हाेम सुवेदी

युवकहरु

अग्ला अग्ला हिम शिखर छन् स्वच्छ बग्दैछ पानी
जस्मा बग्छन् रगत पसिना एकताका कहानी
बस्छिन् हाम्रा घर घर उमा रात होस् वा बिहानी
लागेका छौ पर पर युवा तत्व जान्दै नजानी ।।

पक्कै तिम्रो पनि मुलुक हो हेर बेला नफाल
चाँडै आई नवयुवकहो देशलाई समाल
हाम्रा प्यारा सपुत गणको त्यागको हो निसानी
के चाहन्छौ युवकहरुहो देश होस् यो खरानी ??

नौलो भाका मन भरि लिई हे युवा गीत गाऊ
फर्की आऊ घर बस यतै देशमै प्रीत लाऊ
बाटो हेर्दै जनक जननी, पत्नी गर्छिन् प्रतीक्षा
बोकी आऊ नवयुवकहो एक नौलो सदिच्छा ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मदन पुरस्कार पुस्तकालयमा छँदा

स्मृतिका पानाबाट

म जगदम्बा प्रेसमा प्रूप पढ्ने जागिरे थिएँ, २०२९ देखि २०३८ सम्म । यस बिचमा धेरै साहित्यिकहरुसँग चिनाजानी भयो । विशेष गरी लीलाध्वज थापा, पुष्कर लोहनी, साम्बभक्त सुवेदी, दाताराम शर्मा, शङ्कर लामिछाने, शङ्कर कोइराला, म त लाली गुराँस भएछु अर्थात् क्षेत्रप्रताप अधिकारी आदि आदि ।
पर पर कताकताबाट नाता पनि पथ्र्याे भानुभक्त पोखरेलसँग, म उहाँलाई भिनाजु भन्थें । यसरी नाता नै पर्ने भानुभक्त पोखरेलसँग ता बनारसदेखिकै र अझ पाँचथरदेखिकै चिनाजानी थियो । उहाँसँग परिचित हुन पुस्तकालय नै कुरिरहनै परेन । यो सम्झना उहाँकै केन्द्रमा रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तीन थुङ्गा

थुँगाः एक
एक्लै हुँदा नरहरु उहिल्यै हराए
एक्ला भएर नर बानर झैं कराए
एक्ला भए तिनीहरु अरु के चिताऊन्
एक्लो जुनी अब यहाँ कसरी बिताऊँन् ।।

थुँगाः दुई
सोचौं तसर्थ अब बिल्कुल एकताको
खाँचो छ मित्रगण आज अनेकताको
यो एकता अब सबैतिर चालिनेछ
एकत्वबाट परिवेश उचालिने छ ।।

थुँगाः तित
सोझो नदी मधुर निर्मल दिन्छ पानी
उर्लेर बग्छ खहरे धमिलो सुनामी
एक्लो हुँदा अधिक त्यो खहरे सुसायो
आई मिल्यो अनि मिलेर त्यहाँ बिलायो ।।
समाप्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

त्रास जागेकाे छ

गाईजात्राको के कुरा गर्ने
देशै भरि जात्रैजात्रा छ
केही अपराधीको नजर खोजिरहेकोे छ
कतातिर बालिका छ र कता छात्रा छ
जात्रा भन्नु के खतरै खतरा छ
सकियो भनेर नसोच्नु
यहाँ बारैमास जात्रैजात्रा छ ।
तोकिएको गाईजात्रा सकियो त के भो
अब मुखैमा दसैंतिहारको जात्रा आएको छ
बलात्कार हुनबाट बँचेका नानीहरुका मनमा
खुसी छाएको छ ।
यसका लागि बाबु भएकाे नाताले
ऋणमाथि ऋण बोकेर
मुसुक्क हाँसिदिनु छ
थोत्राथाम्रा लुगा खोजेर पात गाँसेझैं गाँसिदिनु छ
तिनका जिउमा झुत्राझुत्री टाँसिदिनु छ ।
ए लुगा बेपारीहरु
भर्खर सिएका राम्रा लुगा खेर जाने भए
यहाँलाई चाहिन्थ्यो कि ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पार लगाऊ

जब जब मानव दानव हुन्छ
सेवकले पनि राक्षस चुन्छ ।
प्रणय र ममता कसले सुन्छ
ईश्वरको पनि अश्रु बहन्छ ।।

पञ्झटिकामा गर्छु पुकारा
छैन कतैतिर कोही सहारा
भवसागरको डुब्दछ नाउ
अब प्रभु आऊ पार लगाऊ ।।
होम सुवेदी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

केही लेख

देशबाट बाचा खाएर लेख केही
स्रष्टाहरु सबैले आएर लेख केही ।

हज्जार पाखुरा छन् कामै विना बसेका
यो ठाउँमा सबैले गाएर लेख केही ।।

लेखेर हुन्न केही भन्ने नसोच्नु होला
थोत्रो भएछ छानो छाएर लेख केही ।।

टाढा समीप भन्ने व्यर्थै छ सोच हाम्रो
जे हुन्छ हुन्छ टाढै धाएर लेख केही ।।

तिम्रै अगाडि नौला सन्देश आउँदैछन्
सन्देशबाट माया लाएर लेख केही ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भू्कम्पकाे स्मरण

त्रासदीले सतायो
हाम्रो धेरै नराम्रोे पहुँच हुन गई पालमै सुत्न थाल्यौं ।
छोराछोरी रुँगेरै प्रभुपद सबका आसमै बस्न थाल्यौं
झन् त्यो बेला धरामा अतिशय कटिलो त्यो पराकम्प आयो ।
खै के भन्ने तुरुन्तै छिन छिन मरिने त्रासदीले सतायो ।।
होम सुवदी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जीवन नै किताब

पुस्तक दिवसकाे सन्दर्भमा मझेरीकाे प्रस्तुती

वाचा परस्पर गरेर पछाडि रुन्छन्
झारेर आँसु कति मानव शोक धुन्छन्
हज्जार छन् नव कथा कविता विलाप
हो जिन्दगी मनुजको असली किताब ।।

दुर्भेद्य दृश्य र अदृश्य छ जिन्दगानी
पीडा व्यथा र व्यवधान मिठा कहानी
हुन्छन् यसैसँग तिता र मिठा स्वभाव
हो जिन्दगी मनुजको असली किताब ।।
होम सुवेदी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गजल

गजलः
नक्कल गरेर नेता थाप्लो ठटाउँदैछन्
काठमान्डु वासीलाई धूलो चटाउँदैछन्,
धूलो चटाउँदै छन् धूलो चटाउँदैछन् ।।

मेलम्चीबाट पानी ल्याएर बाँड्छु भन्दै
आफ्नो उचाइ आफैं नेता घटाउँदैछन्
धूलो चटाउँदैछन्, धूलो चटाउँदैछन् ।।

जनता हरु सबैलाई हालेर पिन्जडामा
तोता सधाउँदा झै राम राम रटाउँदैछन्
धूलो चटाउँदैछन्, धूलो चटाउँदैछन् ।।

नेता हुनै नपाई छन् धेर खुम्रिएका
लौ हेर धुन्दुकारी चप्पल फटाउँदैछन्
धूलो चटाउँदैछन्, धूलो चटाउँदैछन् ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जिन्दगी

अग्लो हिमाल हाम्रो यो देशमै सुहाओस्
चिसो बतास जस्तो माया त्यहाँ सुसाओस्
पारै नपाइने छन् यात्रै हिंडेर आओस्
यो निन्दगी नदी झैं गन्तव्य भेट्न धाओस् ।।

इच्छाहरु अनेकौं बासी हुँनै नपाऊन्
नारी कतै नजाऊन् लोग्ने फिरेर आऊन्
मौका छ न्याउलीले यो प्रेम गीत गाओस्
यो निन्दगी नदी झैं गन्तव्य भेट्न धाओस् ।।
होम सुवेदी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

माटाेकाे महिमा

म यो धर्तीलाई मन वचनले पूजन गरूँ
र धर्ती मातामै जीवन सब यो अर्पण गरूँ
यसै धर्तीभित्रै श्रम र पसिना नित्य म छरूँ
म माटोमा बाचूँ अनि यही धराभित्र म मरूँ ।
होम सुवेदी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लेखक दिवस

स्रष्टाका यस क्षेत्रभित्र अरु झैं कर्तव्यका रास छन्
यिन्का सिर्जनशील हातभरि नै देवत्वका वास छन्
जैले सिर्जन गर्दछन् सृजनमा वाणी भई पस्तछिन्
बोलीभित्र लुकी लुकी सरस्वती आधार भै बस्तछिन् ।।

भाषामा मृदुरत्न उम्रन सकून् यो भाव छर्र्दैछु म
वाणी सागर हो तथापि त्यसमा छामेर तर्दैछु म
त्यो सारै गहिरो र दुस्तर बुझी आफैं बने आहत
वाणीभित्र बसेर साधन विना बन्दैछु हास्यास्पद ।।
होम सुवेदी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरा तिन मुक्तक

तिन थरीका मेरा तिन मुक्तकहरुः

एकः जाडाे
कठै मेराे देशलाई अहिले जाडो लागेकाे छ
मानाै‌ मजाले माउकाे फाँचो चुस्ने कुनै पाडाे लागेकाे छ
सधै‌ंकाे सिधा ठानिएकाे जिन्दगीकाे बाटाे पनि
अहिलेकाे जाडाेमा उकालाे ठाडाे लागेकाे छ ।

दुईः पुष

सबै भन्थे पुस भनेकाे फासफुस
घाम पनि छिनमै भासभुस
रामरी सास फेरेर बाेल्न पनि सकिन्न याे पुसमा
जति बाेलिन्छ मात्र खासखुस ।।

तीनः सरकार

सरकार हाे साथीहाे यसलाई बढी नहकार
जनताहरु पनि मन्त्रीहरुमाथि घृणा बढी नखकार
मन्त्रीजीहरु भाेलि के हाे के हाेला कसाे हाेला
यसैले जति सक्छौ अहिले नै डकार ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बालबालिकालाई उपदेश

मालिकको भासन खेसरियाले सबै ता बुझेन तैपनि आफ्ना मालिकले गरेको भासन रामरी सुन्यो । मालिक धनमान साहूकोमा कामका लागि बसेको केटो हो खेसरिया । को हो, कसको छोरो हो भनेर बुझ्न उसको नाम नै काफी भएकोले त्यता नलागी खास कुरामा लागौं ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गजल

च्यातिएको मायालाई टालिराख्या छु
तिमी आउने आसमा टुकी बालिराख्या छु ।।

नसम्झनु मैले माया मारे भनेर
तिम्रो आशा मनमा अझै पालिराख्या छु ।।

ढोका बन्द गर्नै पर्ने रीत यहाँ छ
तर मैले पारदर्शी जाली राख्या छु ।।

आँसु झार्न नपाएर सारै सकस भो
आँसु थुन्ने परेलीको आली राख्या छु ।।

खपिसक्नु छैन जाडो चिसो बढेर
तिमी आउँछ्यौ भन्दै ओछिन खाली राख्या छु ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गद्य कविता

आहा हाम्रा खेलाडीहरु,
मानवतस्करले पठाएका राम्रा खेलाडीहरु
देशका हाम्रा इज्जतहरु
सलाम छ तिमीलाई ।
हाम्रो नाक राख्न सफल भएकोमा
बधाई छ तिमीहरुलाई !
खेलको मैदानमा वा कोर्टमा
गएर दिसापिसाप नगरेकोमा ।
त्यसरी कोर्टमा आची गर्नु भन्दा
वासरुममा गएर नै गरेछौ
कति सभ्य छौ
कति भव्य छौ
कति उच्च छौ
कति पूज्य छौ ।
बडो जाती भो
नेपालको नाक राखेछौ
बडो जाती भो
खेलकुद मन्त्रीको इज्जत ढाकेछौ
देशको र मन्त्रालयको नाम राखेर थाकेछौ
सारै जाती भो धन्य छौ ।
यो त हो गर्नु पर्ने
नेपाली समयको ख्याल त्यहाँ पनि गरेछौ
खेल शुरु गरेर रेफ्रीलाई पनि
चालिस मिनटसम्म पर्खाएछौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

युवालाइ अाह्वान

यो आह्वान छ देशका युवकले जाग्नै प-यो देशमा
आफ्नो लक्ष्य यतै बनाउन सधैं लाग्नै प-यो देशमा
अर्काको घरमा बसेर तिमीले के पाउने हो अब ?
ज्यूँदै छन् अझ रोगका चुलीहरु नाग्नै प-यो देशमा ।।१।।

भो भो तर्क वितर्क धेर नगरी फर्केर आऊ अब
आफ्नो बुद्धि विवेक वर्गत सबै लौ लौ खन्याऊ अब
लौ आफ्नै घरभित्र आई पसिना आफ्ना चुहाऊ अब
आफ्ना देश र देशवासीहरुमा माथा झुकाऊ अब ।।२।।

हाम्रै स्वच्छ हिमाल तालहरु छन् मैदान छन् खेत छन्
पाखा छन् र पहाड खोंंचहरु छन् उद्यान छन् बाग छन्
उब्जाऊ अब खेतफाँटहरुमा बाली बिनै खाली छन्
पुर्खाको यशले उपार्जित अझै मेची महाकाली छन् ।।३।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जलप्रलयमा बगेकाे मेराे लाश

बाबा !
तपाइँले जब मलाई जलसमाधिस्थ गर्नु भो
मेरो लाश कोशीको धमिलो भेलमा
अविरल बगिह्यो बगिरह्यो
जलसमाधिमा निमग्न चिश्चेष्ट र निरुद्देश्य
निरन्तर बगिह्यो बगिरह्यो ।
दस गजाबाट बाहिर जान नमाने पनि बगिरह्यो
दसगजा काट्न लाग्दा पनि बगिरह्यो बगिरह्यो ।
जङ्गे पिलरमा केही बेर ठोकिए पनि
केही बेर दोधारको भुँवरीमा परे पनि
तपाईंले बगाएपछि मेरो लास अर्कैको मुलुकतिर
बगिरह्यो बगिरह्यो ।
चुसिंदै थियो मेरो लास
केही माछा र केही जलजन्तुबाट लुछिँदै थियो मेरो लास
भड्कँदै थियो मेरो लास
कतै रुखमा त कतै पानीको भुँवरीमा अड्कँदै थियो मेरो लास
एक हात जमिन नपाएर भेलमा बगाइदिएको मेरो लास

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ठट्टा ठट्टामा

देशमा बुढा पाका छन्
युवा विदेश गाका छन्
अाउलान् भन्ने अाश छैन
अाउने धेरै भाका छन् ।।

केही छाेरा अाका छन्
पैसा केही ल्याका छन्
धेरै छोरा उतै छन्
ब्वारी यता ब्याका छन् ।।

केही छाेरा विदेशकाे
जागिर राम्रै पाका छन्
केही जागिर नपाउने
बाक्साभित्र अाका छन् ।।

पुरानो घर चुहेर
अामा बाबु भिज्दै छन्
अाफ्नाे घर चुहुुन्छ
अर्कैकाे घर छाका छन् । ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •