केही दिनका लागि राजधानी गाउँ गाउँमा आएको छ
त्यसैले अहिले हाम्रा गाउँले नयाँ जीवन पाएको छ
यता आउँदा राजधानीले उताको संस्कार पनि
सर्लक्क ल्याएको छ
मानौं ठुलो राजधानी सानो गाउँमा ब्याएको छ ।
फरक परेको छ अहिले हाम्रो गाउँ
किनभने
छेउछाउका दोकानहरुमा
खैनी गुट्खा रजनीगन्धाको बेपार मौलाएको छ
दसैंको रमाइलोले मातेर मेरो गाउँ खौलाएको छ
गाउँका झुप्राहरुमा आएको राजधानी
म्यारिज र कौडासम्म हानेर बौलाएको छ
होस गर्नुहोला अहिले राजधानी गाउँमा आएको छ
हाम्रा गाउँमा केही दिनलाई ठुटेराजधानी पलाएको छ ।
यति मात्रै नसोचौं
गाउँभित्र अरु कुरा पनि आएको छ
च्यातेर लगाएका लुगाभित्रबाट केके देखिने गरी
गाउँमा राजधानीले इज्जत चुहाएको छ
गाउँका पुराना संस्कारलाई तुहाएको छ
आर्थिक क्रान्ति पनि गाउँले पाएको छ
किनभने कान्छीको भट्टी पसल पनि धुवाएको छ ।
कसरी भनम र राजधानीबाट आएकी चेलीलाई
यो तिम्रो परिधान सुहाएको छ
तैपनि जेनतेन सिंहदरबार ता आएकै थियो
अहिले ता देशैभरि राजधानी नै आएको छ
गुट्खाबेपार भट्टीपसल र साना झुपडीहरुमा पनि
अहिले मेरो गाउँले नयाँ जीवन पाएको छ
किनभने केही दिनलाई राजधानी यतै आएको छ
अहिले केही दिनलाई गाउमा राजधानी मौलाएको छ
धुमधाम मौलाएको छ ।
