हाम्री नेपालकी रारा स्वर्गैकी अप्सरा तिनी,
मुगुकी शिरमा बस्दै मुस्कुराई रहेकी नी।
हरिया बनका बीच बनौषघि जडी पनि,
गरी सेवन सौन्दर्य चौंधै भुवन सुन्दरी ।
घुम्टो आकाशको हाली कर्के नेत्र गरी उनी ,
झल्की झलक्क प्रफुल्लै रविको रश्मिमा उनी।
ढल्की ढल्की उनी आई बोलाइन् रवि लाजले,
बादलबाट हेरेका छिपेर अबिरामले ।
प्रकृति रूप सम्मन्न सदाबहार यौवन,
दुर्लभ स्वर्ग मर्त्यमा अन्यत्र छन् कहाँ भन ?
पर्यो नयन नेताको उनी मोहित भैकन,
लावालस्कर कै साथ पुगे उनी फकाउन।
बाटो घाटो बनाएर सवारी कारमा गरी,
तिमीलाई म-देशमा घुमाउने छु बेस्गरी।
शिक्षा दीक्षा दिने नै छु चिन्ता नमान कत्ति पनि,
बालक एउटा स्कूल पठाई दिनु भन्छु नि।
देखिएको अझै छैन फकाई फकिने उनी,
आफ्नै आँगनको धूलो फाल्ने कुचो त छैन नी!
२०७५।१।१।७
