Skip to content


कता शून्यको ठाउमा अड्किएको
कहाँ स्वर्गको खोजमा तड्पिएको
भयो लौ हटाऊ पुग्यो धर्म खेती
यता नै नआई कता लट्किएको ।।

म फेवा र रारातिरै घुम्न पाऊँ
चिसो ठाउँमा भार केही बिसाऊँ
म कर्णालीमा स्वेद धारा मिसाऊँ
उता बाजुरामा पुगी गुन्गुनाऊँ ।।

कतै पूर्वको लोकभाका सुसेलूँ
कतै देउडा नाचमा केही खेलूँ
नदी बग्दछन् तीब्रता नागबेली
चरी नाच्तछन् लाेक भाका सुसेली ।।

कतै झुन्डका झुन्ड छन् राजहाँस
फुलेको कतै हुन्छ लाली गुराँस
बसी एक प्यारो यतै गीत गाऊँ
म नेपाल जस्तो कहाँ अन्त पाऊँ ।।

सुनौं मित्र अन्योलका भासबाट
उठी माथि केही निकालेर आँट
र यो देशको थोर बाँझो फुटाऊँ
म नेपाल जस्तो कहाँ अन्त पाऊँ ।।

छ वर्सैभरि नित्य चल्ने तिहार
र उत्साहका हाँस्न सक्छन् मुहार
नदी झैं अहोरात्र बग्दै म जाऊँ
म नेपाल जस्तो कहाँ अन्त पाऊँ ।।

न गर्मी छ धेरै न जाडो छ धेर
उता पुग्न पाए हुँदो हो भनेर
यता आउँछन् किन्नरी गाउँ गाउँ
म नेपाल जस्तो कहाँ अन्त पाऊँ ।।

यहाँ बन्धुका साथ सद्भावना छन्
र आत्मीयता छन् र सम्भावना छन्
सफा वायुको स्पर्शमा गुन्गुनाऊँ
म नेपाल जस्तो कहाँ अन्त पाऊँ ।।

उज्याला र आनन्दका योजना छन्
नयाँ उम्रने आँकुरा छन् मुना छन्
नयाँ स्वर्ग यौटा यसैमा बनाऊँ
म नेपाल जस्तो कहाँ अन्त पाऊँ ।।

सबैले मिली देश भारा चुकाऊँ
भए बैरीका माथ चाँडै झुकाऊँ
र स्याङ्जा पुगी स्वेद धारा बगाऊँ
म नेपाल जस्तो कहाँ अन्त पाऊँ ।।

कता खोज्दछौ बाँँच्नुको त्यो विधान
सुधाका यहाँ छन् हजारौं मुहान
यसैले यहाँ फाइदा क्यै उठाऊँ
म नेपाल जस्तो कहाँ अन्त पाऊँ ।।

सुधा धार बग्छन् यहाँ पानी पानी
यहाँ लोभ लाग्दो छ यो जिन्दगानी
ध्वजा देशको शैल चढ्दै उठाऊँ
म नेपाल जस्तो कहाँ अन्त पाऊँ ।।

बुझे हुन्छ हो साधनाको बिहान
कुटी शास्त्र भण्डारका छन् मुहान
यतैबाट सद्ज्ञान केही उघाऊँ
म नेपाल जस्तो कहाँ अन्त पाऊँ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *