Skip to content

Sharan aansu

चेपा

चेपा
यो गाउँकी चराचर देवी थिई

मेरो नजिककी
साथी थिई -ऊ

हामी फाङमुठी बाँडेर
चपाउँथ्यौं

ख्याल ख्यालको बिहे गर्थ्यौं

संगै ढुंगामा सुत्दथ्यौं

तीन मुक्तक (भूइँचालोजन्य मुक्तकहरू)

मुक्तक १

-म भुइंचालो पिएर बाँचिरहेछु
-मुटुको चिरा सिएर बाँचिरहेछु
मैले मेरै हत्केलाहरूमा उठाउनु पर्नेछ -नयाँ धरहरा :
हो, म यै अठोट लिएर बाँचिरहेछु

म त्यै आँगनमा उभिइरहेछु – नाच्न भनेर

म त्यै आँगनमा उभिइरहेछु – नाच्न भनेर
जहाँ मान्छेहरु मरिरहेछन् – बाँच्न भनेर

जुन हाँगोमा जिन्दगीको हाँसो फुल्दैछ
त्यै हाँगो सबैले समाती रहेछन्- भाँच्न भनेर

यै मेरो माटोले जिते पो जीत हुन्छ मेरो

यै मेरो माटोले जिते पो जित हुन्छ मेरो
जे जे बोल्छ माटोले त्यै – गीत हुन्छ मेरो

म मिर्मिरे भेट्न हिंडेको छु रात समातेर
जसलाई भेट्छु यो बाटोमा त्यै – मित हुन्छ मेरो

देश

ए, यायावरहरू हो !
ढुङ्गो दुख्छ –
यो ढुङ्गोमा कुल्चेर नहिंड ।

वाँच्नुका सबै सबै प्रकृयाहरूको सेवोटेज’
हाँस्नुका सबै सबै पद्धतिहरूको सेवोटेज’-
या
अन्त्यहीन जन्महरूको मृत्युउत्सव
चुपचाप सह्यो – यो ढुङ्गोले,
भो अब यसको छातीमा यसरी
नाचेर नहिंड ।

खरीपुतला

घामले खाएका पैताला
पानीजुत्तामा घुसार्दा
यसरी मुस्काउँछे खरीपुतला
कि –
उसको अगाडि इन्द्रेनीका
रंगहरू फिक्का लाग्छन् ।

फूलको के कुरा !
जुनको के कुरा !!

बाटोमा

पहिलोपल्ट
मैले यै बाटोमा टिपेको हूँ –
हाँगाबाट खसेको फूलको कविता |

र मैले त्यै बेलादेखि
मेरा वरिपरि खसेका वस्तुहरुलाई
मन पराउन थालेको हूँ |

बाटोमा –
म सल्लाका पातहरुबाट चिप्लन्थें –
र पनि तिनीहरुलाई प्रेम गर्थें |

मान्छेहरु

मान्छेहरु – १

मान्छेहरु मैले दिनदिनै हिंड्ने गरेको बाटोलाई भीर भन्दछन्
मैले बोकेर हिंडेका यी यावत् खुसीहरुलाई पीर भन्दछन् ||

मलाई थाह छ – भन्न मात्र जान्ने यी मान्छेहरुले जे पनि भन्दछन् –
असारे हिलो नै नखेली आएको-समयलाई पनि यी मान्छेहरु मङ्सिर भन्दछन् ||

असमाप्त रहरहरू

सानो छँदा

समयको कविता
लेख्दैनथें ।

समय मेरै
कविता लेख्दथ्यो ।


घामका झुल्काहरूमा–
सुरेली खेलेर
आकाश उक्लन्थें ।

छ्याङ्ङ खुलेको
हिमाल हेरेर
रमाइरहन्थें ।

म खेतहरूमा
नाङ्गै भुतुङ्गै
दौडिरहन्थें
अनि
रुम्टी खोलाको
रहमा पौडिरहन्थें ।

म बग्थें रहरका–
खोल्सीहरूमा
अनि
म चिप्लन्थें–
रहरकै सल्लेरीहरूमा ।

पोखिन्थें म जताततै
मैले हिँडेर बनेका
बाटाहरूमा ।


मेरो निर्वाण यात्राका
अनुक्रमहरूमा
अगणित अपदार्थहरूले बुनेर
ईश्वर बनाउँथें
अनि
म पुरै रित्तिएर
पूर्णताहरूको खोजी गर्थें ।


मेरो प्रेमको प्रार्थना
दमिनी साइँलीको अनुहारमा
पढिरहन्थें ।

समय

नवलपरासीको गैंडाकोटमा संरक्षण कविता आन्दोलनको ५८ औं शृंखला सम्पन्न

संरक्षण कविता आन्दोलन कविताको माध्यमबाट जीवन र जगतको संरक्षण यात्रामा क्रियाशील नेपाली कविताको मौलिक राष्ट्रिय आन्दोलन हो । कविहरूले कुनै ठाउँको प्रकृति र संस्कृतिका विम्बहरू टिपेर कविता लेखेपछि सर्वप्रथम तद्स्थानीय मानिसहरूको माझमा नै ती कविताहरू सुनाइनु पर्दछ र कविताको वास्तविक उद्वोधन पनि हाम्रा गाउँघरका जनजीवनको अध्ययनबाट नै हुन सक्तछ भन्ने अवधारणा एवं “जीवनका लागि संरक्षण र संरक्षणका लागि जीवन” भन्ने उद्घोषका साथ नेपाली साहित्यका मूर्धन्य हस्ताक्षर तथा कवि सरुभक्तको संयोजकत्वमा २०५५ साल आश्विन २६ गते मुस्तांगको मुक्तिनाथस्थित रानीपौवामा पाँच सूत्रीय घोषणा पत्र जारी गरी स्थापना भएको यस संरक्षण कविता आन्दोलनले मधेश र पहाडका ग्रामीण क्षेत्र तथा चेपांग बस्तीहरूमा पुगेर कविता यात्राको ५८ वटा शृंखलाहरू पार गरेको छ र हालै यसको पछिल्लो अर्थात् ५८ औ शृंखला चितवनका कविहरूको विशेष सक्रियता र मौलाकालिका धार्मिक संरक्षण समिति एवं सूर्यभक्त – पतनादेवी मेमोरियल (एस पि एम ) कलेजको व्यवस्थापकीय संयोजनमा नवलपरासीको गैंडाकोटमा सम्पन्न भएको छ ।

Bandipur

अनेसास नेपाल च्याप्टरको आयोजनामा ‘बन्दीपुर स्रष्टा यात्रा’ कार्यक्रम सम्पन्न

कवि लेखकहरूको सहयात्रा आफैंमा साहित्यिक यात्रा हो । सिर्जनात्मक अभिव्यक्तिहरूको माध्यमबाट नै उनीहरू सिर्जनशीलताको इतिहास र अभिलेख निर्माण गर्दछन् । नेपाली साहित्यमा प्रचलित पुरानो मोती मण्डली, राल्फाली आन्दोलन र सडक कविता क्रान्ति जस्ता प्रयोगहरूपश्चात् संरक्षण कविता आन्दोलनको क्रममा तद्स्थानीय विम्बहरूलाई टिपेर कविता लेख्ने र सुनाउने मौलिक परम्पराको सुरुआत भएको र आजभोलि स्रष्टाहरूको यात्राले केवल सिर्जनाहरूमा पोखिनुको अतिरिक्त मिसन यात्राको रूप समेत धारण गरेको पाइन्छ । यसै सन्दर्भमा २०७० माघ ११ र १२ गते (शुक्रबार र शनिबार) अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा नेपाली साहित्यको विश्वव्यापीकरणका लागि विहङ्गम दृष्टिकोणका साथ सिर्जनात्मक अवधारणा र निर्णयहरू पारित गर्दै ‘बन्दीपुर स्रष्टा यात्रा’ कार्यक्रम सम्पन्न सफल भएको छ ।