाडौँ ।

– शिवकुमार यादव
विष्णुपुर गाउँपालिका–६, सप्तरी ।
मोवाइल नं.९८२४७१७१४९

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *