Skip to content

पद्मराज काफ्ले

गोपीका बीच शंकर

सबैका मनका प्यारा, स्यामा-श्याम छिपेर नी,
प्यारा उनी सबैका यी , हेरौँ के के हुँदै छ नी ।

हास्य सागर ठूला, छद्मभेषी निकै उनी ,
नारी पुरुष के हुन् , चिनिदैन कसै पनी ।

नारीको भेषमा कैले, उनैका भीडमा पसी,
लीला विविध गरेर, रमाउँछन् भनौँ कति ।

द्वापरमा पुगे एक, ती नारीरूप सुन्दर
रासलिला भए ठाउँ, गोपीका बीच शंकर ।

जोगीको भेषमा माग्ने, मन्दिरमा बसेर नै,
महात्मा पनि बन्नेनी, गुरु छेउ बसेर नै ।

स्नेह मिलन योगीको, आयोजना भयो जब,
बाटिका बीच सांखूको, सलम्बुमा गए सव ।

बनको बीच बाटैमा, देवीस्थान सलम्बुमा,
मेलम्ची पथको धूलै, धूलो पर्दछ मार्गमा ।

बाटैमा सुन्दरी आइन्, लिफ्ट मागिन् उनी सित,
साथैमा कारमा राखी हाँके गाडी खुसी सित ।

योगसाधक योगीले. कारमा सुन्दरी भनी,
नचिनेकी उनीलाई साथै राखी गुडे उनी ।

योगीको मनमा कैँयौँ , खेले कति कुराहरू ,
स्वर्गकी अप्सरा हुन् कि , गोपिनी श्यामकी भनु ।

इन्द्रकी उर्वशी हुन् कि, तपस्वीकै शकुन्तला,
गाडी रोकी किनी ल्याए, ख्वाए फोकेर सुन्तला ।

खाल्टाखुल्टी पथैमा नि, उफार्छ कारले घरि,
योगीको तन उफ्रेर, ठोकिन्थ्यो नि घरिघरी ।

सलम्बुको बनै भित्र, एकान्त बन बीचमा,
घुमीमाथि पुगेपछि, रोकियो कार चौरमा ।

पहिले आफु उत्रेर, ढोका खोलेर हातले,
हात जोडी झुकेर नै, उत्रन उनले भने ।

ढलल्क ठल्कँदै नानी, नारी बीच गई बसिन्,
झलक्क झल्कने रूपै, आकर्षण उनी बनिन् ।

बासन्ती बाटिका त्यही , थियो मिलन योगमा,
साधक साधिका धेरै , उमंग नाचगानमा !

उर्वशी नै उनी रैछन् , थालिन् नाच्न उनी पनि,
नाच्दानाच्दै लुगा फुस्क्यो, मूर्छै परे सबै अनि ।

बल्ल चिने सबैले नै , श्याम दाइ भनीकन,
छ शुभ कामना धेरै, कलाकार अझै बन ।

चैत्र १०, २०७४ ।

शुभकामना – पचहत्तर सालको

शुभ छ कामना धेरै, पचहत्तर साल भरी,
नरनारी सवै हामी, शुखी रहौँ सदैभरी।

प्रार्थना एक गर्दै छु, दीर्घायु बन मानव ,
योगमन्त्र बुझौँ हामी, नियमित गरौँ सव।

योगधारा अविच्छिन्न, निरन्तर बगी रहन्,
प्राणायाम निरन्तर्नै, श्वास धारा चली रहुन्।

खस्दछन् तल

दक्षिण उत्तर पश्चिम् खेलाडी खेल्दछन्  यहीँ,
खेलाडी बिक्दछन् हाम्रा, विधर्मी  बन्दछन्  यहीँ।

सानै मैदान हाम्रो यो बलिया उनका बल,
खेलाडी बलिया हुन्ता, उफ्रँदा खस्दछन् तल।

गुरु शिष्य विनोद

स्नेह मिलन योगीको, वार्षिक चाड भन्दछन् ,
ऐले त मुख खोलेरै, मनका भाव भन्दछन् |

गुरु किशोर साठीनै, हुँदा पनि किशोर नै,
उपस्थिति यता छैन, देशभन्दा विदेश नै ।

हुन्छ खान सकेसम्म काँचा फलभए पनि,
नखाउ रस्बरी भन्दै मुन्टै बटारने पनि।

गुरु हाम्रा निकै ज्ञानी फलपाई रमाउने,
कचौरा दिनमा तीन ,मात्रमा नै अघाउने ।

लग पाउ आकाशमा ,शिरले टेक भूमिमा,
सक्छौ जति तिमी गर्न थाके सुत जमीनमा।

मुख उज्वल चम्केको पूर्णेको जून जस्तो नै,
बाग्मती अभियन्ता यी डुल्छन् देश विदेश नै।

म-देशमा घुमाउने छु

हाम्री नेपालकी रारा स्वर्गैकी अप्सरा तिनी,
मुगुकी शिरमा बस्दै मुस्कुराई रहेकी नी।
हरिया बनका बीच बनौषघि जडी पनि,
गरी सेवन सौन्दर्य चौंधै भुवन सुन्दरी ।
घुम्टो आकाशको हाली कर्के नेत्र गरी उनी ,
झल्की झलक्क प्रफुल्लै रविको रश्मिमा उनी।
ढल्की ढल्की उनी आई बोलाइन् रवि लाजले,
बादलबाट हेरेका छिपेर अबिरामले ।
प्रकृति रूप सम्मन्न सदाबहार यौवन,
दुर्लभ स्वर्ग मर्त्यमा अन्यत्र छन् कहाँ भन ?
पर्यो नयन नेताको उनी मोहित भैकन,
लावालस्कर कै साथ पुगे उनी फकाउन।
बाटो घाटो बनाएर सवारी कारमा गरी,
तिमीलाई म-देशमा घुमाउने छु बेस्गरी।
शिक्षा दीक्षा दिने नै छु चिन्ता नमान कत्ति पनि,

मनचिन्ते भाँडो

हेर्नु थियो मुहार पुस्तिकामा हेरियो,
यसैमा नै आजै त्यो विश्वरूप देखियो।

काले कृष्णको मुहारमा जे देखिएको,
आजै नि विश्वरूप विश्वबाटै देखियो।

जलमा थलमा नभमा सवै भएको ,
यो मनचिन्ते भाँडैमा कति हो रहेको ?

सागरको निमन्त्रण


सागरको निमन्त्रण
हिमाल शिर हो अग्लो खडा उच्च बिशाल छ,
हिन्द सागर भन्दै छ पाउको मल फाल्नु छ।

मल सवैज फाल्ने छु सफा धोएर पाउ नि,
श्वासै थुनी दिएको हूँ माफ माग्दछु बिन्ति नि!

खोलै खोला उकाली नि उक्ली चढेर माथि नै,
समुन्द्री जलले राम्रो घुन्छु पाउ त माथि नै ।

ठेलम् ठेल हुने छैन आउ रेल चढेर नि,
फर्कौला जल यानैमा हेरी दृश्यावली पनि ।

निमन्त्रण छ आजै नि सागर माथिका सवै,
सागरमा नुहाएरै जानुहोला घुमेर नै ।

२०७४ चेत २७!

आत्म तत्व

बिन्दु-बिन्दु मिली रेखा ,रेखा-रेखा मिलेर नै,
बने अक्षर शास्त्रका,अक्षर योग शब्द नै।

शब्द विच्छेद गर्दा नै, अक्षर छुट्टिने सव,
अक्षर छुट्टिएमा नै , रेखा छुट्टै हुने तव।

रेखा विच्छेद गर्दा त, बिन्दु अनेक बन्दछन्,
एक बिन्दु भए धेरै, सूक्ष्माति सूक्ष्म बन्दछन्।

एउटा तीललाई नै, लाख भाग लगाउँदा,
भागफल हुने मात्र, विज्ञलाई जँचाउँदा ।

त्यसको पनि आधाज,फालौँ आधा गरेर नै,
बँच्ने शेष बुझौँ हामी, आत्म तत्व भनेर नै।
२०७४।१२।२॰। क्रम संख्या २०५५५

लुकायौ रूप किन


नील गगनकी तारा,
साथै शशिसमेत नै,
बादलको पछ्यौरी ओडी,
लुकायौ किन रूप नै ?

पूर्णेँकी जून साथैमा ,
गयौँ लिई कतातिर?
जुनकिरी अगाडी सरे,
चम्केरै नि यतातिर ।

तिमी हामी मिलेनैत ,,,

शीत ताप मिलेनैत , बसन्त तव फूल्दछ ।
तिमी हामी मिलेनैत , प्रेमको रस बग्दछ ।

घाम पानी मिलेनैत , फूल फूल्दछ सुन्दर ।
ढुँगा माटो मिलेनैत , पहिरो जान रोक्दछ।

नर नारी मिले नैत, सृष्टीको क्रम चल्दछ।
सवै हामी मिलेनैत, शुख शान्ति हुने छत ।

आगो पानी मिलेनैत , रसिलो रस पाक्दछ ।
कुनैएक बढी भए , अनिष्ट पनि बढ्दछ।

पशु हत्या निशेधैको बनाऊ ऐन सांसद


बनौँ मानव मान्छे हो, यो विश्व भर आज नै,
हिंसक नबनौ हामी , अहिंसक बनौँ न है ।

नगरौँ जीवहत्या है, कर्तव्य मानिसै बनी
जीव जन्तु सबैको नि, हकाधिकार हो भनी।

ध्यान

गर्छु संकल्प आत्मा नै दर्शन पाऊँ भनेर ,
घुमी थाकेँ नभेटेर जाग्रत स्वप्न डुलेर।
द्वार सव बन्द त्यता त बाँकी सुसुप्ती रहेछ,
द्वार खोलेर हेर्दा त ध्यान साधन रहेछ ।

पन्चेन्द्रीय

दृश्य आँखा दुवैबाट तान्दछन् आफुतर्फ नै ,
ध्यानाकर्षण गर्दैछन् कर्ण शव्द सुनेर नै ।

गन्धले नासिका गर्छ आकर्षित उतैतिर ,
जीभ्रो चुर्लुम्म स्वादैमा डुबेको छ रसैतिर ।

कोमलस्पर्श भन्दैछ त्वचा शरीरका सवै,
ज्ञानका श्रोत पन्चै यी सहयोगी बनुन् सवै ।

मोबाइल


सवका करमा अधिकै छरिता,
सुरिला धुनमा तिनका सुबिधा ।
मनका सबका मधुरै छकुरा,
सुखिछन् सवका तनमा उनका।

समुद्र परका जनका तनका,
सुखका दुखका सबका मनका ।
बचनै सबले सुनिने तिनको,
भगवान् सरिछन् नमनै उनको ।

शेष : ब्रह्म-आत्मा


स्नान गर्न नदीमा नै गएका सज्जनै थिए,
शीला विशाल देखेर आश्चर्य चकितै भए।

शीला विशाल ठूलैज रहेछ तटमा कुनै,
देखे गणेश भक्तैले अडिए टक्क नै उनै।

शीलामा देखिएको के भनेनन् उनले अधि,
गरे मल सवै साफ झुकेर दर्शनै पनि ।

बाहिरी पत्र खुर्केर अनावश्यक फालिए,
सर्व पूजित गौरीका पुत्र गणेश देखिए ।

फाले आफ्नो सवै दोष बँच्दछ शेष जे जति,
त्यही बन्दछ आफैँ नै ब्रह्म-आत्मा-कुनै पनि ।

आत्मा


आँखा खोलेर देखिन्न, चिम्लँदा देखिदैन त।
आफैँ भित्र बसेको छ, आत्मा भित्रै लुके छ त।

आफैँ भित्र छ कस्तूरी, खोज्दै हिन्छ वनै भरी।
भित्रै आत्मा छ खोज्दैछौँ, मन्दिरमा सदैभरी ।

सुख


सुख
आजीवन नै सुख खोज्दै हिनियो,
सुखको ठाउँमा दु:ख नै पाइयो।
मन्दिर मन्दिर निकैनै डुलियो,
देखिएन सुख मन्दिर बसेको।

आखिर थाकेर भूमिमा लडियो,
निद्रामा स्वप्न केके पो देखियो।
आफ्नै शरीर नै पाँच पो रहेछ,
अन्नबाट बनेको स्थूल रहेछ।

स्थूल भित्र प्राण रहेछ बसेको,
प्राण भित्र नै मन लुकी बसेको।
आफ्नै मनमा नै आनन्द बसेको,
आँफू भित्रै सुख रहेछ लुकेको।

वेदसार : महा-वाक्य

वेदसार : महा-वाक्य
–

जनक पुरका राजा, विद्वान जनकै थिए,
राजपाठ गुमाएर, भिखारी सरहै भए।

धन धान्य छिमेकीले , लुटी लगे सवै कुरा,
बाँकी थिएन केही, कतै केही त खाने कुरा।

व्याकुल भोक तिर्खाले, भोको पेट हिने उनी,
भोजन खोजिमा लागे, यत्र तत्र डुले पनि। ।

कुनै भतेर देखेर, सवैभन्दा बसे पछि,
बाँड्दा बांड्दै समाप्तै भो , पुगेन भोजनै अनि

फालिएको जुठो टीपे, उठाए हातमा उनी,
हातैबाट लुटी भाग्यो, चीलले हातकै पनि ।

हाहाकार गरी दौडे, हा हा हा !! चील हा भनी !!

योग


योग

पद्म- कुमार साथैमा थिए संचय कोषमा,
उन्नाइस-उनन्चास रहेका साथ कोषमा।

अपूर्व भेट ऐले भो बिहानै जैन मन्दिर,
बितेछ वर्ष पच्चीस गरायौयोग मन्दिर।