Skip to content

जीतु खड्का गाउँले

भट्टीमा बस्नेलाई

भट्टीमा बस्नेलाई विद्वान भन्दैनन् कसैले
जँडिया नै भन्छन महान भन्दैनन् कसैले ।

हजार हालेर दानको पेटीमा करोड माग्छन
तँलाई कस्तो छ भगवान भन्दैनन् कसैले ।

गजल (हनुमान हुँ तिम्रो)

हनुमान हुँ तिम्रो लंका जलाएरै छोड्छु
स-सम्मान सीतालाई फर्काएरै छोड्छु

तिम्रो भाले नबासे नि उज्यालो त हुन्छ
जति छेक हत्केलाले म उदाएरै छोड्छु

गजल (सपना देखाइन्छ र हतियार बोकाइन्छ)

सपना देखाइन्छ र हतियार बोकाइन्छ
शहिद बनाइन्छ र फूलमाला चढाइन्छ

खेती हो राजनीति हाम्रो देश नेपालको
झुपडी जलाइन्छ र नारा जुलुस लगाइन्छ

गजल (फर्की फर्की हेर्नु किन ?)

फर्की फर्की हेर्नु किन? आँखा जुधाएर
जानु रैछ छोडी गयौ मलाई रुवाएर |१|

धुजा धुजा पारी दियौ मुटु भित्र राख्दा
फेर्दै छु म सास अँझै त्यही सिलाएर |२|

गजल (थाहा भयो)

आकाश देख्दा थाहा भयो पाताल देख्दा थाहा भयो
अभागी रैछ कर्म हाम्रो नेपाल देख्दा थाहा भयो

जिन्दावाद मुर्दावादका गुञ्जिए नाराहरू यहाँ
जल्ने भयो सारा बस्ती मसाल देख्दा थाहा भयो

गजल (रुन्छिन )

पानी भर्न जादा उतै पँधेरामा रुन्छिन
साँझ पर्दा बाटो हेर्दै बसेरामा रुन्छिन

चखेवाको जोडी जस्तै छुट्दा हाम्रो मिलन
विरहको भाका हाल्दै पखेरामा रुन्छिन

गजल ( बिर्सिएको छैन आमा )

म माथिको अभिभारा बिर्सिएको छैन आमा
मैले चुस्या दस धारा बिर्सिएको छैन आमा ||

पानी चुन्थ्यो बर्षातमा उध्रिएको छानो बाट
सुत्दा देख्थ्यौ जुनतारा बिर्सिएको छैन आमा||

दमका रोगी बुढा बाबा खोक्दा खोक्दै मुर्छा पर्थे
उस्तै होला बा को परा बिर्सिएको छैन आमा ||

खान लाउन दुख पर्दा पोटुकीले भुडी कस्दै
चलाएको त्यो गुजारा बिर्सिएको छैन आमा ||

अझै पनी छाती दुख्छ अरुण नदी सुसाउदा
खोकु छिन्ताङ दुनै खारा बिर्सिएको छैन आमा ||

जीतु खड्का गाउले
मोरंग उर्लाबारी

चिसो चुलो जलेको भा

यति टाढा किन आउथे चिसो चुलो जलेको भा
चौकिदारी गर्दिन थे खान पुग्ने फलेको भा

बाँचुन्जेल खानु न हो मर्दा लानु के नै थ्यो र
आँटो पिठो सबै खान्थे खान्थे ढुङ्गो गलेको भा

धेरै छ यहाँ मान्छेले (झ्याउरे गजल)

धेरै छ यहाँ मान्छेले गर्ने गरेर सकिन्न
जिन्दगी रैछ दु:खको खोला तरेर सकिन्न ।।१।।

हावाले लग्यो खुशीको थुँगा कोपिला नफक्री
आँकुरा हाल्दै पलायो फेरि झरेर सकिन्न ।।२।।

गजल (नपत्याउ तिमि बलुवालाइ चामल बनाउछु )

गजलको फसल बनाउछु
लटरम्म हलहल बनाउछु ||

जस्ले पढ्छ गजल हरु मेरा
सबैलाइ पागल बनाउछु ||

यो माटोमा गजल रोप्छु अनी
गजल नै थलथल बनाउछु ||

नपत्याए नपत्याउ तिमि हरु
बालुवालाई चामल बनाउछु ||

तहल्का नै मच्चाई देखाउछु
खैजडी लाइ मादल बनाउछु||

जीतु खड्का गाउले
मोरंग उर्लाबारी

गजल (बर्षौ पछी }

बर्षौ पछी गाँउ फिर्दा हाहाकारै देखें
दाजुभाइ आफन्तमै मारामारै देखें|१|

लोग्ने चै ले स्वास्नी कुट्दा सडकमै उत्री
चक्का जाम गरेको त लगातारै देखें|२|

के-फेरियो? तिमी भन गणतन्त्र ल्यार
निर्धा माथी बलियाको अत्याचारै देखें|३|

जात जातिका कुरा हुन्थे छिमेकमा पनी
रिस राग यस्तो पानी बाराबारै देखें|४|

जनताको काम गर्न बिन्ती भाउ चाइने
हाकिमको टेबल माथी उपहारै देखें|५|

जीतु खड्का गाउले
मोरङ उर्लाबारी

गजल (एउटा तारा)

मैले हेर्ने एउटा तारा बिलाएको हो कि ?
चन्द्रमाको कोख भित्र निदाएको हो कि ?

कयौ पीडा छाती भित्र सम्हालेर बग्ने
खहरेको चित्कार सुन्छु सुसाएको हो कि?

मौन देख्छु झुल्के घाम उदाएको बेला
कयौ रात अँध्यारो मै बिताएको हो कि ?