मधुको जस्तै गजल
कोहिनुर आज किन खिया लागी टल्किएछ
नसोचेको मान्छे आज मधु पिउन पल्किएछ !
सेतोलाई सेतो भन्ने सकिएछन् दिनहरु
मेरो मधु गीत गाउँथ्यो गजलतिर सल्किएछ ।
इलामको चिसो हावा किन किन तातो हुन्छ ?
भूमिसुधार गर्दागर्दा झापा उसलाई सातो हुन्छ ।
अझै पनि यतै तिर बस्या भए हुने थियो
मेरो साथी मधु किन कोशीतिर ढल्किएछ ।
विकृतिका लहरहरु फैलिए नि फैलिरहून्
मधुशाला मधुसँगै उतै पनि रित्तिरहून्
टाढा जाँदा के भयो र टाढैबाट टल्किएछ ।
मेरो मधु किन किन कोशीतिरै झल्किएछ !
अन्तु डाँडा, कन्याम डाँडा मधु खोजी सुसाउँछन्
देउरालीमा मालिङ्गाका टुसाहरु टुसाउँछन्
मधु भने कता कता पश्चिमतिरै ढल्किएछ
हाम्रो मधु मालका लागि कोशीतिरै सल्किएछ !
