Skip to content

वेदसार : महा-वाक्य

वेदसार : महा-वाक्य

जनक पुरका राजा, विद्वान जनकै थिए,
राजपाठ गुमाएर, भिखारी सरहै भए।

धन धान्य छिमेकीले , लुटी लगे सवै कुरा,
बाँकी थिएन केही, कतै केही त खाने कुरा।

व्याकुल भोक तिर्खाले, भोको पेट हिने उनी,
भोजन खोजिमा लागे, यत्र तत्र डुले पनि। ।

कुनै भतेर देखेर, सवैभन्दा बसे पछि,
बाँड्दा बांड्दै समाप्तै भो , पुगेन भोजनै अनि

फालिएको जुठो टीपे, उठाए हातमा उनी,
हातैबाट लुटी भाग्यो, चीलले हातकै पनि ।

हाहाकार गरी दौडे, हा हा हा !! चील हा भनी !!
दौड्दा चील पछी लाग्दा, खाटबाटै खसे उनी ।

राज-पाठ यथावत् छ, अघिको त छैन केही,
त्यो वा यो मान्नु साँचो, छुट्टीएन कसै गरी ।

प्रश्न यो मनमा आयो, समाधान भएन नि ,
राज-काज सबै छाडी , त्यागी अन्न हिने उनि।

‘यो वा त्यो कुन सत्य हो ? ‘ भन्नु होस भनीकन,
हिने सोद्दै सवै ठाँऊँ, हो सत्य कुन लौ भन ?

जानेनन् उत्तरै के हो, कुनै विद्वान पण्डित ,
यत्र तत्र डुले राजा, उत्तर सव खण्डित।

आठ ठाऊँ कुब्रिएका , नाम अष्टावक्र थियो,
स्वप्नका आफु जस्तै ती, भिखारी पनि देखियो।

थिए विद्वान पण्डित , थिए दार्शनिकै ठुला
कुरा भनेर स्वप्नैका , सोधे उत्तर के होला ?

अष्टावक्र भने ‘यो-त्यो , असत्य सव थोक हो ,
दृष्य जगत् सवै होइन , सत्य ‘तिमी’ त एक हो।

यहाँ छैन नि त्यहाँको , यहाँको थिएन त्यहाँ ,
मात्र थियौ ‘तिमी’ एक, दुवै ठाऊँ यहाँ त्यहाँ ।

दुवै ठाऊँ ‘तिमी’ रैछौ, ‘तिमी’ सत्य भनी बुझ,
‘तत्वमसि’ भनी जान, वेदसार भनी बुझ ।

‘ब्रह्म सत्य जगत् मिथ्या’ , विवेकानन्द भन्दछन्
महा – वाक्य सवै वेद, यसैलाई त भन्दछन् ।

ब्रह्मद्रष्टा सवै सन्तान् , जनकपुरको किन ?
परस्पर भयोद्वन्द, यस्तो हरे ! भयो किन ?

सम्वत् २०७२ साल पौंष १३ सोमवार, प्रात: ५ बजे
लेखिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *