यता कोशी बेच्छन् उता काली बेच्छन्
चुलेसी हथौडो हलो फाली बेच्छन्
हरामीहरुको कुरा के गरुँ म
लिपु लेखदेखि महाकाली बेच्छन् ।।
यता धर्मका नाममा स्वाङ बेच्छन्
उता कर्मका नाममा भाङ बेच्छन्
यी लुब्धाहरुको गरुँ के बयान
कचौरा कसौंडी पन्यू थाली बेच्छन् ।।
जता हुन्छ पैसा उतै दृष्टि राख्छन्
जता भ्रष्ट हुन्छन् उतै हात थाप्छन्
यी हुन् देशघाती कहाँ देश मात्रै
कुलाङ्गार मौका परे साली बेच्छन् ।।
