सावधान !!
कुलमान सावधान !
प्रिय कुलमान
नेपालीहरुको तर्फबाट
सल्लाह आइरहेको छ
अलिक होस गर
जथाभाबीकाहरुसँग भर नगर
यसो हेर्ने गर आफ्नो वरपर
चारैतिर भोका गोहीहरु
तिमीलाई दार्न दाउ हेरिरहेका छन्
कति बेला खोरमा पार्न सकिन्छ
ओरिपरिबाट घेरिरहेका छन् ।
कसरी तुरुङ्मा पार्न सकिन्छ
भाउ हेरिरहेका छन्
कहाँ त्यति मात्र
तिम्रा ओरिपरि हान्ने भोका अर्नाहरु
बिजुली चर्न नपाएर
खुट्टाले जमिन खोस्रँदै
छुलछुल मुत्तै
जमिनमा सिँगौरी खेलिरहेका छन् ।
राम्रो गरी याद गर
सुशीला कार्कीको नियति भोग्नु पर्ला
गङ्गामायाको नियति हेरिराख
त्यही नियति भोग्नु पर्ला
भोलि तिनै भोका राँगाहरुलाई
साष्टाङ्ग दण्डवत गरेर ढोग्नु पर्ला
नवराज सिलवालको नियति भोग्नु पर्ला ।
नेपाललाई अँधेरोमा राखेर
खान पल्केकहरुको कठघरामा परौला
होस पुगाएर काम गर
बढी छक्कापन्जा गरौला
जथाभावीका राँगाहरुलाई
आयल निगमका राँगाले झैं
जहाँ पायो त्यहीं लगेर घाँस छरौला ।
कहाँनिर छ छिद्र भनेर
भोका गोहीहरु पर्खिरहेका छन्
कहाँनिर तिम्रो गल्ती छ भनेर
ब्वाँसाहरु खर्किरहेका छन्
भोका राँगाहरु पुच्छरले
धमिलो पानी छर्किरहेका छन्
हान्न र तान्न पर्खिरहेका छन् ।
होस गरेर काम गर
सुशीला कार्की गङ्गामाया र
नवराज सिलवालको नियति भोग्नु पर्ला
चङ्गुलमा पार्न सक्छन्
यिनै ब्वाँसाहरुको खुट्टा ढोग्नु पर्ला
सावधान प्रिय कुलमान
असल मान्छेहरुले भोगेको नियति
तिमीले पनि भोग्नु पर्ला !
सावधान, सावधान !
