ठट्टा ठट्टामा
देशमा बुढा पाका छन्
युवा विदेश गाका छन्
अाउलान् भन्ने अाश छैन
अाउने धेरै भाका छन् ।।
केही छाेरा अाका छन्
पैसा केही ल्याका छन्
धेरै छोरा उतै छन्
ब्वारी यता ब्याका छन् ।।
केही छाेरा विदेशकाे
जागिर राम्रै पाका छन्
केही जागिर नपाउने
बाक्साभित्र अाका छन् ।।
पुरानो घर चुहेर
अामा बाबु भिज्दै छन्
अाफ्नाे घर चुहुुन्छ
अर्कैकाे घर छाका छन् । ।

मैलै कतै जानु पर्दा अहिले निकै सजिलो भएको छ । कहाँ कुन पार्टीको हड्ताल छ, कहाँ कुन व्यवसायी, समाज, संगठन, मुक्तिमोर्चा आदि कसकसले कहिले चक्काजाम गर्दैछन् भनेर थाहा पाउने मेरो सजिलो साधन छ भद्रे भाइ । ऊसँग यस फेटको हडतालको क्यालेन्डर नै हुन्छ । ऊ मेरा छिमेकी पनि हो । मेरा मामा खसेकोले सखारै गाडी चढेर मलामा जानु पर्ने भएकाले र गाडी चल्ने नचल्ने बुझ्नलाई एकाबिहानै म भद्रे भाइकोमा गएँ । ऊ बिहानैदेखि राँकोका लागि तयारीमा रहेछ । ऊसँगै दुई जना भाइहरू पनि भाटा खुर्किरहेका रहेछन् ।