गाई चराएर सधैं फिरेको
फिर्दै रिसाई घरमा पिरेको
सम्झेर मेरो मुटु चर्किंदै छ
अतीतमा योे स्मृति फर्कंदैछ ।।१।।
जहाँ म जन्में त्यही गाउँ मेरो
अद्यापि मेरो छ त्यहीं कटेरो
न वारको लौ न भएँ म पार
छ सम्झना त्यो अझ बारबार ।।२।।
जहाँ म खेल्थें र जहाँ म डुल्थें
त्यो पारिलो जङ्गलमा म भुल्थें
त्यो बाल्य लीला छ बडो अपार
छ सम्झना त्यो अझ बारबार ।।३।।
उस्तै छ त्यो गाउँ र ठाउँ उस्तै
जे सम्झना थ्यो सब त्यो दुरुस्तै
मेरो परेको छ मुजा निधार
छ सम्झना त्यो अझ बारबार ।।४।।
मेरो अझै झल्झली हुन्छ गाउँ
लाग्दैछ फर्केर उतै म जाऊँ
के तर्न सक्ने अब त्यो जँघार
छ सम्झना त्यो अझ बारबार ।।५।।
त्यो गाउँलाई मनले नियाली
सन्देहमा डुब्नु छ मात्र खालि
छ सोच यस्तोे मनमा हजार
छ सम्झना त्यो अझ बारबार ।।६।।
माटो जहाँको अब घस्न पाऊँ
फर्केर झुप्रैतिर बस्न पाऊँ
त्यो मृत्तिकाको छ अनन्त भार
छ सम्झना त्यो अझ बारबार ।।८।।
त्यो मृत्तिकामा पिरती लगाऊँ
चरी हुँदै उड्न म फेरि पाऊँ
भन्ने अझै फुर्दछ यो विचार
छ सम्झना त्यो अझ बारबार ।।९।।
जहाँ चुहाएँ अघि स्वेद धारा
त्यो मृत्तिकाको अझसम्म भारा
चुकाउनै लाग्छ यहाँ हतार
छ सम्झना यो अझ बार बार ।।१०।।
यो ठाउँ छाडेर कता गएको
साँच्चै तँ रैछस् निठुरी भएको
ममाथि होला कि अझै प्रहार
छ सम्झना यो अझ बार बार ।।११।।
संसार नै आज भएछ एक
तथापि राखी मनमा विवेक
माता म गर्दैछु यहाँ पुकार
छ सम्झना यो अझ बार बार ।।१२।।
पाके हुनन् काफल माथि माथि
टिपेर खान्थ्यौं र मिलेर साथी
के जानु होला अब छैन सार
छ सम्झना यो अझ बार बार ।।१३।।
त्यै धर्तीमा फेरि बसूँ गएर
खेलौं कि त्यो बालक झैं भएर
के जानु बोकीे मलिनो मुहार
छ सम्झना यो अझ बार बार ।।१४।।
खाएर लाएर रहेन सार
मरी यसै पर्नु छ लम्पसार
पालेंछु व्यर्थै मनमा विकार
छ सम्झना यो अझ बार बार ।।१५।।
डण्डी बियो खेल्न अगाडि सथ्र्यौंं
साथी र साथीसँग स्नेह गथ्र्यौं
भयो सबै त्यो अहिले अपार
छ सम्झना यो अझ बार बार ।।१६
यो ठाउँमा मानवता हुँदैन
संवेदनाले कहिल्यै छुँदैन
के माग्नु व्यर्थै अहिले गुहार
छ सम्झना यो अझ बार बार ।।१७।।
देखिन्न यौटै पनि योग्य मित्र
दुर्गन्ध छन् सोच विचार भित्र
बन्दै गएँ लौ म यहाँ सिकार
छ सम्झना यो अझ बार बार ।।१८।।
छोपेर हिंड्ने मुख नाकलाई
त्योे गोरुका झैं महला लगाई
के स्वास्थ्य होला यसले सुधार
छ सम्झना यो अझ बार बार ।।१९।।
त्यो गाउँमा कल्कल बग्छ पानी
पानी बिनै सुक्छ यहाँ जवानी
जता पुग्यो हुन्छ उतै हातार
छ सम्झना यो अझ बार बार ।।२०।।
