Skip to content

हाेम सुवेदी

पर्देशबाट घरको सम्झना

बेला यो छ असारको सिमसिमे छिट्याउँदो हो झरी
कैले बादल उग्र भै घनघटा वर्षाउँदो हो झरी
पैरोले भिर खेत बारीहरु नै हुत्याउँदै पो छ कि ?
चम्किएर मिलिक्क पापी विजुली अत्याउँदै पो छ कि ?

खेतालाहरु ब्याँसी खेत लहरे गाएर झर्दा हुनन्
रोपाहार मसक्क मस्किई हिलो छ्यापेर खेल्दा हुनन्
ब्याडे चाहिं बियाडबाट बिउका फ्याँकेर मुठ्ठाहरु
जिस्के हुन् सपना भयो घर पनि टाढा छु खै के गरुँ ?

बैंसालुहरुलाई जिस्कन हिलो छ्याप्ता हुनन् बाहुसे
मायालुहरु इत्रिंदै मुसुमुसु बाँड्दा हुनन् दोपरे
“छ्या है जिस्कन लाज छैन यसरी” रोपार भन्दा हुनन्
ब्याँसी फाँट असारका डिमिडिमे बाजा बजेका हुनन् ।।

म पानी

म पानी
(कविताकाे अन्तिम भाग)
म भूमिकै भलो हुने नवीन गीत गाउँ कि
म देशका हिमालमा गएर प्रीत लाउँ कि
समस्त विश्ववासीका कथा व्यथा सुसाउँदै
अशेष श्वेदविन्दु यै धरातिरै चुुहाउँ कि ! ।।३१।।
बगेर खाेंचखाेंचमा पुगी बजारिदै तल
लिएर स्वर्गको मजा म बन्छु स्निग्ध शीतल
मनुष्यले कतै कतै ममा मिसाउँछन् मल
तथापि यो स्वभाव हो हुँदै बहन्छु निर्मल ।।३२।।
प्रसिद्ध मुक्तिनाथका पवित्र पाउबाट म
भएर कालीगण्डकी बगेर गाउँबाट म
सुषूप्त तिर्सनाहरु अघाउने गरी गरी
म बढ्छु अग्रता लिंदै सुरम्य ठाउँबाट म ।।३३।।
यसो हुँदा हुँदै कतै पुगेन दृष्टि यो भने
सिँचाइका प्रबन्धमा कतै कमी भयो भने

छन्दको तरङ्ग

म पञ्चचामरा बनूँ कि स्रग्धरा बनूँ यहाँ
कि मालिनी र स्रग्विणी कि चञ्चला बनूँ यहाँ
सकिन्न बन्न मेनका सकिन्न बन्न वाणिनी
सकिन्न बग्न छन्दमा भई कुनै पयश्विनी ।।

मुक्तक

माया र नाता विश्वासको भरमा अड्न सक्छ
विश्वास नभए रगतकै नाता पनि भस्म भएर डढ्न सक्छ
होसियार मित्रहरु मायामा विश्वास गर्नै पर्छ
विश्वास नगरिए शङ्काको भूत दिमागै भरी चढ्न सक्छ ।

सानाे कविता

चराहरु गुँडतिर फर्किरहेछन्
साँझ परिरहेछ
सूर्य पनि पश्चिममा पुगेर
पृथ्वीमा सुन पानी छरिरहेछ
अहिले भर्खरकाे कुरा हाे
सिङ्गो पृथ्वी नै
सुनको पिण्ड भान परिरहेछ ।
मलाई पनि यस्ताे बेलामा के हुन्छ के हुन्छ
विरहले आकुल व्याकुल गरिरहेछ ।

छन्दशास्त्रः केही जानकारी

१. विषय प्रवेश ः
क) लय वा छन्द
छन्दशास्त्रका बारेमा धेरैतिर धेरै विद्वान्हरुबाट सैद्धान्तिक विवेचना भएकै छ । यस अर्थमा यो मेरो प्रयास पिठोको पिँधाइ हुन सक्ला तथापि संक्षेपमा म यस दिशामा नयाँ पाठकहरुका लागि केही मात्र भए पनि जानकारी दिने पक्षमा छु ।
पहिले छन्दकै बारेमा केही केही जानकारी रहनु आवश्यक ठान्दछु ।
आधुनिक पुस्तामा भ्रमहरु धेरै छन् । संस्कृत भाषामाथि आधुनिक भनिएकाहरुबाट भएको हमला र तिनैको दुष्प्रचारका कारण आधुनिक पुस्तामा नकारात्मक सोच बने झैं छन्दका बारेमा पनि यो भ्रमको खास्टो यी आधुनिक भनिएका अल्पज्ञहरुबाट ओढाइएको कुरा स्मरणीय छ ।

छन्दबारे केही जानकारी

क्रमागत
४. वृत्तका प्रकारहरुः
वृत्त तिन प्रकारका हुन्छन्ः समवृत्त, अद्र्धसमवृत्त र विषम वृत्त ।
१. समवृत्तः
हरेक श्लोकका चारै ओटा चरणहरु समान रुपका हुने वृत्त समवृत्त हो । यसका हरेक चरणमा समान गण, अक्षर वा मात्रा हुनुपर्छ । साथै जुन जुन गणहरुले पहिलो चरण बनेको छ तिनै तिनै गणहरुले अरु बाँकीका चरणहरु पनि बनेको हुनैपर्छ, यसो भयो भने मात्र समवृत्त हुन्छ ।
२. अद्र्धसमवृत्तः
पहिलो र तेस्रो चरण एकै गणका हुने अनि दोस्रो र चौथो चरण चाहिं अर्कै कुनै गणमा निर्मित हुुने वृत्तलाई अद्र्धसमवृत्त हुन्छ ।
३. विषमवृत्तः

छन्दशास्त्रः केही जानकारी

क्रमागत
३ पद्य गद्य वृत्त मात्राबारे खुलासाः

संस्कृत भाषामा जे जति पनि सृजना पाइन्छन् ती अधिकांश पद्यमा रचना गरिएका हुन्छन् । तुलनात्मक रुपमा संस्कृतका रचनाहरु गद्यमा कमै मात्र रचित भएका छन् । काव्य, पुराण वा अन्य सामाजिक विधिव्यवहारका ग्रन्थहरु पनि छन्दमै लेखिएका छन्, श्लोकमै लेखिएका छन् ।

पिताकाे अभिनन्दन

कसैकाे तुलना हुन्न अामाकाे ममतासँग
अामाकाे ममता जस्तै स्नेह हुन्छ पितासँग ।

घाेडाले बग्गी तानेझै परिवार चलाउँछन्
अाफ्ना सन्ततिका लागि अाफैलाई जलाउँछन् ।

अामाका दश धाराले हामी हुन्छौ हराभरा
पिता हुन् देवतातुल्य अामा हाम्री वसुन्धरा ।।

कसैकाे तुलना हुन्न अामाकाे ममतासँग
अामाकाे ममता जस्तै स्नेह हुन्छ पितासँग ।

अामाकाे भूमिका हुन्न भन्ने याे हैन अाशय
अामाेकाे भूमिका माथि हुँदैन केही सं‌शय ।।

तथापि किन हो धेरै पुग्दैन दृष्टि बाबुमा
व्यवस्था घरकाे धेरै उनैकाे हुन्छ काबुमा ।।

म ता भन्छु पिताज्यूको सधै‌ होस् अभिनन्दन
नभए घर भाँडिन्छ पिताकाे अनुशासन ।।