Skip to content

होम सुवेदी

गजल

विभिन्न रोगव्याधको शिकार भो शरीर यो
कता अगाडि बढ्नु खै अगाडि भिर देखियो ।।

न वारि छेउ देखियो न पारि छेउ देखियो
जता जता गयो उतै अनेक पिर देखियो ।

नयाँ भविष्यको कुनै थिएन थोर चिन्तन
जवानी ढल्किंदै गयो बुढो शरीर देखियो ।।

मिठाइ मांस मद्य जो नपाउने भएपछि
ढिंडो सितो र सिस्नुमा समेत खिर देखियो ।।

बहादुरी र फुर्तिला घडी निखारिएपछि
लुते र लङ्गडा सबै विशिष्ट वीर देखियो ।।

जवानीमा जताततै कुधेर झिर्न देह छ
बुढो हुँदै गयो जसै बडो फकिर देखियो ।।

मधुमेह

देशभित्र अति व्याप्त छ रोग
रोगले अझ बढाउँछ शोक
शोकमा मनुज यो अझ रुन्छ
रोगमुक्त कहिले अनि हुन्छ ।।

स्वादिलो र गुलियो अब धेर
खानुहुन्न ननिको छ भनेर
चेतना अफ फिरुन् सबलाई
स्वास्थ्यमाथि अनि हुन्छ भलाइ ।।

योग ध्यान अनि खान मिलेमा
स्वास्थ्य बन्छ, गतिलो नमिलेमा
स्वास्थ्य गिर्दछ यता तिर सोचौं
त्राहि त्राहि मधुमेह नरोजौं ।।
होम सुवेदी

गाँड काेराकोर

अझ कति रुनु होला यो बलात्कार देखी
मन छ अति गलेको सक्नु के आज लेखी
असुरगण मिलेरै खून चाख्छन् निचोरी
अब अझ कति रोलान् बाबु आमा र छोरी ।।

जति समय यहाँ यो राक्षसी तन्त्र हुन्छ
त्यति त्यति पर भागी सत्य आफैं नुहुन्छ
टुलुटुलु रमिता नै हेर्दछन् गाँड फोरी
अब अझ कति रोलान् बाबु आमा र छोरी ।।

अब घर घर थाले दुष्टले गाँड कोर्न
नरपशु अझ लागे देश मेरो निचोर्न
दमन अति बढाए दुष्टले देश फोरी
अब अझ कति रोलान् बाबु आमा र छोरी ।।

यता कोशी बेच्छन्

यता कोशी बेच्छन् उता काली बेच्छन्
चुलेसी हथौडो हलो फाली बेच्छन्
हरामीहरुको कुरा के गरुँ म
लिपु लेखदेखि महाकाली बेच्छन् ।।

यता धर्मका नाममा स्वाङ बेच्छन्
उता कर्मका नाममा भाङ बेच्छन्
यी लुब्धाहरुको गरुँ के बयान
कचौरा कसौंडी पन्यू थाली बेच्छन् ।।

जता हुन्छ पैसा उतै दृष्टि राख्छन्
जता भ्रष्ट हुन्छन् उतै हात थाप्छन्
यी हुन् देशघाती कहाँ देश मात्रै
कुलाङ्गार मौका परे साली बेच्छन् ।।

मेरो गाउँः दसैअघि र दसैंपछि

मरो गाउँः दसैंअघि

केही दिनका लागि राजधानी गाउँ गाउँमा आएको छ
त्यसैले हाम्रा गाउँले नयाँ जीवन पाएको छ
यता आउँदा राजधानीले उताको संस्कार पनि
सर्लक्क ल्याएको छ
मानौं गाउँ गाउँमा राजधानी ब्याएको छ ।

राजधानी गाउँ पसेकाे छ

केही दिनका लागि राजधानी गाउँ गाउँमा आएको छ
त्यसैले अहिले हाम्रा गाउँले नयाँ जीवन पाएको छ
यता आउँदा राजधानीले उताको संस्कार पनि
सर्लक्क ल्याएको छ
मानौं ठुलो राजधानी सानो गाउँमा ब्याएको छ ।

म ता भक्त हुन्न

पिता मान्छ कोही कुनै मान्छ माता
सश्रद्धा सबै पढ्दछन् ज्ञान गीता
छ त्यो तेजिलो स्वादिलो ज्ञानगङ्गा
म पढ्दा न पढ्दै हुँदै जान्छु चङ्गा ।।

कथा सुन्न थालें दुबै कान थापी
बडो चाख लाग्दो सुनिन्थ्यो तथापि
त्यहाँ भित्रको मर्म के सक्नु सुन्न
भयो कृष्ण तिम्रो म ता भक्त हुन्न ।।

मुस्कान दिवसका लागि उपहार

हाम्रो हास्यकला विकासपथमा बोकेर नौलो गति
मन्त्रीमण्डलभित्रबाट अहिले यस्को भयो उन्नति
राम्रा छन् रमणीय छन् छिनछिनै विस्फोटिला धार छन्
मन्त्री मण्डलका प्रधान अहिले साँचो कलाकार छन् ।।

पशुदिवसकाे सन्दर्भमा

आज मान्छेहरू क्रूर बन्दै गए ।।
धर्मको नाममा प्राण हर्ने भए
एकले प्राणको आहुती गर्दछ
अन्यका मासुले पेट पो भर्दछ ।।

अन्नमा बालीमा छैन हाम्रो हक
घाँसमा पातमा छन् उनै बाधक
मौन वच्चाहरु मर्दछन् भोकले
हामी मर्ने भयौं खानकै सोकले ।।

पर्दछन् कण्ठमा स्वार्थका बन्धन
सुन्छ कस्ले यहाँ घोर यो क्रन्दन
झन् अझै हुन्छ आतङ्कको नर्तन
श्वेत शार्दूल झैं साहूको गर्जन ।।

धर्मका नाममा रक्तको भेल छ
जिन्दगी पिंजराभित्रको खेल छ
सृष्टिमा जीवको मार्गका दर्शक
लौ कतै छौ भने देऊ हाम्रो हक ।।
होम सुवेदी

ताल पुरानै छ

जतिसुकै आए पनि ताल पुरानै छ
नामै मात्र गणतन्त्र चाल पुरानै छ ।

जसो जसो गर्न चाह्यो उसै उसै गर्ने
बोतल मात्र नयाँ रैछ माल पुरानै छ ।

नयाँ राजा नयाँ काजी जनताका शत्रु
आतार लिए आतारीको खाल पुरानै छ ।

फेरिदिने भनी भनी भोट माग्न अए
नयाँ दिन्छु भन्थे तर पाल पुरानै छ ।

पर्चन्नले देशभित्र शान्ति ल्याउँछु भन्थे
शान्ति भन्ने हराइसक्यो हाल पुरानै छ ।

मुक्तकहरु

मुक्तकः एक

अहिले कराेड भ्रष्टाचारमा हजार दण्ड गर्ने न्यायाधीशकाे नाम छ
निर्माणकाे नाममा हिलो र धुलाेले बाटाे जाम छ
अरुकाे के कुरा गरिरहनु र साथीहरु
बलात्कारीहरुकाे धुमधाम छ ।

मुक्कतः दुई
युवाहरुहाे साैदी कतार र मलेसिया जान बल गर
सक्छौ भने यसका लागि चाँडो पहल गर
याे देशमा बसेर के भाे र अब
भिसाका लागि जतिसक्तो छल गर ।

मुक्तकः तिन

कसैलाई दसैं पीडा हाेला कसैलाई काल छ
कसैलाई यही दसैं मालामाल छ
सबैकाे उस्तै कहाँ हुनु र नानी
निर्मलाका अामाबाबुलाई भने दसैं बेहाल छ

समवेदना

प्रसिद्ध कवि गगन विरही नेपाली साहित्यको एक होनहार धरोहरका रुपमा स्थापित थिए ।

उनले नेपाली कविताको क्षेत्रमा अमूल्य योगदान दिएका छन् र उनका उच्च कोटिका कविता लगायतका रचनाहरुले नेपाली साहित्यमा गुन गरेका छन् ।

शान्तिको खाँचो

देखिन्छ हात हतियार उध्याउँदै छन्
मारेर मार्नतिर ध्यान लगाउँदै छन्
भूकम्प झै जमिन आज हिलाउँदैछन्
यो शान्तिमा जहर उग्र मिलाउँदैछन् ।

जो प्राप्त हुन्छ अरुबाट लुटेर शान्ति
त्यो शान्ति ता क्षणिकको हुन जान्छ भ्रान्ति
त्यो शुद्ध शान्ति अब खोज न दाजु भाइ
खाँचो छ यो भुवनमा अब बाँच्नलाई ।।

शस्त्रास्त्रबाट जब सृष्टि हुँदा खरानी
अस्तित्वमा रहन सक्छ र जिन्दगानी
शस्त्रास्त्रको अब हटाउनु पर्छ होड
हे शान्तिकामी जनहो अब हात जोड ।।

स्मृतिको पानाहरुबाट

गाई चराएर सधैं फिरेको
फिर्दै रिसाई घरमा पिरेको
सम्झेर मेरो मुटु चर्किंदै छ
अतीतमा योे स्मृति फर्कंदैछ ।।१।।

जहाँ म जन्में त्यही गाउँ मेरो
अद्यापि मेरो छ त्यहीं कटेरो
न वारको लौ न भएँ म पार
छ सम्झना त्यो अझ बारबार ।।२।।

जहाँ म खेल्थें र जहाँ म डुल्थें
त्यो पारिलो जङ्गलमा म भुल्थें
त्यो बाल्य लीला छ बडो अपार
छ सम्झना त्यो अझ बारबार ।।३।।

उस्तै छ त्यो गाउँ र ठाउँ उस्तै
जे सम्झना थ्यो सब त्यो दुरुस्तै
मेरो परेको छ मुजा निधार
छ सम्झना त्यो अझ बारबार ।।४।।

मेरो अझै झल्झली हुन्छ गाउँ
लाग्दैछ फर्केर उतै म जाऊँ
के तर्न सक्ने अब त्यो जँघार

भयो कृष्ण तिम्रो म ता भक्त हुन्न

पिता मान्छ कोही कुनै मान्छ माता
सश्रद्धा सबै पढ्दछन् ज्ञान गीता
छ त्यो तेजिलो स्वादिलो ज्ञानगङ्गा
म पढ्दा न पढ्दै हुँदै जान्छु चङ्गा ।।

कथा सुन्न थालें दुबै कान थापी
बडो चाख लाग्दो सुनिन्थ्यो तथापि
त्यहाँ भित्रको मर्म के सक्नु सुन्न
भयो कृष्ण तिम्रो म ता भक्त हुन्न ।।

कतै स्नानका छन् कुरा लाजमर्दा
तिमीले चियायौ उठाएर पर्दा
म ता गोपिनीका कतै वस्त्र छुन्न
भयो कृष्ण तिम्रो म ता भक्त हुन्न ।।

थिए यौनका धेर चर्चा प्रसङ्ग
कथा सुन्न थालें भएँ झन् झसङ्ग
म थालूँ कि मेरा दुबै कान थुन्न
भयो कृष्ण तिम्रो म ता भक्त हुन्न ।।

फुटाएर हाँडी कतै खानु नौनी

मेराे सम्झना

२०२१ वा बाइस सालतिरको कुरा हो । हिंउदको बेलामा सेउले पाठशालामा गाउँका समकक्षीहरू पढ्न जान्थे, म भने घरमा पितामाताबाट यसअघि नै अक्षरहरू चिनी निकै माथिका कुराहरू पढलेख गर्ने भइसकेको थिएँ । रुद्री चण्डी र अरु अरु धार्मिक कुराहरू निकै पढिसकेको थिएँ ।

म यसरी घरमै पढेर अलिक माथिल्लो तहको भइसकेको भए पनि सबै साथीहरुले पढ्ने पाठशालामा जान नपाएकोमा दिक्क मान्दोरहेछु क्यारे । अरु अरु साथीहरुका हातमा चित्रसहितको ‘ठूलो वर्णमाला’ को किताब देखेर मलाई लोभ लाग्थ्यो ।

वातावरण

अस्तिसम्म एसएलसी भनिएको र अहिले खै के भनिएको कुरा छोरीले राम्रो ग्रेटमा उत्तीर्ण गरेको हुँदा घरमा विद्यालयबाट छोरी माग्नेको लस्कर लाग्नु अघि नै एक नामी उच्च विद्यालयमा छोरीलाई लिएर गए प्रेमबहादुरजी । स्कूलको कम्पाउन्डमा पुग्दा बाहिरैको दोकानमा केटाकेटीहरुको भिड रहेछ । सबै हेर्दा स्मार्ट नै छन् । टाइ लगाएका छन् । राम्रो परिधानमा छन् । घुँडा च्यातिएको लुगा पनि लगाएको छैन । स्कुल ठिकै लाग्यो ।