Skip to content

पद्मराज काफ्ले

ध्यान उत्तम


आदित्यको नमस्कार प्रतिदिन बिहानिमा,
बल वीर्य सदा तेज बढाउने शरीरमा।

प्राणायाम छ भस्त्रिका अनुलोम विलोम नै,
आयु बृद्धि सदा गर्ने पाचक अग्निसार नै।

स्वास्थ रक्षक राम्रोछ कपाल भाति उत्तम,
प्राणायाम सवै गर्न , पद्मासन छ उत्तम ।

ध्यान छित्रिन्छ हल्लाले एकान्त उत्तमै हुने,
उत्तम ध्यान हुने नै शून्य हृदय नै हुने।

बसन्त-फूल

फागु आएछ रड्॰गीन मधुर स्वाद प्रेमको,
बसन्त बासनै प्रिय रस पिएर प्रेमको।

मन्दमन्द बतासैले सुम्सुम्याए कपोलमा,
मँगमँग सुगन्धैनै केश झुले ललाटमा ।

नत छ शीत तातोनै पोली जीउ तताउने,
रँगिएका बिनारंग रातागाला गराउने ।

लगाऊ रंग गालामा प्यारा बसन्त लौन त ,
फक्रेकी फूल ऐलेनै आएर चुस लौ नत ।

2BFC5773-552F-4BE1-91C8-C17ED2F604B7

प्रकृतिको सानिध्य

लहरा पहराका ती सोम लता बनौषधि,
गूर्जो र अँसुरो नीम सिकारी लहरो पनि ।

तीतेपाती र चुत्रो नै खाएर स्वास्थ बन्दछ,
सिस्नो र जरुवा पानी पीउँ शरीर बन्दछ।

हर्रो बर्रो र बोटैमा फलेका अमला पनि,
शिवको प्रिय बेल छन् बेलघारी भरी पनि।

प्रकृतिको निमन्त्रणा हामी स्वीकार नै गरौँ,
कम्तिमा महिना एक सानिध्य उनकै बसौँ।

गुरु-जन्मोत्सवमा अनुपस्थित शिष्य


काष्ट मण्डप मन्दिर्मा, गुरुको जन्म उत्सव,
शिष्य शिष्या भए भेला, सिंगारे खूब सुन्दर।

आकाश वायु माटो र, आगेा पानी रहे तक,
गुरु शिष्य हुने एक , भूमण्डल रहेतक।

निजलाई निजैले नै, गर्छौँ दर्शन ध्यानमा,
योगपछी वियोग त,अवश्य हुन्छ विश्वमा।

पश्चात्ताप किन गर्नु, भयो वियोग बन्धु को
गुरु कृपा सदा हुन्छ, समाऊँ ज्ञान मार्गको ।

पशुपति नाथ

पशुपति महादेव तिमी नेपाल पालक,

हाम्रो रक्षा सदा गर्छौ शान्ति माग्दछ बालक
पशुपति तिमीलाई नम: शिवाय भन्दछौँ,
आमा बाबु कता तिम्रा भनन सुन्न खोज्दछौँ।

पुत्र गणेश जेठा हुन् कान्छो कुबेर भन्दछन्,
पत्नी हिमाल पुत्री हुन् पार्वती सव जान्दछन्।

ब्रह्मा विष्णु महादेव बनायौ अति सुन्दर,
मिलेर तीन भाइले हाम्रो जगत सुन्दर ।

तिम्रै नै फुलवारीका हामी विविध फूल हौँ,
माली रक्षक हाम्रा हौ देऊ आशीष माग्दछौँ।

घोड सवार

लिएर काबुमा घोडा खिँची लगाम बेसरी ,
दौडाउने उकालीमा ओरालीमा उसैगरी ।

कोर्रा देखेर घोडा त दगुर्थ्यो पथमा निकै ,
उफार्थ्यो पीठमा माथी दुख्थ्यो नितम्बमा निकै।

कोर्राको चोट घोडाले खुट्टा चारै उफार्दछ,
झट सर्पट उफ्रन्छ सवार भूमि खस्दछ।

माताको ममता

टुप्पैमा रूखका हाँगा, काग बथान नै बसी,
स्वर कर्कस काँकाँ ती, सन्ध्या काल सदैगरी ।

छहराका लता हाँगा, बारिका रूखमा पनि ,
चराका गुँडमा हुन्थे , च्याँच्यॉ गर्ने चल्ला पनि ।

स्वर सुनेर बच्चाको, आउँथी माउ बेसरी ,
ठोँडमा अन्नको दाना ल्याएर खान त्यसरी ।

माताको ममता हेर, आफू भोकै भए पनि,
अन्न दाना कतैबाट, खोजेर ख्वाउँछन् तिनी।

शिव-शक्ति निवास : दामोदर कुण्ड

दामोदर कुण्ड

हिमालमाथि आकाश, ठूलो निर्मल कुण्डमा ।
मीटर पाँच हज्जार, आठसय उँचाइमा ।
शिव रक्षित नेपाल, शीतल जल सिन्चित ।
स्वर्ग सोपान अग्लोमा, हिमचुली छ छादित।

दामोदर्कुण्ड बीचैमा,जहाँ शिव निवास छ।
किल्ला उत्तर नेपाल, मुस्ताड भनिने ज छ ।
त्यही नेपालको जिल्ला, हिमालपारि एक छ।
यही हो बलियो दुर्ग, प्रकृति शिर ताज छ ।

उच्च हिमाल टुप्पैमा, मनमोहक ताल छ ,
गणेश सहितै आद्या, शिवा-शिव निवास छ।
सरोवर छ नीलो नै, दामोदर्कुण्ड सुन्दर ।
शिव-शक्ति निवासैमा,,गणे़श शिव सुन्दर।

विश्व माता पिता हाम्रा, पुष्पान्जलि सदैभरी,
धूपदीप छ नैवेद्य , शुद्धजल घडाभरी।
सम्युक्त कर बाटै नै, वन्दना शिव पार्वती ।
श्रीगणपति नै हाम्रा, हे वन्दनीय भूपति ।

औँलाको सूक्ष्म रेखामा

निन्दा गरोस धेरैले, प्रशंसा नै कुनै गरुन्।
न यता को न त्यताको, जे सुकै जसले भनुन्।

विज्ञानले भनेको नै भन्ने गर्छ सदैभरी,
औँलाको सूक्ष्म रेखामा देख्छ न्याय सदैभरी ।

रानी महल

प्रेमोपहार रानी को छ कृष्णा गण्डकी तट,
ताज महल आग्राको सदृश यमुना तट।

उता मुगल शाहीले राणा शासकले यता,
उताको हो चिहानै त्यो सपत्नी छन् पुरिएका।

रानी महल पाल्पाको स्थित छ गण्डकी तट,
यातायात भए राम्रो हुन्छ वृद्धि पर्यटक ।

जलचर जलैमा ती उफ्रेर नाच्दछन् पनि,
मत्स्यासन गरी त्यहीँ मत्स्यन्द्रनाथ नै पनि।

बनचर नगीचै नै सुनिन्छ गीत नै पनि,
कोइली सुरिलो गीत चखेवा नाच्दछन् पनि।

कोहो कोहो भनी सोद्छन् टाढैबाट तिमीसित,
टलक्क टल्कने काली हुरूक्कै नै तिमीसित।

नफर्केका चन्द्रलोक यात्रीसित


चन्द्रलोक पुगेरै नै , अत्याधुनिक यानमा ।
चाँडै फर्कन्छु भन्दथ्यौ , गुन्जन्छ स्वर कानमा।

उतै घर बनाएरै , बसोबास गर्यौ किन ?
यता त्यागी उतै तिमी , माया मारी बस्यौ किन ?

उडी भूमण्डलैबाट, चन्द्रलोक पुगीकन।
आत्मा छाडी उतै फर्क्यौ, स्थूल मात्र यता किन ?

यन्त्रशाला यता नासा, प्रत्येक चाँदनीसित।
खै मेरा प्रिय यात्री ती ,भन्दैछ चन्द्रमासित।

म

म
जाग्रत स्वप्न तूरीय, सुसुप्तीमा ‘म‘-लाई नी,
भेट्न प्रयास गर्दछन्, देखिदैन ‘म‘-लाई नी।

देखेका सपनीमा ती बिपनीमा कता तिर ,
सपनीमा उता थियौ विपनीमा यतातिर ।

यता उता सवै ठाऊँ उभय नै देखिने छु,
छैन टाढा तिमीसित तिमी भित्रै बसेको छु।

निर्मल विमल

निर्मल विमल

देव हरि सवैका सम्माननीय महान यी,
सदा पूजित निर्मल, विमल एक देव यी।

आराध्य देवठूला यी, क्षार जलधि वेष्ठित,
विशाल मन्दिरैमा छन् सपरिवार सुशोभित ।

आफ्नो सौन्दर्य छोप्छ्यौ किन ?


रवि पछि लगाएर, नित्य प्रात: उषा किन?
पूर्वबाट चियाएर, लाग्ने पश्चिम नै किन ?

घुम्टोले मुख छोपेर , लुक्ने सदा तिमी किन?
झ्यालबाट चियाएर, लम्की लुक्ने तिमी किन?

तिम्रै मुहार हेर्नै नै, पछि पछि उनी किन?
हेर्न मुहार दिन्नौ र , छोप्छ्यौ मुहार नै किन?

शुभकामना: नव वर्ष

शान्ता शान्त प्रशान्त गम्भीर धीर गार्गी,
फैलाऊ ज्ञान ज्योति योगारूढ विदुषी !

रहुन् साथ शंकर सम्मुख हरि छँदैछन्,
विद्याकी खानी ज्ञानी ध्यानी गुण छँदैछन् !

क्रिष्चीको नयाँ वर्ष : शुभकामना

क्रिष्चीको नयाँ वर्ष : शुभकामना

नयाँ यो वर्ष क्रिश्चीको स्वागत गर्न तयार,
बित्यो सत्र गयो टाढै देखाउँदै मतियार।

राम्रै गर्यो चुनाऊ त यही वर्ष सुरू भयो,
पूर्णता त नयाँले नै गर्नु पर्ने पनि भयो।

पाँच प्रतिशतै नै ज थ्रेस राख्नु पर्ने थियो,
बलिया सवै सप्रन्थे झार उम्रन्न नै थियो।

दलले नै बनाएको दलीय सम्विधान हो ,
मुटु नै त दलीयै छ , शिर निर्दल हुन्न हो !

असम्भव भनी जान दलमा पति निर्दल,
दलैमा अडिएको छ उनको प्राण निर्भर ।

वेदसार

राजा जनक पुरका, विद्वान सब शास्त्रका,
राज-पाठ छिमेकीले, लुटी सम्पत्ति गुमेका ।

भोक तिर्खाले ब्याकुल, भिखारी भएका उनी,
खाद्य वस्तु कहाँ होला, भन्दै डुल्दै गएर नी ।

कसैको भतेरमा पुगी, सबैभन्दा बसेपछि,
बाँडदै जाँदा सकियो, पुगेन त्यसपछि ।

कम्तिमा शय वर्ष

सात्विक भोजनै खाऔँ चवाई रस स्वाद ली,
निदाएर सुतौँ राती सुसुप्ती अवस्था पुगी ।

जाग्रित स्वप्नमा पीडा चिन्तित गर्न सक्दछ,
आनन्द दायकै जो छ सुसुप्ती र तुरीय नै छ ।

टेन्डर आह्वान

टेन्डर आह्वान

मुटु छेँड्ने चिसो शीत , उक्ली सकेछ माथि नै ।
झर्यो हिउँ हिमालैको, तीव्र वायु छ साथ नै।

ताप शून्य भयो झर्यो, सुकुर्सुकुर्गरी जल।
मूल फुट्यो दुवै नाक, झराले ती भलै-भल।

दिउँसै सिरकै ओडी, भ्रामरी गर्छ नासिका ।
सिम्हासनसरी हाच्छ्यूँ , बिर्सन्न गर्न नासिका।

आँखा नाकबने स्रोत, जलाधार विद्युतको।
डाक्टर टेन्डरै हेर , म्याद छ सात दिनको ।
पुस ३, २०७५।