नजानिंदा र स्वादिला विभिन्न भाव जन्मियून्
नयाँ नयाँ कथाहरु मभित्र आज पन्पियून्
जसै कथाहरु नयाँ मभित्र पन्पिँदा यहाँ
विभिन्न ज्ञानकुञ्जमा नयाँ विचार अन्मियून् ।।
कथा व्यथा बिहानीका कता यहाँ सुकाउनु
सुकाउने छ योजना यसै कता फुकाउनु
जसै उठेर आउँदा कथाहरु नयाँ नयाँ
कता कता पिरोल्दछन् कहाँ कहाँ लुकाउनु ?
मनुष्यका दिमागमा अनन्त स्वैर कल्पना
फुरेर आउँदा र’छन् रसालुशिक्त भावना
ती श्वैर कल्पनासँगै अनेक गीत गाइयोस्
अगम्य दिव्य ध्यानमा निमग्न बन्न पाइयोस् ।
उडेर माहुरी कतै परागमा बसे सरी
म बस्न पाऊँ योगमा र ध्यानमा भिडे सरी
दिमागमा फुलून् नयाँ नयाँ गवेषणाहरु
जलेर नासियून् सबै विषाक्त एषणाहरु ।।
गरेर काव्य साधना म पार लाउँला कहाँ
र त्यो विसाल फाँटमा तरेर जाउँला कहाँ
न साधना छ तेजिलो न भावना छ उर्बर
छ काव्यको अनन्तता म पार पाउँला कहाँ ?
उडेर माथि चन्द्रमा कहाँ म भेट्न सक्छु र ?
विधान लेखियो भने कहाँ म मेट्न सक्छु र ?
अनन्त भाव उठ्दछन् कहाँ समेट्न सक्छु र ?
विसाल स्वप्न देखिए कहाँ लपेट्न सक्छु र ?
कता कता नजानिदो गरेर भाव आउँछन्
नवीन भावना फुरी मलाई थङ्थिल्याउँछन्
अनन्त दुस्तराहरु कता म पार पाउनु
गलो छ शून्य शून्य यो कता म गीत गाउनू ?
म आफ्नु देश गाउँ वा समाज बाँड्द सक्तिनँ
र जन्मभूमि छातीमा छुरी म गाड्न सक्तिनँ
कतै कतै कृतघ्नले मिलेर गाड्दछन् छुरी
ती स्वार्थीझुन्ड झैं बनी म देश छाड्न सक्तिनँ ।।
